एकोहोरो महत्त्वाकांक्षा, दोहोरो चरित्र: ‘एमबीएस’

विश्वका विभिन्न भागमा बेलाबखत ‘उदार तानाशाह’को माग सतहमा आउने गर्छ। नेपालमा पनि यस्तो जमात भेटिन्छ, जसले लोकप्रियतावादको सिँढी चढेर शक्ति आर्जन गर्ने महत्त्वाकांक्षालाई बढावा दिइरहेको छ।

मोहम्मद बिन सलमान/तस्वीर: एपी

सन् २०१८, साउदी अरब।
जनसंख्याको ६० प्रतिशतभन्दा बढी युवा ‘अल्ट्रा कन्जर्भेटिभ’  शासनदेखि आजित भइरहेकै बेला केही परिवर्तनका संकेत देखिन थाल्छन्।

धर्मगुरुहरूले लगभग चार दशकअघि सिनेमाघरमा लगाएको प्रतिबन्ध हटेसँगै अप्रिल २०१८मा ‘ब्ल्याक प्यान्थर’ ३५ वर्षमा साउदी अरबमा देखाइएको पहिलो चलचित्र बन्यो। अधिराज्यको स्थापनाकालदेखि महिलाले गाडी चलाउन नपाउने कानून भएको प्रशासनले जुन २०१८मा बल्ल महिला पनि सवारी चालक हुनपाउने नियम लागू गर्छ। त्यसको लगभग १ वर्षपछि २१ वर्ष वा सोभन्दा बढी उमेरका साउदी महिलाहरूलाई राहदानीका लागि आवेदन दिन र पुरुष संरक्षक (पति, बुबा वा अन्य पुरुष नातेदार)को सहमतिबिना विदेश यात्रा गर्न अनुमति दिइयो।

बिस्तारै गैर-मुस्लिम कूटनीतिज्ञहरूलाई रक्सी बिक्री गर्न अनुमति दिने निर्णय पनि पारित भयो। महिलाहरूलाई लामो समयदेखि सार्वजनिक स्थलमा पुरुषसँग सहभागी हुन निषेधित गरिएकोमा, पुरुष र महिलाहरूलाई सार्वजनिक रूपमा बोलचाल गर्न, भेट्न अनुमति दिइन्छ। सन् २०१८ मै पहिलो पटक महिलाहरूलाई फुटबल स्टेडियममा प्रवेश गर्न अनुमति दिइयो र साथै पुरुषहरूसँगै कन्सर्टमा पनि भाग लिन मिल्ने प्रावधान लागू गरियो। एकपछि अर्को युवा लक्षित कार्यक्रमको घोषणाका साथै देश ‘न्यु अरेबिया’ हुनतिर उन्मुख रहेको सपना बाँडिन्छ।

साउदीमा अब ईस्लाम धर्म पनि अरु धर्मझैं आधुनिक हुने, रुढिवादको चंगुलबाट निस्किने योजना सार्वजनिक हुन्छ। दशकौंदेखि वहाबी धर्मगुरुहरूको पकडमा रहेको साउदी समाजको एक हिस्साले राहत मिलेको महसूस गर्छ। 

तेलको राजस्वमा निर्भरता घटाउन र अर्थतन्त्रलाई विविधीकरण गर्ने प्रयासमा पहिलो पटक पर्यटनको संभावना केलाउन थालियो। सेप्टेम्बर २०१९मा यसलाई ‘सेतो तेल’  घोषित गरेर आयआर्जनको बलियो विकल्प मान्न थालियो। अर्थतन्त्रकै मुख्य स्रोत तेल भएको साउदी अरबले तेल बाहेक आय आर्जनको विविधिकरणका निम्ति ‘मिसन २०३०’  घोषणा गरेपश्चात देश आधुनिकतातिर उन्मुख भएको मिडियामा संचारित हुन्छ। 

सन् २०१८ कै अन्त्यतिर यी सकारात्मक थालनीलाई झस्काउने गरी एक घटना घट्छ। आजभन्दा ठीक ६ वर्ष पहिले अक्टोबर २ मा साउदी पत्रकार जमाल खशोज्जीको ‘हत्या’को आशंका मिसिएका समाचारले विश्वभर तरंग ल्याउँछ।

प्रगतिशील साउदी पत्रकार खशोज्जी आफ्नी टर्किस प्रेमिका ह्याटिस सेन्गिजसँग विवाह गर्न आवश्यक कागजपत्र लिन इस्तानबुलस्थित दूतावास गएपछि बेपत्ता हुन्छन्। दूतावास बाहिर पर्खिरहेकी सेन्गिज उनी नआएपछि प्रहरीलाई फोन गर्छिन्। खशोज्जी  बेपत्ता भएको भोलिपल्ट साउदी सरकारले उनी बेपत्ता भएको भन्दै विज्ञप्ति जारी गर्छ। अघिल्लो दिन वाणिज्य दूतावासको भवनबाट बाहिरिएपछि उनी बेपत्ता भएको साउदी अधिकारी दावा गर्छन्। टर्कीका अधिकारीहरू भने खशोज्जी अझै दूतावास भवनभित्र रहेको बताउँछन् तर दूतावासको अनुमति बेगर उनको खोजी गर्न परको कुरा, भवनभित्र प्रवेश गर्न पनि असंभव हुन्छ। 

खशोज्जी  हराएको पाँच दिनपछि, ७ अक्टोबरमा, साउदी अरबबाट १५ जनाको ‘हिट्-स्क्वाड’ सेप्टेम्बरको अन्तिम हप्ता इस्तानबुल आइपुगेको टर्कीका अधिकारी दावा गर्छन्। उनिहरूका अनुसार त्यो समूह खशोज्जी  बेपत्ता भएको दिन भवनमा उपस्थित थियो भने त्यसको केही समयपछि उनिहरू बाहिरिएका थिए।

त्यसपछिका दिनमा माथि उल्लेखित हिट-स्क्वाड र पत्रकार बेपत्ता पार्न साउदी सरकारको संलग्नताबारे तारन्तार गोप्य रिपोर्ट टर्किस मिडियामा बाहिरिन थाल्छन्। टर्किस अनुसन्धानकर्ताले १२ अक्टोबरका दिन खशोज्जी  मारिएको र उनको मृत शरीर ‘ठेगान लगाइएको’ आरोप सार्वजनिक गर्छन्। एक अडिओ रेकर्डिङमा खशोज्जी साउदी दूतावास प्रवेश गरेपछि उनिमाथि हिट-स्क्वाडले आक्रमण गरेको उनिहरू दावी गर्छन्।

पत्रकार जमाल खशोज्जी

अन्तत: बेपत्ता पारीएको १७ दिनपछि, १९ अक्टोबरमा साउदी अधिकारीले पहिलो पटक खशोज्जी मारिएको स्वीकार गर्छन्। उनीहरू दावी गर्छन् कि खशोज्जीको मृत्‍यु साउदी अधिकारीहरू सँग ‘हात हालाहाल’को क्रममा भएको हो। हत्याको आरोपमा १८जनालाई हिरासतमा लिइको उनिहरू बताउँछन्।

सन् २०१८ मा घटेका यी घटनाक्रम झट्ट हेर्दा एकअर्कासँग सम्बन्धित नलाग्लान्। तर साउदी अरबको ‘आधुनिकीकरण’ र प्रशासन सुधार झल्काउने पहिलो भाग र साउदी राज्यको निरंकुश चरित्र बताउने दोस्रो भाग एउटा बिन्दुमा एकअर्कासँग जोडिन्छन्। यी दुई भागलाई जोड्ने मियो हुन एमबीएस, अर्थात साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद।

विश्वका विभिन्न भागमा बेलाबखत ‘उदार तानाशाह’को माग सतहमा आउने गर्छ। नेपालमा पनि बेलाबेला सार्वजनिक रूपमै उदार तानाशाह खोज्ने जमात भेटिन्छन् जसले लोकप्रियतावादको सिँढी चढेर शक्ति आर्जन गर्ने महत्त्वाकांक्षालाई बढावा दिइरहेको छ। ‘जेरान्टोक्रेसी’ले वाक्क भएका साउदी जनतामाझ यस्तै उदार तानाशाहको छवी बिकाएर शासनसत्ता आफूमा केन्द्रित गर्न उद्दत पात्र हुन एमबीएस।

बादशाह सलमान बिन अब्दुल्लाजिजका प्रथम सन्तान मोहम्मद बिन सलमानले युवाअवस्थादेखि नै ‘शक्ति-अभ्यास’ शुरू गरेका थिए। लामो समयदेखि पिता शाह सलमानका सल्लाहकार रहेका उनी सलमानको राज्यारोहणसँगै २९ बर्षको उमेरमा पहिला उप-युवराज एवं रक्षामन्त्री, र त्यसको दुई वर्षभित्रै आफ्नै काकाका छोरा मोहम्मद बिन नायफलाई पन्छ्याउँदै युवराज र बादशाहका प्राथमिक उत्तराधिकारी बनेका थिए।

सार्वजनिक पद सम्भालेदेखि आफ्नै गतिमा चर्चित हुँदै गएका राजकुमारलाई यमनमाथि युद्ध घोषणा गरेलगत्तै साउदी अरबमा हिरोका रूपमा हेरिन थाल्यो। मोहम्मदको आवेगपूर्ण मानिएको यस कदमले साउदी अरब र सयुंक्त राज्य अमेरिकाको सम्बन्धमा चिसोपन ल्याएको थियो। सन् २०१५को अन्त्य तिर शाह सलमानको निमन्त्रणामा राजधानी रियाद पुगेका तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको भ्रमणकालीन बैठकमा मोहम्मदले ‘प्रोटोकल’ तोडेर अमेरिकी विदेश नीतिको आलोचना गरेपछि त मध्यपूर्व मात्र होइन, उनले विश्वको ध्यान आफूतिर आक्रिष्ट गरे।

पछि उनी डोनाल्ड ट्रम्प प्रशासनका दौरान अमेरिकासँग नजिकिदै गए, घरमा विरोधी ठेगाना लगाउँदै अमेरिकालाई रिझाउँदै गए। मेटाका मार्क जकरबर्गदेखि बिल गेट्स जस्ता ‘आईटी जाएन्ट्स’ सँग सम्बन्ध बिस्तार गर्दै अमेरिकालगायत विकसित देशहरूसँग व्यापार सम्बन्ध विस्तार गर्ने प्रयास गर्न थाले।

मोहम्मदमाथि बनेको डक्युमेन्ट्री ‘प्रिन्स विथ टु फेसेस’मा देखाइएअनुसार उनलाई देश बदल्ने हतार त थियो, तर उनले निर्देशनले मात्र परिवर्तन नहुने बुझेका थिए। लोकप्रियतावादको राजनीति बुझेका उनले नयाँँ पुस्ताका विदेशमा पढेलेखेका बौद्धिक व्यक्तित्वहरूलाई सल्लाहकार नियुक्त गर्न थाले। जसले मिडिया, सामाजिक सन्जालमा उनको सही कदमको प्रचार गरे, गलत कदमको बचाव।

बुवा शाह सलमान उमेर र रोगका कारण झन् कमजोर हुँदै गएको बेला ३८ वर्षीय मोहम्मद अहिले इस्लामको जन्मस्थल र विश्वको सबैभन्दा ठूलो तेल निर्यातक देशको उपल्लो जिम्मेवारीमा छन्। विश्लेषकका अनुसार गद्दीका लागि हतारिएका उनी अब आउँदा केही वर्ष भित्रै गद्दिसीन हुनेछन र (कुनै दुर्घटना नभएको खण्डमा) विश्वले ५० वर्षसम्म उनलाई साउदी बादशाहका रूपमा देख्नेछ।

उनका धेरै ‘ग्राउन्डब्रेकिंग’ योजनाहरू छन् जुन बिस्तारै पूरा भइरहेका छन्। साथै अभिव्यक्ति स्वतन्त्रताको दमन, मृत्युदण्डको व्यापक प्रयोग, विरोधी अपहरण गर्ने र ‘बेपत्ता’पार्ने, र विभिन्न अधिकारकर्मीलाई जेल हाल्ने जस्ता मानवअधिकार उल्लंघनका आरोप पनि उनिमाथि छन्।

एकातिर एमबीएस आफ्ना विरोधी र शाही परिवारभित्रकै प्रतिद्वन्दीहरूलाई विभिन्न आरोपमा पक्राउ गर्दै, यातना दिँदै छन्। अर्कोतिर उनी साउदीमा कहिले नभएका एकपछि अर्को ‘माइलस्टोन’ परियोजनाहरू शुरू गर्दैछन्। शक्ति र प्रभाव विस्तार गर्दैछन्।

विदेशी, विशेषगरी अमेरिकी मिडियामा एमबीएसको छवी ‘खराब’ गरिरहेका खशोज्जीको हत्यामा नैतिक जिम्मेवारी लिँदै प्रत्यक्ष संलग्नताको आरोपबाट पन्छिए। मृतकका सन्तानलाई आफ्नो पक्षमा उभ्याए, दोषी करार गरेर मृत्‍युदण्ड तोकिएका उनका सहयोगीलाई आमामाफी दिन लगाए। जसरी तसरी आफूलाई त चोख्याए तर टर्किस गुप्तचर संस्था, संयुक्त राष्ट्रसंघका प्रतिनिधि, अमेरिकी गुप्ताचर संस्था सीआईएलगायत खशोज्जी हत्या योजनामा साउदी सरकारको प्रत्यक्ष संलग्नता रहेको निष्कर्षमा पुगेका थिए । यी निष्कर्ष र परिस्थितिजन्य प्रमाण मोहम्मदसँग प्रत्यक्ष जोडिन आउँछन्।

उनको विकास र सुधारका योजनाले लोकप्रियता हासिल गर्दैगर्दा यी सबै कतै न कतै खशोज्जी हत्या वा एमबीएसको निगरानीमा भइरहेका मानवाधिकार उल्लंघनका कैयौँ मुद्दासँग ठोक्किन्छन्। 

मोहम्मदको फैलिँदै गएको प्रभाव र त्यो प्रभावसँगै बढीरहेको अधिनायकवादी चरित्रले प्रश्न उब्ज्याउँछ– के तानाशाह कहिले उदार हुनसक्छ? उदार भए तानशाह हुन्छ? पत्रकार जोनाथन रग्म्यानले बीबीसी निर्मित डक्युमेन्ट्री ‘द वर्ल्ड्स मोस्ट पावरफुल प्रिन्स’मा भनेका छन्, “एमबीएस आफ्नो देशलाई आधुनिकीकरण गर्ने मिसनमा रहेको मानिस पक्कै हुन्। तर उनी हदै निर्दयी हुनसक्ने पहिलो संभावित निरंकुश शासक पनि होइनन्।”