संसारका सबै लोकतान्त्रिक देशमा नागरिकले भेला भएर सत्ताप्रति आक्रोश पोख्ने र खबरदारी गर्ने साझा ठाउँ औपचारिक र अनौपचारिक रूपमा बनाएका/बनेका हुन्छन्।
प्रिय माननीय सन्तोष दाइ र नेता पुकार दाइमा नमस्कार। दुवै जना सन्चै हुनुहुन्छ होला भन्ने कामना गरेँ। म पनि सन्चै छु।
लोकतन्त्रलाई खुम्च्याउँदै र निषेधित गर्दै लैजाने प्रचण्ड सरकारको कदमविरुद्ध हामी २०८० माघ २ गतेदेखि निरन्तर धर्नामा छौँ। शुरूआती चरणमा पुकार बम आफैँ हामीसँग माइतीघरबाट गिरफ्तारीमा परेको जगजाहेर नै छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गृह मन्त्रालयको जिम्मेवारी लिएर बसेको छ। यसै सन्दर्भमा काठमाडौँका विभिन्न ठाउँमा घोषित निषेधित क्षेत्र खोल्न सरकारमा सामेल रास्वपाका आफ्ना पुराना साथीलाई दबाब दिनुपर्यो र अहिलेसम्म किन त्यसो नगरेको भन्दै मेरा साथी छिरिङले फोन गरे।
मैले ‘हुन्छ, म फोन गर्छु’ भन्दै कुरा टुंग्याएँ। अनि सम्झन थालेँ, मैले चिनेका पुराना साथी को–को छन् रास्वपामा? अनि मैले दुई व्यक्ति सम्झिएँ, पुकार बम र सन्तोष परियार। तपाईंहरू दुवै मेरा साथीभन्दा बढी अभिभावक हुनुहुन्छ र त्यस्तो जिम्मेवारी पनि निर्वाह गर्नुभएको छ। पुकार बमले मलाई राजनीतिक अभियन्ताका रूपमा सडकमा टिक्न सिकाउनुभयो र सन्तोष परियारले मलाई वैचारिक रूपमा स्पष्ट हुन मद्दत गर्नुभयो। सोचेँ, व्यक्तिगत रूपमा फोन गरेर हालखबर सोधपुछ गरी मुद्दा सम्झाउँछु र ध्यानाकर्षण हुन दबाब दिन्छु। फेरि सोचेँ, लेख्नु प्रभावकारी होला। मलाई लेख्ने भूतले पनि अचेल छोएकै छ। फेरि ‘धेरै पढेर मात्र हुँदैन लेख्न पनि पर्छ’ भनेर हैरान बनाउने सन्तोष परियार दाइको भनाइ सम्झिएँ।
सन्तोष दाइ त सांसद बन्नुअगाडि हामीले अनुभूत गर्ने गरी नै लोकतन्त्रको हिमायती देखिनुहुन्थ्यो। हामीसँगै लोकतन्त्र (संविधान) माथि ‘कु’ हुँदा शासकलाई चोर औँलो ठड्याउँदै खबरदारी गर्दै माइतीघरलगायत काठमाडौँको सडक तताउन उहाँले खेलेको भूमिका कहाँ बिर्सन सकिन्छ र? अंग्रेजी मिसिएको शोभा भगवतीमा सन्तोष दाइले दिए त्यो दुर्लभ भाषण कहाँ बिर्सन सकिन्छ र? माइतीघरमा सामाजिक न्याय र लोकतन्त्रको विषयमा दिएको अर्को दमदार भाषण पनि बिर्सिन सकेको छैन। ओली सरकारले निषेध गरेको माइतीघर खोल्न डा. गोविन्द केसीसँग मिलेर पुकार बमले गरेको त्यो आन्दोलन पनि हाम्रो मानसपटलमा ताजै छ।
कोभिड–१९को डरले हामी सबै घरभित्र बस्दा निडर भएर एक्लै घरदेखि बाहिर निस्केर ओली सरकारलाई खबरदारी गर्दै र ‘इनफ इज इनफ’को नाराले माइतीघर तताउँदै सत्यको आग्रह गर्ने पुकार बमलाई तिनै कारणले झनै प्रिय नेताका रूपमा स्थान दियो। आज पुकार र सन्तोषहरू कराउने माइतीघर मण्डल सुनसान छ। कुनै बेला जिन्दाबाद र मुर्दावादको चर्को नाराले गुञ्जायमान हुने माइतीघर आज ध्यान–साधना केन्द्रजस्तो शान्त छ। कुनै बेला आफ्नो आफ्नो मुद्दा लिएर आएका आन्दोलनकारीलाई थेग्न नसक्ने माइतीघर आज यात्रु नपाएको साझा बसजस्तो खाली छ।
माइतीघर नै किन?
संसारका सबै लोकतान्त्रिक देशमा नागरिकले भेला भएर सत्ताप्रति आक्रोश पोख्ने र खबरदारी गर्ने साझा ठाउँ औपचारिक र अनौपचारिक रूपमा बनाएका/बनेका हुन्छन्। लोकतन्त्रलाई सम्मान गरिने देशमा त्यस्तो बागी स्थान लोकतन्त्रलाई सम्मान गरिने जुनसुकै देशमा पनि हुन सक्छ। त्यस स्थानलाई राज्यले विशेष रूपमा ध्यानाकर्षण गर्न बाध्य हुन्छ। नेपालमा पनि विभिन्न आन्दोलन भए, विशेषगरी ६२/६३ पछिको आन्दोलन, जुन माइतीघरबिना असम्भव बन्यो। त्योभन्दा अगाडि माइतीघरमा शान्ता दीक्षितलगायत समूहले सशस्त्र द्वन्द्वमा मारिएका नागरिकप्रति दीप प्रज्वलन गर्ने गर्थे।
माइतीघर मण्डल यतिसम्म लोकतान्त्रिक र समावेशी भयो कि यहाँ आफूलाई वामपन्थी भनेर चिनाउने संगठनदेखि नेपालमा राजा चाहियो भनेर पृथ्वीनारायण शाह र ज्ञानेन्द्र शाहका तस्वीर लिएर धर्ना बस्नेको पनि यहाँ जम्काभेट हुन थाल्यो। जनवादी गीत 'झरनाको चिसो पानी' गाएर समेत यहाँ आफ्ना असहमति र विरोध जनाउँदै कार्यक्रम हुन थाले। यतिसम्म कि तीन वर्षअघि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र माइतीघरलाई निषेधित क्षेत्र घोषण गर्ने निवर्तमान नारायणकाजी श्रेष्ठ पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सांसद विघटन गरेर च्युत गराइदिँदा त्यहीँबाट 'हामी यहाँ छौँ' लेखेको प्लेकार्ड लिएर माइतीघरको सडकमा बसेर विरोध जनाएका थिए।
माइतीघर साँचो रूपमा माइतीघर भएको थियो। थोरै जमिनमा रहेर पनि माइतीघरको हृदय विशाल थियो, छ र सदा हुनेछ। सरकार आफैँ पीडकको पक्षमा लाग्दा माइतीघर पीडितको माइती बनेर उभिन्थ्यो। त्यसैले होला, अन्यायमा परेका सीमान्तकृत नागरिक न्यायको आशा देखेर माइतीघरसम्म आउँथे। माइतीघरले कसैलाई विभेद गर्दैनथ्यो। मधेशका उखु किसान र मिटरब्याज पीडित हुन् वा पहाडमा आफ्नो पहिचान खोजिरहेका आदिवासी, निर्मला कुर्मी हुन् या निर्मला पन्तका लागि आवाज उठाउनेहरू, डा. गोविन्द केसी हुन् वा दुर्गा प्रसाईं, वामपन्थी होस् वा दक्षिणपन्थी कसैलाई माइतीघरले विभेद गरेन।
थापाथलीको यो खास ठाउँको नाम माइतीघर हुनुमा पुरानो चलचित्र माइतीघरको ठूलो पोस्टरको भूमिका थियो। तर कालान्तरमा झन्डै माइतीघरले आफ्ना छोरीलाई स्वागत गरेझैँ दर्शनकारी/आन्दोलनकारीलाई यसले स्वागत गर्थ्यो। तर आज शासकले त्यही माइतीघरको ढोका बन्द गरिदिँदा त्यहीँदेखि फलेका फुलेका नेता, दैनिक रूपमा माइतीघरमा धर्ना दिने अभियन्ता र आफूलाई लोकतन्त्रवादी भन्नेहरू सज्जनहरू मौन छन्। तिनीहरूसँगै पुकार बम र सन्तोष परियारहरू पनि मौन छन्। हजारौँको बलिदानले ल्याएको लोकतन्त्र आफ्नै पार्टीको गृहमन्त्रीले कुण्ठित गराइरहँदा पनि पुकार बम र सन्तोष परियारहरू पनि किन मौन? अर्को पुकार र सन्तोष जन्माउने क्षमता राख्ने माइतीघरमा सरकारले निषेध गर्दा हाम्रा जोसिला नेता किन मौन?
अन्त्यमा,
हिजोको आदर्श सम्झँदा यस्तो लाग्छ, तपाईंहरूले प्रतिनिधित्व गरेको सरकारले लोकतन्त्रमाथि धावा बोलिरहँदा मभन्दा बढी तपाईंहरूको रगत तातिरहेको होला। चाहने हो भने तपाईंहरूले पक्कै केही गर्न सक्नुहुन्छ। मैले चिनेको पुकार र सन्तोष दाइ निडर भएर आफ्नो कुरा प्रस्टसँग राख्न सक्ने व्यक्ति हुनुहुन्छ। तर तपाईंहरूको मौनताले शंका र गर्ने जन्माएको छ।
पुकार दाइलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा संलग्न हुनुभन्दा अगाडि अझ रास्वपा सरकारमा जानुभन्दा अगाडि लोकतन्त्रप्रति प्रतिबद्ध र शुरूआती १० वर्षको विवेकशील राजनीति गरेको व्यक्ति हुनुहुन्छ। सन्तोष परियार रास्वपा लाग्नुअघि नागरिक आन्दोलनमा लाग्दै सामाजिक न्याय र लोकतन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका व्यक्ति हुनुहुन्छ। तर अहिलेको मौनताले उहाँहरूको आदर्शमा प्रश्न उठ्न सक्ने देखिन्छ। सिद्धान्तभन्दा सम्झौतापरस्त त हुनुभएन उहाँहरू भन्ने प्रश्न सहजै उठ्छ।
सबै शंका र प्रश्नलाई तोड्दै यो सानो तर महत्त्वपूर्ण कामको पहलकदमी लिन दुवैलाई आग्रह छ। तपाईंहरूले प्रतिनिधित्व गरेको पार्टी गृहमन्त्रीसहित सरकारमा छ। केही गर्छु भनेर राजनीतिमा हाम फालेका रवि लामिछाने गृहमन्त्री हुनुहुन्छ। दुवै दाजुहरूले ‘रवि दाइले यो गर्यो त्यो गर्यो, गुड लक् रवि दाइ’ भन्ने स्तरका कमेन्ट गर्न छाडेर गृहमन्त्रीलाई लोकतान्त्रिक मूल्य मान्यता बुझाउँदै गृह मन्त्रालयअन्तर्गत काठमाडौँको माइतीघरलगायत विभिन्न ६ स्थानमा लगाइएको निषेधित क्षेत्र नागरिकका लागि फिर्ता गर्न ध्यानाकर्षण गराउनुहोस्। अर्को कुरा, रवि लामिछानेलाई ‘भौमान’ हुनबाट रोकेर असल नेता बनाउनतर्फ तपाईंहरू लाग्नुहोस्। अहिले यति मात्रै गर्न सक्नुभयो भने पनि लोकतन्त्रको लागि यहाँहरूको योगदान उच्च हुनेछ।
र मेरो अन्तिम प्रश्न, कोही पनि किन सत्तामा पुग्न चाहन्छन् र पुगेपछि भुईं टेक्न किन चाहँदैनन्? सरकार परिवर्तनको भोलिपल्ट नै तपाईंहरू सबै आउने साझा स्थान भनेको भुईं (माइतीघर) नै होइन र? कि सत्ता सदा अमर हुने ठान्नुभएको छ? लोकतन्त्र जिन्दावाद! इन्क्लाब जिन्दावाद!
तपाईंहरूकै प्यारो भाइ पवन
चाबहिल, काठमाडौँ।
*यसअघि लेखकको नाम अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छौँ।
(थापा सामाजिक तथा राजनीतिक अभियन्ता हुन्। यहाँ व्यक्त विचार लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
