नेपालले ६ वटा यू१९ विश्वकप खेल्दा पाँच वटा टेस्ट राष्ट्रलाई पराजित गरेको उदाहरण छ। सन् २०१७ को यू१९ एशिया कपमा समूह चरणमा भारतलाई पनि हराएको थियो। यसपटक नेपाल त्यही सफलता दोहोर्याउने लक्ष्यमा छ।
काठमाडौँ- नेपालले आगामी डिसेम्बर ८ (मंसिर २२) देखि यूएईमा हुने यू१९ एशिया कपका लागि टिम घोषणा गरिसकेको छ। नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। नेपालले पहिलो खेल मंसिर २२ गते पाकिस्तानसँग खेलेर प्रतियोगिताको शुरूआत गर्नेछ। त्यसपछि २४ गते अफगानिस्तान र २६ गते भारतविरुद्ध खेलेर समूह चरण सकाउने छ।
नेपालका प्रतिस्पर्धी तीनै राष्ट्र टेस्ट मान्यता प्राप्त हुन्। यस्तोमा नेपालको लक्ष्य 'सर्प्राइज' जितकै हुनेछ। उमेर समूहको विश्वकपमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराएको उदाहरण पनि छन्। ६ वटा विश्वकप खेल्दा नेपालले दक्षिण अफ्रिका, न्युजिल्यान्ड, आयरल्यान्ड, जिम्बाब्वे र बांलादेशलाई पराजित गरेको छ।
यू१९ एशिया कपमा पनि टेस्ट राष्ट्र भारतलाई हराएको उदाहरण छ। नेपालले सन् २०१७ को यू१९ एशिया कपमा भारतलाई समूह चरणमा १९ रनले पराजित गर्दै सेमिफाइनल पुगेको थियो। यसपटक नेपालले त्यही प्रदशर्न दोहोर्याउने लक्ष्य लिएको कप्तान देव खनाल बताउँछन्।
“भारत, पाकिस्तान र अफगानिस्तानले जुन स्तरमा क्रिकेट खेलिरहेका हुन्छन्, त्यस्तो सिनारियो नेपालमा छैन। तर यसपटक धेरै ठूलो आशा छ,” उनी भन्छन्, “सिनियर होस् या यू१९, सबै जनाले राम्रो गरिरहेका छन्। मेरो कप्तानीमा पनि टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्य छ।”

नेपालले सन् १९९८ देखि उमेर समूहको क्रिकेट खेल्न थालेको हो। तर भारत र पाकिस्तानजस्ता टेस्ट मान्यता प्राप्त छिमेकी राष्ट्रसँग प्रतिस्पर्धा गर्न भने डेढ दशक कुर्नुपर्यो। सन् २०१२ मा मलेसियामा भएको तेस्रो संस्करणको यू१९ एशिया कप खेलेको नेपाल शुरूका तीन प्रतियोगितामा समूह चरणभन्दा माथि उक्लिन सकेन। अधिकांश प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बांलादेशजस्ता देशसँग पराजित भएर बाहिरिएको थियो।
सन् २०१७ मा भने इतिहास रच्दै सेमिफाइनलसम्मको यात्रा तय गर्यो। मलेसियाको क्वालालाम्पुरमा भएको प्रतियोगितामा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपालले समूह चरणमा भारत र मलेसियालाई पराजित गरेको थियो। उक्त टोलीमा रहेका दीपेन्द्रसहित आशिफ सेख, अनिल साह, भीम सार्की, पवन सर्राफ, कमल ऐरी, किशोर महतो र सन्दीप लामिछानेले राष्ट्रिय टोलीमा स्थान बनाइसकेका छन्। रोहितकुमार पौडेल त राष्ट्रिय टोलीको कप्तान नै छन्।
यसपटक टोलीको सन्तुलन मिलेको हुँदा बलियो राष्ट्रसँग परीक्षा हुने कप्तान देव बताउँछन्। “सबै कुरा ठीक छ। गुलशन (झा) आएसँगै टिम ब्यालेन्समा छ। एक जना ओपनर लेफ्टी आएको छ। तीनचार खेलाडी चेन्ज भएको छ। भारत, पाकिस्तानलगायत टेस्ट राष्ट्रसँग खेल्दा हाम्रो क्वालिटी टेस्ट हुन्छ जस्तो लाग्छ,” उनी भन्छन्।
अनुभवी गुलशन यू१९ टोलीमा
गत अक्टोबरमा मलेसियामा भएको एसीसी यू१९ प्रिमियर लिग खेल्दा नेपालले पराजय भोग्नै परेन। समूह चरणमा साउदी अरब, बहराइन र इरानलाई पराजित गरेको नेपालले सेमिफाइनलमा जापानलाई हराएको थियो। फाइनलमा यूएईलाई डर्कवर्थ लुइस नियमका आधारमा १९ रनले हराएर नेपालले एशिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको थियो।
एसीसी यू१९ प्रिमियर लिग खेलेका तीन खेलाडी परिवर्तन गर्दै मुख्य प्रशिक्षक जगत टमाटाले एशिया कप खेल्ने टोली घोषणा गरेका छन्। नेपाललाई विश्वकप र एशिया कपमा पुर्याएका दीपक बोहरा, मिलन बोहरा र दुर्गेश गुप्ता बाहिरिएका छन्।
दीपक विकेटकिपर ब्याट्सम्यान हुन् भने, मिलन बाँयाहाते स्पिनर र दुर्गेश बाँयाहाते मध्यम गतिका बलर हुन्। दीपकको स्थानमा विकेटकिपर तथा बाँयाहाते ब्याटर विपिन रावल टोलीमा परेका छन्। उनले कर्णाली प्रदेशबाट प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगगिता खेलिसकेका छन्। यू१९ छनोट राष्ट्रिय प्रतियोगिता र महेन्द्रनारायण निधि टी२० क्रिकेट प्रतियोगिता खेलिसकेका विपिनले घरेलु प्रतियोगिताका २० इनिङ्समा तीन अर्धशतकसहित ४३३ रन बनाएका छन्।

यसैगरी, मिलनको स्थानमा आएका लेगब्रेक तिलकराज भण्डारी बागमती प्रदेशबाट खेल्छन्। नेपाल टी२० लिग, प्रधानमन्त्री कप र महेन्द्रनारायण निधि टी२० क्रिकेट प्रतियोगिता खेलिसकेका उनले ४१ ओभरमा २५२ रन खर्चिएर १० विकेट लिएका छन्।
दुर्गेशको स्थानमा आएका अलराउन्डर गुलशनसँग भने सिनियर टोलीमा खेलेको अनुभव छ। उनले २४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा २१ र १४ वटा टी२० अन्तर्राष्ट्रियमा १२ विकेट लिएका छन्। तिलक र गुलशनको आगमनले बलिङमा पनि नेपाल बलियो भएको स्पिनर दिपेश कँडेल बताउँछन्। “सिनियर प्लेअर गुलशन दाइ आएपछि टिम ब्यालेन्स भएको छ, आत्मविश्वास पनि बढेको छ। उहाँले सबैलाई सपोर्ट गरिरहनु भएको छ,” उनी भन्छन्।
विश्वकप छनोट खेल्न जानुअघि गत माघ १७ गते पोखरामा बसेको क्यानको बोर्ड बैठकले गुलशनलाई यू१९ को कप्तान बनाएको थियो। तर गुलशनले यूएईमा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको यूएई र पपुवा न्युगिनीविरुद्धको त्रिकोणात्मक ओडीआई सिरिजमा सिनियर टोलीको प्रतिनिधित्व गर्ने भएपछि कप्तानको जिम्मेवारी देवलाई सुम्पिइएको थियो।
गुलशनमा खेल जिताउने क्षमता भएको कप्तान देव बताउँछन्। “उसले बलिङ र ब्याटिङ दुवै डिपार्ट हेर्नुपर्ने हुन्छ। दुई तीन विकेट लिन सक्छ, फसेको कुनै पनि म्याच कुनै पनि ठाउँबाट पनि जित्न सकिन्छ,” उनी भन्छन्।

देव बलिङसँगै सिनियर टोलीबाट ब्याटिङमा पनि योगदान गरिरहेका छन्। उनीसँग यसै वर्ष एशिया कप खेलेको अनुभव पनि छ। उनले गत वर्ष यूएईमा भएको यू१९ एशिया कप पनि खेलेका थिए। उक्त प्रतियोगितामा तीन इनिङ्समा ५५ रन बनाएका उनले २६ ओभर बलिङ गर्दै १ मेडनसहित १४० रन खर्चिएर नेपालका लागि सर्वाधिक ४ विकेट लिएका थिए। यद्यपि, समूह ‘बी’ मा रहेको नेपाल श्रीलंका, बंगलादेश र कुवेतसँग पराजित हुँदै अंकविहीन भएर बाहिरिएको थियो।
सिनियर टोलीबाट आर्जन गरेको अनुभव लिएर आफू उमेर समूहमा फर्किएको गुलशन बताउँछन्। ‘ब्याक टु ब्याक’ भारत र पाकिस्तानजस्ता राम्रो टोलीसँग खेल्न पाउँदा आफूलाई थप प्रमाणित गर्ने अवसर देखेर नै टोलीमा फर्किएको उनी बताउँछन्। “भारत र पाकिस्तान एकदमै राम्रा टोली हुन्। ठूलो मञ्चमा गएर आफूलाई प्रमाणित गर्ने अवसर छ,” उनी भन्छन्, “मलाई केही प्रेसर छैन। सबै खेलाडीको लय तलमाथि भइरहन्छ। क्रिकेट भनेको आत्मविश्वासको खेल हो। यहाँबाट अनुभव लिएर सिनियर टोलीमा राम्रो गर्न सक्छु भन्ने लाग्छ।”
नेपालको यू१९ टोलीले अर्को महिना दक्षिण अफ्रिकामा ५० ओभरको विश्वकप खेल्ने छ। नेपाल रहेको समूहमा पाकिस्तान र अफगानिस्तान दोहोरिने छन् भने, न्यूजिल्यान्ड पनि प्रतिस्पर्धी हुनेछ। उता, सिनियर राष्ट्रिय टोलीले वेस्ट इन्डिज र अमेरिकामा आगामी जुन ४ देखि हुने टी२० विश्वकप खेल्ने छ। पछिल्लो समय लयमा रहेका गुलशन सम्भवत यी दुवै विश्वकपमा हुनेछन्। त्यति मात्र नभई, फागुन ५ गतेदेखि कीर्तिपुरमै हुने लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबिया सम्मिलित त्रिकोणात्मक ओडीआई श्रृंखला पनि हुनेछ। त्यसैले यस प्रतियोगितालाई आफूमा देखिएको कमजोरी सुधार गर्ने मौकाको रूपमा लिएको उनी बताउँछन्।
उत्साहित र तयार छौँ : प्रशिक्षक टमाटा
यू१९ एशिया कपमा टेस्ट राष्ट्र प्रतिस्पर्धी हुने हुँदा सबै जना उत्साहित भएको मुख्य प्रशिक्षक जगत टमाटा बताउँछन्। यसपटक आफ्नो टोली अभ्यास गर्न नभई खेल जित्न जाने उनको भनाइ छ। “भारत, पाकिस्तान र टेस्ट राष्ट्र भनेपछि भित्रबाट एक्स्ट्रा इनर्जी आउँछ, जोश फरक हुन्छ। केटाहरूमा त्यो देखिइरहेको छ। सबैको माइन्ड सेटअप छ, केके गर्नुपर्छ भनेर। हामीसँग ठूला टोलीलाई हराउने मौका छ,” उनी भन्छन्।
शुरूमा एशिया र विश्वकप श्रीलंकामा हुने तय थियो। तर क्रिकेट संघमा सरकारको हस्तक्षेप भएपछि श्रीलंकाली क्रिकेट बोर्डलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निलम्बन गर्यो। आईसीसीले श्रीलंकालाई क्रिकेट खेल्न दिने निर्णय गरे पनि आयोजनाको अधिकार खोस्यो। त्यसैले एशिया कप यूएई र विश्वकप अफ्रिकामा सारिएको हो।

श्रीलंकाको लागि तयारी गरे पनि भेन्यू परिवर्तन हुँदा टोलीमा असर पर्ने हुँदा टमाटा चिन्तित छन्। १५ दिन बन्द प्रशिक्षण भए पनि अन्य राष्ट्रसँग श्रृंखला खेल्न पाएन। मूलपानी र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरेको यू१९ टोलीले सिनियर टोलीसँग चार अभ्यास खेल खेलेको थियो। नेपालसँग सीमित स्रोत र साधन भएको कारण पनि थप तयारी गर्न असहज भएको टमाटाको भनाइ छ।
“हामीले तयारी श्रीलंकाको लागि गरिरहेका थियौँ। तर त्यहाँ भइदिएन। दक्षिण अफ्रिकाको कन्डिसन अलिकति फरक छ। विश्वकपको लागि असर पार्ला भन्ने चिन्ता छ। त्यसैले सचिव (पारस खड्का)सँग छलफल गरिरहेका छौँ,” उनी भन्छन्।
नेपालको मजबुत पक्ष स्पिन बलिङ हो। सिनियर होस् या जुनियर दुवै टोलीले प्राय: खेल स्पिन बलिङकै माध्यमबाट जितेको इतिहास छ। यसपटक नेपालले तीन स्पिनर लिएर यूएई जाँदैछ। नेपाली टोलीमा सुवास भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले 'स्पिन डपार्ट' सम्हाल्ने छन्। दीपेश पछिल्लो समय उत्कृष्ट लयमा छन्। उनले प्रिमियर कपमा पाँच खेलमा १८ विकेट लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
