हिमपात भएसँगै हिमालमा हिउँ थपिने तथा दिउँसो घाम लागेर हिमपहिरो आउने हुन्छ। यस्तो समयमा बढी जोखिम हुन्छ। त्यसैले जोखिम क्षेत्र पहिचान गरेर मात्र हिँड्नुपर्छ।
काठमाडौँ– विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ। हिमपातका कारण त्यस क्षेत्रको जनजीवनमा असर परेको छ भने कतिपय ठाउँमा यातायातका साधनसमेत अवरुद्ध हुन पुग्ने भएकाले पदयात्रा (ट्रेकिङ)मा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारले बताएका छन्।
यसपालि गत वर्षको भन्दा चाँडो चिसो बढेकाले जाडो बढी नै हुने अनुमान गरिएको छ। तराईमा बाक्लो हुस्सु लागेर चिसो बढ्ने क्रम बढेको छ। देशभरिकै मौसम चिसो हुँदा प्रत्यक्ष असर ट्रेकिङ क्षेत्रमा पनि पर्छ। ट्रेकिङको याम करिब–करिब सकिए पनि साहसिक पर्यटक नियमित जसो नै जाने गर्छन्।
अहिले पनि सयौँ पर्यटकले ट्रेकिङ गरिरहेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार यो याममा दृश्यहरू मनमोहक देखिन्छ। तर, हिमपात शुरू भएकाले चुनौती पनि उत्तिकै छ। सावधानी अपनाउँदा भने ट्रेकिङ गर्न कुनै समस्या नहुने टानका महासचिव विनोद सापकोटा बताउँछन्।
उनका अनुसार अब ट्रेकिङको याम सकिने क्रममा छ। सेप्टेम्बर, अक्टोबर नोभेम्बर, मार्च, अप्रिल र मे मुख्य याम भए पनि अहिले नजाने भन्ने होइन। विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटक धेरै गइरहेका छन्। केही दिनदेखि हिमपात भएको र चिसो बढी हुन थालेकाले यो बेलामा जाँदा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाले बताए।
अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने दृश्य मनमोहक देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ। सगरमाथा आधार शिविर, अन्नपूर्ण, मनास्लु, कञ्चनजंघा क्षेत्र ट्रेकिङको राम्रो गन्तव्य हो। उनका अनुसार हिमपात भएसँगै ठूला हिमालमा हिउँ थपिने तथा दिउँसो घाम लागेर हिमपहिरो आउने, हिमपात हुने हुन्छ। यस्तो समयमा बढी जोखिम हुन्छ। त्यसैले त्यस्तो जोखिम क्षेत्र पहिचान गरेर हिँड्नुपर्छ। अनुभवी व्यक्ति बिना ट्रेकिङ जानुहुँदैन। हिमाली क्षेत्र बाहेक अन्य क्षेत्रमा जाँदा पनि चिसोबाट जोगिने उपायसहित जाँदा राम्रो हुन्छ।
“यसरी जाँदा कपडा पनि क्षेत्र अनुसार सुहाउँदो लगाउनुपर्छ, हिउँले बाटो पुरिएको हुनसक्छ, बाटो चिनेको मान्छेसँग हिँड्नुपर्छ,” महासचिव सापकोटाले भने, “यतिबेला माथिल्लो लेयरमा हिउँ पर्दिन्छ। एउटा लेयर जमेर बसेको हुन्छ। त्यसमाथि नयाँ हिउँ गएर थपिन्छ, जब घाम लाग्छ, अनि पानी छिरेर लेयर छुट्याइदिन्छ र माथिल्लो भाग झर्न सक्छ त्यसकारण हिउँ खस्ने सम्भावित क्षेत्र हो भनेर पहिचान भएका व्यक्ति लिएर जानुपर्छ।”
नेपालमा अनुमानित दुई लाखभन्दा बढीले ट्रेकिङ गर्ने गरेका बताइए पनि यकिन तथ्यांक भने छैन। नेपाल ट्रेकिङको उत्कृष्ट गन्तव्य हो। त्यसैले अहिले पर्यटक बढ्न थालेकाले व्यवसायी हर्षित पनि छन्। नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य एवं कोरियन आल्पाइन फेडेरेसनका नेपाल प्रतिनिधि ङावा ङिमा शेर्पाले मनोरम दृश्य हेर्ने पर्यटकका लागि अहिले उपयुक्त मौसम भए पनि जोखिम भने बढी हुने बताए।
उनका अनुसार यस्तो बेलामा हिमपहिरो आउने सम्भावना हुने हुँदा बिहानै घाम लाग्नुभन्दा पहिला नै गन्तव्यमा पुग्नुपर्ने हुन्छ। “बेलुका चिसोले हिउँ सेट भएको हुन्छ। बिहान १० देखि ४ बजेसम्म हिउँ पग्लिने हुँदा जोखिमपूर्ण हुन्छ। त्यही भएर गाइडले ख्याल गर्नुपर्छ। अनुभवी गाइडको निर्देशनमा हिँड्नुपर्छ,” ट्रेकिङ क्षेत्रका अनुभवी शेर्पाले भने, “अर्को जोखिम भनेको हिउँ परिहाल्यो भने बाटो भुलिन सक्छ, खाल्डोमा पर्न सकिन्छ। कपडा न्यानो लगाउनुपर्छ। खाना त्यहीअनुसार तातो खानुपर्छ र वासस्थानको पनि सोही अनुसार व्यवस्थापन गर्नुपर्छ।”
यो याममा होटलसमेत बन्द गरिने भएकाले राम्रो अध्ययन गरेर होटेल छन्, छैनन् सबै यकिन गरेर मात्रै ट्रेकिङमा जानुपर्नेमा उनको जोड छ। संसारको सबैभन्दा सुन्दर ट्रेकिङ गन्तव्य नै नेपाल भएको शेर्पाको भनाइ छ। अन्नपूर्ण, सगरमाथा, लाङटाङ, मुस्ताङ अनि डोल्पा आकर्षक गन्तव्यका रूपमा रहेको छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले चिसो बढेकाले ट्रेकिङमा जानेहरूले सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ। तराई क्षेत्रमा हुस्सु बढ्न थालेको छ।
शीत लहरसमेत शुरू हुने भएकाले अब हिमाली क्षेत्रको हिमपात, तराई क्षेत्रको शीतलहर र पहाडी क्षेत्रको उच्च चिसोबाट जोगिन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले अनुरोध गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
