Friday, May 03, 2024

-->

एनएसएलमा खाली रंगशाला: नि:शुल्क टिकट र नगद पुरस्कारले पनि तानिएनन् दर्शक

एनएसएलका दर्शकमध्ये आयोजकले हरेक खेलमा 'फ्यान अफ द म्याच'लाई ५ हजार पुरस्कार दिन्छ। फ्रेन्चाइजीहरूले पनि नि:शुल्क टिकट बाँड्नेदेखि अनेक 'अफर' दिइरहेका छन्। तर रंगशालामा दर्शक नै छैनन्।

एनएसएलमा खाली रंगशाला निशुल्क टिकट र नगद पुरस्कारले पनि तानिएनन् दर्शक

काठमाडौँ- “फुटबल लिग हुने भनेपछि काठमाडौँको माहोल नै अर्कै हुन्थ्यो। बिहानदेखि नै माइकिङ गरेर विक्रम टेम्पोलाई काठमाडौँ घुमाइन्थ्यो। त्यतिखेर फुटबल भनेको उत्सव थियो,” नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी विज्ञानराज शर्माले करिब तीन दशकअघिको समय सम्झिए। 

शर्माका अनुसार एक दशकअघि पनि फुटबल हेर्न दर्शक झुम्मिन्थे। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद स्मारक ‘ए’ डिभिजन लिग होस् या अन्य प्रतियोगिता, दशरथ रंगशालामा दर्शक खचाखच हुन्थे। आयोजकलाई भीड व्यवस्थापनमा हम्मेहम्मे हुन्थ्यो। तर पछिल्लो समय काठमाडौँ उपत्यकामा हुने लिगमा दर्शकको उपस्थिति पातलो छ।

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण अहिले दशरथ रंगशालामा चलिरहँदा दर्शक न्यून हुने गरेका छन्। तीन वर्षअघि कोरोना महामारीको समयमा एनएसएलको पहिलो संस्करण बिनादर्शक खाली रंगशालामा खेलाइएको थियो। यसपटक दर्शकका लागि आयोजकले अनेक 'अफर' राख्दा पनि दर्शक तान्न असफल भएको छ।

एनएसएल आयोजकले लिगलाई प्रतिस्पर्धात्मक बनाउन यो सिजन तीन टोली थपेका छन्। विदेशी खेलाडीको कोटासमेत थपेका छन्। एक टिमले पाँच जना विदेशी खेलाडी मैदान उतार्न पाउँछ। दर्शक तान्न क्रिकेट लिगमा जस्तै 'चियर लिडर्स' राखेका छन्। 'डिजिटल रनिङ स्क्रिन' र 'फुड स्टल' पनि छन्। तर प्रतियोगिता अन्त्यतिर पुग्दासमेत रंगशालामा न्यून दर्शक मात्र उपस्थित भइरहेका छन्।

एनएसएल आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट मेनेजमेन्ट प्राली (एनएसईएम)ले जनाएअनुसार साबिक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलाम एफसी डी मेचीबीच मंसिर ८ गते भएको उद्‍घाटन खेलमा सर्वाधिक दर्शकको उपस्थिति सबैभन्दा बढी थियो। उक्त खेलमा पाँच हजार ६०० दर्शकको उपस्थिति थयो। खेलअघि गायकद्वय सुशान्त केसी र वाङ्देन शेर्पा तथा 'ट्वीनी टिकटकर' प्रिन्सी र प्रिज्मा खतिवडाले प्रस्तुति दिएका थिए।

त्यो खेल रोमाञ्चक पनि भएको थियो। प्रतिस्पर्धात्मक खेलमा इलामलाई १-० गोलअन्तरले पराजित गर्दै काठमाडौँले विजयी शुरूआत गरेको थियो। पराजित भए पनि इलामका मुख्य प्रशिक्षक मेघराज केसी खुशी देखिएका थिए। उनले खेलको स्तर निकै बढेको भन्दै आगामी खेलमा दर्शकलाई मैदानसम्म तान्ने विश्वास व्यक्त गरेका थिए। तर पहिलो खेल हेरेका दर्शकलाई आयोजकले अन्य खेलमा मैदान फर्काउन सकेनन्।

त्यसपछि भएका पोखरा थन्डर्स तथा एफसी चितवन र बुटबल लुम्बिनी एफसी तथा ललितपुर सिटी एफसीको खेल हेर्न करिब ३०० दर्शक मात्र मैदान पुगे। न्यून उपस्थितिकै कारण आयोजकले 'म्याच रिपोर्ट'मा दर्शक संख्या नै उपलब्ध गराएन। त्यसपछि भएको वीरगन्ज एफसी र धनगढी एफसीबीचको खेलमा करिब ५०० दर्शक उपस्थित भएको आयोजकको दाबी छ।

आयोजकले मैदानमा दर्शक तान्न ‘फ्यान अफ द म्याच’ दिने घोषणा पनि गरेको थियो। प्रत्येक खेलमा आयोजकले एक जना दर्शकलाई ५ हजार पुरस्कार दिए। तर ५ हजार पुरस्कार जित्न २०० रूपैयाँको टिकट काटेर रंगशाला पुग्ने दर्शक न्यून मात्र भए।

फ्रेन्चाइजी टोली आफैँ पनि दर्शक तान्न विभिन्न 'अफर'सहित अग्रसर भएका थिए। सातौँ खेल भइरहँदा ललितपुरले दर्शकका लागि ५०० टिकट नि:शुल्क बाँडेको थियो। पोखरासँगको उक्त खेलमा दर्शक करिब दुई हजार दर्शक आए। दशरथ रंगशालाको कुल क्षमता १५ हजार छ। 

त्यसअघि भएका बुटवल तथा काठमाडौँ, वीरगन्ज तथा चितवन र पोखरा तथा झापाको खेलमा भने दर्शकको संख्या अझै न्यून थियो। बुटवल लुम्बिनीले मंसिर २३ गते काठमाडौँसँगको खेलमा आफ्नो प्रायोजक करेन्ट चाउचाउको एउटा खोल ल्याउने दर्शकलाई एउटा टिकट दिने घोषणा गरेको थियो। उक्त खेलमा जम्मा १५ सय टिकट पनि नगएको आयोजकको भनाइ छ। 

ललितपुरले आफ्नो तेस्रो खेलमा एक हजार टिकट नि:शुल्क बाँडेको थियो। उक्त खेलमा चार हजार ८०० दर्शक उपस्थित भए। त्यसको भोलिपल्ट बुटबल र इलाम भिड्दा करिब एक हजार दर्शक खेल हेर्न आए। अर्को खेलमा काठमाडौँले झापा एफसीसँग खेल्दा कलाकार राजेश हमलालाई ल्याएर दर्शक तान्ने प्रयास गरिएको थियो। त्यो खेल हेर्न २७ सय दर्शक आएका थिए।

मंसिर २४ गते भएको लिगको २०औँ खेलमा चितवनले आफ्ना समर्थकलाई एक हजार र ललितपुरले दुई हजार टिकट बाँडे। तर खेल हेर्न २७ सय दर्शक मात्र आए। पछिल्लो समय फ्रेन्चाइजीहरूले दर्शक तान्न फेसबुक पेजमा 'क्विज' खेलाउनेदेखि जर्सी बाँढ्नेसम्मको अफर ल्याएका छन्। यद्यपि, दर्शक तानिएका छैनन्। 

एनएसलको एउटा टिम काठमाडौँ रेजर्सका निर्देशकसमेत रहेका विज्ञानराज शर्मा खेलले मात्रै दर्शक तान्न नसक्ने तर्क गर्छन्। दर्शक तान्नलाई फुटबललाई नै महोत्सवको रूपमा मनाउनुपर्ने उनको भनाइ छ। “अहिले समर्थक नै देख्न मुस्किल छ। खेलले मात्रै दर्शक तान्न सकिँदैन,” उनी भन्छन्, “एकपटक सिनेमा हेर्नेहरू हराइसकेका थिए। तर तिनीहरूले पछि ब्रान्डिङ गरे। हलमा कोक, पपकन बेच्न थाले। त्यसपछि दर्शक बढे। फुटबलमा पनि त्यस्तै ब्रान्डिङ चाहिएको छ।”

‘दर्शकको न्यून उपस्थितिले चिन्तित छौँ’
नेपाली राष्ट्रिय टोलीका पूर्वगोलरक्षक तथा वीरगन्ज एफसीका गोलरक्षक प्रशिक्षक उपेन्द्रमान सिंह अहिले भइरहेको लिगमा न्यून दर्शक आउँदा आफूहरूलाई पनि दु:ख लागेको बताउँछन्। काठमाडौँका दर्शक किन लिगप्रति आकर्षित भइरहेका छैनन् भन्ने आयोजकले विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। 

“खेलहरूको लोकप्रियताका आधारमा नेपालमा फुटबल नम्बर वान नै हो। एनएसएल छुट्टै प्रतिस्पर्धात्मक छ। ए डिभिजन लिगभन्दा माथिल्लो लेभलको खेल भइरहेको छ, सायद विदेशी खेलाडीले गर्दा होला,” उनी भन्छन्, “तर दर्शकको उपस्थितिले गर्दा निराश भइरहेका छौँ। अहिले जाडोले हो कि, काठमाडौँको मान्छे बिजी भएर हो! एनालाइसीसी गर्नुपर्छ।”

सिंहका अनुसार दिउँसो खेल गराउँदा दर्शक नआउने भएको कारण बेलुका 'फ्लर्ड लाइट'मै खेलाउने निर्णय भएको थियो। अहिले शनिबारबाहेक अन्य दिनमा बेलुका एक खेल मात्रै भइरहेको छ।

सबै टिमले ८/८ खेल खेलेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने चार टोली सेमिफाइनल पुग्ने छन्। अहिलेको अंक तालिका हेर्दा ५/५ खेल खेलिसकेका चितवन तथा इलाम र वीरगन्जको सेमिफाइनल पुग्ने सम्भावना कमै छ। अन्य ६ टोलीको भने प्रतिस्पर्धा उच्च छ। तालिकामा धनगढी एफसी ११ अंकसहित शीर्ष स्थानमा छ। ललितपुर ९ अंकसहित दोस्रो र ८/८ अंक रहेका काठमाडौँ र पोखरा तेस्रो र चौथो स्थानमा छन्। उनीहरूलाई ७ र ६ अंकसहित लुम्बिनी र झापाले पछ्याइरहेका छन्।

लिगका २४ खेल सकिँदा ३३ खेलाडीले ४४ गोल गरेका छन्। तीमध्ये १२ नेपाली खेलाडीले मात्र गोल गरेका छन्। राजीव लोप्चन र एरिक विष्टबाहेक सबै नेपाली खेलाडीले १/१ गोल गरेका छन्। लोप्चन र विष्टको भने समान दुई गोल छ। 

प्रशिक्षक श्रेष्ठ यस्तो माहोलमा भरिभराउ दर्शक हुनुपर्ने बताउँछन्। “यस्तो बेला स्टेडियम भरेर खेल्दा खेलाडीमा जोश हुन्थ्यो, छुट्टै माहोल हुन्थ्यो। पहिलो संस्करणमा कोरोनाले गर्दा दर्शक आउन पाएनन्। सिजन टु मा दर्शक बढ्छ भन्ने लागेको थियो, तर आइदिएनन्,” उनी भन्छन्।

एनएसईएम अध्यक्ष आश्रयता कार्की चौधरीले भने आफूहरूले दर्शक तान्न कुनै कसर बाँकी नराखेको बताउँछिन्। तर नयाँ टोली भएको कारण समर्थकले अपनत्व लिन नसकेको उनको बुझाइ छ। “पब्लिसिटीमा हामीले जे जति गर्न सक्थ्यौँ, गरेका छौँ। तर नयाँ टिम छन्। यो टिम मेरो हो भन्न लगाउन टाइम लाग्छ,” उनी भन्छिन्।

ए डिभिजन लिगले पाठ सिक्नुपर्छ : व्यवस्थापक श्रेष्ठ
मछिन्द्र क्लबका टिम व्यवस्थापक अनिल श्रेष्ठ एनएसएलको अभ्यासबाट ए डिभिजनले पाठ सिक्नुपर्ने बताउँछन्। पछिल्लो समय फुटबललाई काठमडौँमा मात्र खुम्च्याइएको कारण दर्शक रंगशालासम्म पुग्न छाडेको उनी बताउँछन्। 'होम एन्ड अवे' शैलीमा प्रतियोगितालाई उपत्यकाबाहिर लैजान ढिलो भएको उनको भनाइ छ। 

“ए डिभिजनमा चर्च ब्याइज र मनाङजस्ता बाहिरका क्लब छन्, तर काठमाडौँबाहिर लैजान सकेको छैन। अहिले एनएसएलमा पनि भएको त्यस्तै हो। सबै गेम काठमाडौँमै छ। ललितपुरको टिम छ, तर लोकल मान्छे छैन। अनि कसरी दर्शक आउँछन्!” उनी भन्छन्। 

काठमाडौँका दर्शकले स्थानीय स्तरको प्रतियोगितालाई वास्ता गर्न छाडेको उनी बताउँछन्। यद्यपि, अन्तर्राष्ट्रिय प्रतियोगिताले भने दर्शक तानेको उनको अनुभव छ। “हाम्रो खेल हुँदा ५/७ सय दर्शक हामीले ल्याउँथ्यौँ। फ्रेन्ड्सले ल्याउँथ्यो, अरूले ल्याउँथ्यो। अहिले सबै टोली बाहिरका छन्, अनि कसले दर्शक ल्याउने? त्यसैले अब होम एन्ड अबे गरेर खेलाउनुपर्छ। नत्र फुटबल हेर्न कोही आउँदैनन,” उनी भन्छन्।


सम्बन्धित सामग्री