आलु बजारीकरणकाे जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रापमुर नगरपालिकाले फस्ट च्वाइस फुड प्राइभेट लिमिटेडसँग सम्झाैता गरेर आलुकाे बजारीकरण गर्ने जिम्मा लिएकाे छ।

तस्वीर : रासस

रामपुर– रामपुर नगरपालिका–६ की सीता देवकोटालाई आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले पिरोल्थ्यो। उनी हरेक वर्ष कम्तीमा १० क्विन्टल आलु  फलाउँछिन्।

गाउँका हरेक घरमा आलु उत्पादन हुने समय एकै हुँदा बजार नपाउने समस्या हुने गरेको थियो। अहिले भने नगरपालिकाले आलुको बजार प्रबन्ध गरिदिन थालेको छ। आलु बजारीकरणको प्रबन्धका नगरपालिकाले गरिदिने भएपछि स्थानीय उत्साहित भएका छन्।

“खेतमा आलु खन्ने बेला भएपछि कहाँ लगेर कसरी बेचौँ भन्ने समस्याले सधैँ सताउँथ्यो, धेरैपटक घरमै उम्रेर, कुहेर फाल्नुपरेको छ”, देवकोटाले भनिन्, “अहिले नगरपालिकाले बजारीकरणलाई सहज बनाउँदै बीउमा अनुदान दिएको छ, बजारीकरणको पिरलो नहुने भएपछि ढुक्कले खेतमा आलु लगाइएका छौँ।” उनले यसवर्ष दुई क्विन्टल आलुको बीउ रोपेको बताइन्। रामपुर–७ का अगुवा आलु उत्पादक किसान यमकान्ती गौतमले वर्षको सय क्विन्टल बीउ तथा खायन आलु उत्पादन गर्छन्।

सात वर्षदेखि व्यावसायिकरूपमा आलुखेती गरिरहेका उनलाई उनलाई पनि बजारकै समस्या खड्किन्छ। “धेरै आलु फलेपछि घरमा भण्डारण गर्ने ठाउँको अभाव, बजारमा झट्ट बेच्नै गाह्रो, बाहिरका विभिन्न बजारमा कम मूल्यमा पठाइयो, कहिलेकाहीँ लगानी नउठ्ने गरी बेच्नुपथ्र्यो, अब यस्तो समस्या भोग्न नपर्ने भयो”, उनले भने। 

गौतमले नगरपालिकाको अनुदान सहयोगमा छ रोपनी जग्गामा साढे छ क्विन्टल खायन आलु लगाएका छन्। बजार सहज भए अझै धेरै आलु लगाउने उनले सुनाए। खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत् यस वर्ष १५ लाख ५० हजार रुपैयाँ रकम किसानलाई अनुदान दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए। “आलुको उत्पादन वृद्धि गरी आयस्रोत बढाउन, आयातित आलुलाई घटाउन, रोजगार सिर्जना गर्न नगरले किसानको मागका आधारमा आलु उत्पादन तथा प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ”, शाखा प्रमुख पाण्डेयले भने।

उनका अनुसार यस कार्यक्रममा तीन सय किसान आबद्ध छन्। साढे तीन सय क्विन्टल खायन आलुको बीउमा ५० प्रतिशत अनुदान रकम दिने कार्यक्रमअनुसार किसान आफैँले बीउ खरिद गरेर लगाएका छन्। फस्ट च्वाइस फुड प्राइभेट लिमिटेड बुटवल बेलबाससँगको सहकार्यमा नगरपालिकाले खायन आलु उत्पादन कार्यक्रम थालेको छ। रामपुरमा उत्पादन भएको आलु सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएको छ।

कार्डिनल, खुमल उज्वल, खुमल रातो, जनकदेव, टीपीएस जातका बीउ खरिद गरेर खेती गरेको किसानले बताएका छन्। बजारीकरण र भण्डारण गर्न चाहे रामपुरमै शीतभण्डारको व्यवस्था गरिएको मेयर रमणबहादुर थापाले बताए। “किसानले उत्पादनमा जोड दिनुपर्‍यो, बजारको जिम्मा नगरले लिन्छ”, उनले भने। 

हराभरा महिला कृषि सहकारी, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सातबिसे सेरा कृषक समूह, माझटोल कृषक समूह, नदी किनार कृषक समूह र शुभप्रभात महिला कृषक समूहले नगरपालिकाको अनुदान सहयोगमा खायन आलुखेती गरेका छन्। यस वर्ष झण्डै तीन सय क्विन्टल आलुको बीउ किसानलाई अनुदानमा उपलब्ध गराइएको छ।

खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र करिब ४०० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ। रामपुरमा करिब दुई हजार ५०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आइएको छ। पछिल्ला वर्षमा पालिकाले बीउमा अनुदान दिन थालेपछि आलुखेतीमा किसानको ह्वात्तै आकर्षण बढेको छ। छोटो समयमा खेती लगाएर धेरै उत्पादन गर्न पाइने आशामा धेरैले हिउँदयाममा व्यावसायिक आलु उत्पादनलाई जोड दिन थालेका छन्।     

रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको एउटा दरिलो माध्यम बनेको छ। रामपुरबाट बिक्रीका लागि अहिले तानसेन, पोखरा, बुटवल, नारायणघाट, काठमाडौँसम्म सडक सञ्जाल जोडिएपछि सवारीमा बजार पठाउन सजिलो भएको छ।