सुरवीर भनेर चिनिएका नेपालीहरू आज सुरक्षा गार्डको हैसियतमा रहनुचाहिँ दुःखको कुरा हो, कुनै बेलाका वीरको देशको सीमाका दर्जनौँ ठाउँमा घुसपैठ भएको छ। सीमाका संकेतहरू नै भत्काइएका छन्।
'खुकुरी देखेर बैरी तर्से' भन्ने खालका राष्ट्रियताका बिम्ब धेरै पुराना भइसके, तैपनि एउटा यस्तै सन्दर्भ उल्लेख गर्न चाहेँ। २०२६ माघमा राष्ट्रिय सेवा दलको तालिममा रहँदाको क्रममा भारतीय स्वतन्त्रता दिवसको निम्ता मान्न पटना-डिल्ली रेलबाट भारततर्फ जाँदा, हामी सेवा दलवालाहरूले पेटीमा खुकुरी झुन्ड्याएको केही भारतीय युवाले देखे र सोधे, 'वो क्या है, कुक्कुरी तो नहीं?' उनीहरूलाई देखाउने आशयले एक युवाले दापबाट खुकुरी निकाल्न खोजे, तर हतियारबाट तर्सेर हो या अन्य कुनै कारण, उनीहरूले 'नहीं, नहीं, नहीं' भनेर तर्सेझैँ गरे।
खुकुरी र नेपाली जातिको सम्बन्धबारे भारतीयदेखि बेलायती तथा अन्य मुलुकका मान्छेबीच पनि चर्चा हुन्छ। सोही पुरानो चर्चा/कथाकै कारण होला, अहिले पनि पर्यटकहरू उपहारका रूपमा खुकुरी किनेर आफ्नो देश लैजान्छन्। पर्यटकीय क्षेत्रमा खुकुरीकै 'डेडिकेटेड पसल'हरू समेत छन्। नेपाली सुरवीर चरित्रकै कारण अंग्रेजले आफ्नो सेनामा प्राथमिकता दिए, तब बेलायती लाहुरे, मलाया र भारतीय लाहुरे आदी बनेI विभिन्न देशका ठुला राजारजौटाका सुरक्षा टोलीमा अहिले पनि गोर्खाली सेनाकै बाहुल्यता यद्यपि छI यति सुरवीर भनिएको नेपाली आज केबल सुरक्षा गार्डकै हैसियतमा रहनुचाहिँ दुःखको कुरा हो, किनभने कुनै बेलाका वीरको देशको सीमाका दर्जनौँ ठाउँमा घुसपैठ भएको छ। सीमाका संकेतहरू नै भत्काइएका छन्।
सोही कारण नेपालीहरू सीमाहरूमा अफ्ठेरामा परिरहन्छन्I सीमाविद् भैरव रिसाल, विज्ञ बुद्धिनारायण श्रेष्ठ, प्रशासक सूर्यनाथ उपाध्याय तथा द्वारिकानाथ ढुंगेल लगायत अनगिन्ती व्यक्तिहरूले सीमा समस्याबारे अनेकौँ मञ्चमा प्रकाश पार्ने गरेका छन्I यद्यपि, समस्या ज्युँका त्यूँ छ। नेपालको दुई छिमेकी मित्रराष्ट्रहरूसँगको सन्तुलित र सुमधुर सम्बन्ध धेरै समयदेखि रहिआएको हो। तर विविध कारणले आजकाल भारत वा चीन नै नेपालसँगको सम्बन्धमा अप्ठ्यारो परेको संकेत गरिरहेका छन्।
दुवै मित्र राष्ट्रका आँखामा नेपाल कहिले भारत नजिक हुन खोजेको देखिएको छ, कहिले चीन। यस्तो विडम्बनाबाट देश मुक्त हुनुपर्छI छिमेकी फेरबदल गर्न सकिन्न, तर छिमेकीसँग मिलेर आरामसँग बस्न सकिन्छI देश चलाउनेहरूमा देशप्रेम, सन्तुलित परराष्ट्र नीति, व्यवहारमा सन्तुलन र देश विकास गर्ने दूर दृष्टि हुँदो हो त विदेशीले हामीलाई गर्ने व्यवहार यति होचो अर्घेल्याइँपूर्ण हुने थिएन होला। खासगरी आर्थिक रूपमा हामी छिमेकीभन्दा समृद्ध भएको बखत हामी हेपिने थिएनौँ।
भन्नलाई भारतका नेता, विद्वत र व्यापारीहरू 'नेपालसँग 'रोटी बेटी'को सम्बन्ध छ, हाम्रो भूगोल, धर्म र रीतिरिवाज एउटै छ' भन्छन्। पशुपति र मुक्तिनाथ क्षेत्रलाई मोक्ष धामका रूपमा चित्रण गर्दै घुम्न पनि आउँछन्, र नेपाल र भारत सम्बन्धलाई लिएर 'हामी भाइ भाइ' भन्नसमेत पाउँछन्, तर व्यवहार त्यस्तो देखिन्न। सूर्य अनलाइन २०७९/३/२८ मा डीआर उपाध्याय लेख्छन्, 'राजनीतिको फाइदा उठाउँदै सीमा मिच्ने, परनिर्भरता बढाउन जोड गर्ने, सानो देश भनेर हेप्ने, अनावश्यक चासो लिने, सीमामा नेपालीलाई दुर्व्यवहार गर्ने र भारतको 'ठुल्दाइ' प्रवृत्ति हाबी छI'
उसो त सांस्कृतिक रूपमै पनि नेपाल भारतको रहेको दाबी गर्दै कतिपय भारत कलाकार र धार्मिक 'बाबा' पनि अभिव्यक्ति दिन्छन्। भारतीय सिनेमा 'आदिपुरुष' का लेखकले नेपाल भारतकै अंग भनेको प्रसंग होस् या केही पहिले विवादित 'बागेश्वर धाम बाबा' नामक युवाले नेपालभित्रै छिरेर नेपाल भारतको अंग भनेको विषयले कतिपय भारतीयले नेपालप्रति राख्ने सोच प्रस्टिन्छ। धेरैजसो भारतीय राजनीतिज्ञ पनि हुबहु यस्तै खाले मान्यता राख्छन्I अनेक कारण देखाएर भारतले नेपालमा बेलाबेला नाकाबन्दीसमेत गर्यो, हेपाहा प्रवृत्ति देखायो।
नेपाल र भारतबीचको खुला सिमानाका कारण नेपाललाई भन्दा भारतलाई अनन्त गुणा बढी लाभ छI त्यसमाथि बेलाबेला सीमामा 'द्वन्द्वकालको झल्को' भेटिन्छ। यताबाट उपचारका लागि भारततर्फ उपचारका लागि बिरामी लैजाँदासमेत परिचय नभएको भन्दै फर्काइएका दृष्टान्त छ। तर यसै गरी बिना सूचना भारतीय नागरिकमाथि नेपालले रोक लगाउन सकोस् त!
हालै भारतले धान निकासीमा रोक लगायो। आफू अनुकूल यस्ता निर्णय बारम्बार उसले गर्छ। यसले नेपालमा के असर पर्छ, त्यो सोचनीय छI यही महिनाकै खबर हो, भारतबाट ल्याइएका मरेका कुखुरा भान्सामा पुगे। गृहमन्त्रीकै अगाडि सो कुरा बताइयो, तर त्यसबारे छानबिन कसलाई गर्ने? को दण्डित हुने? यी सबै खुला सिमानाका परिणति हुन् र खुला सिमानामा बन्देज लगाइनु आवश्यक देखिन्छ। किनकि अधिकांश साधारण नेपाली भारतीय सीमाहरूमा अति अपहेलित हुँदै, अनावश्यक घुस ख्वाउँदै, आफूले कमाएको लुटिँदै नेपाल भित्रिनु पर्ने अवस्था विद्यमान छI हिमालप्रेसडटकमका २०८०/२/११ मा सूर्यनाथ उपाध्याय 'भारतीय सीमामा पर्खाल लगाउन सकिन्छ, १९५०को सन्धिले रोकेको छैन।'
युनाइटेड नेसन्सले सन् २०२३ जुलाईसम्म अनुमान गरेको तथ्यांकअनुसार भारतको जनसंख्या अरब ४२ करोड ८६ लाख २७ हजार ६६३ र नेपालको जनसंख्या तीन करोड नौ लाख १८ हजार १३० रहेछI अब विचार गरौँ, कुनै कलकारखाना, ठूला उद्योगधन्दा वा विकसित खेतीपाती नभएको नेपाल र त्यत्रो ठूलो जनसंख्या, विशाल कलकारखाना, उद्योगधन्दा र उल्लेख्य उत्पादन गर्ने भारतबीच खुला सिमानाको सुविधा कुन देशलाई बढी होला?
नेपालका हिमालजति सबै उत्तरतर्फ छन्। केही हदसम्म अग्ला हिमालले नै सीमाको काम गरेकोले पनि पूर्व-दक्षिण-पश्चिमजति उत्तरतिर समस्या छैनI नेपालको उत्तर सीमामा चीनको तिब्बत क्षेत्र पर्छI नेपालको सिमाना नजिक यस भूभागमा बस्ती पनि पातलो र टाढा टाढा छI त्यसैले पनि हो कि दक्षिणको जस्तो घच्चमच्च नेपालको उत्तर सीमामा छैनI
दशगजा आदि छुट्याएर, त्यो छुटाएको स्थानमा दुवै देशका मानिस एक अर्कातिर नपस्ने भन्ने नियम संसारभर बाँधिएको हुन्छI यी सबै दुवै देशका मानिस अनधिकृत आवतजावत नगरुन् भनेर गरिन्छI जतिसुकै 'रोटी बेटी' र भाइचाराको सम्बन्ध किन नहोस्, आखिर दुई देशका मानिस छुट्टाछुट्टै देशका अलगअलग नागरिक हुन् भन्ने कुरा बिर्सिनु हुँदैन। व्यक्ति व्यक्तिको त जग्गाको साँध सिमाना कित्ताकाट गरेर राज्यबाट व्यवस्थित गरिएको हुन्छ भने, देश-देशबीचको सिमाना त अझ पक्का गरेर व्यवस्थापन गरिनु नै पर्छI
तसर्थ, आज होस् वा भोली, दुई देशबीचको सिमानामा कुनै खालको बन्देज आवश्यक छ। साँध सिमानामा छेकबार मात्रले पनि पुग्दैन, अनधिकृत व्यक्ति एक जना पनि नेपाल छिर्न नसकुन् भन्ने प्रत्याभूति हुनै पर्छ, किनकि भारत वा चीनका एक एक प्रतिशत मानिस नेपाल कुनै तरिकाले पसेमा र नेपाली त्यसै गरी भारत वा चीनमा एक एक प्रतिशत गएमा त्यसले कसले समस्या खडा गर्ला?
देशका राजनीतिज्ञहरूसँग यदि यस दिशामा अघि बढ्ने हो भने कम्तीमा खाद्यवस्तु उत्पादनको क्षेत्रमा र ऊर्जा क्षेत्रमा त केही गर्नै पर्छ। विशाल जलश्रोतको सदुपयोग गर्दै नहरहरूको व्यवस्था गरेर आधुनिक विकसित चाक्लाबन्दी तीन बाली भित्र्याउने खेती प्रणाली र देशमा अन्न भण्डार भर्ने नीति बनाएर अघि बढ्नुपर्योI त्यस्तै, आजका दिनमा यातायात इन्धनमा नेपालको ठुलो धनराशि व्यय हुने रहेछI
सोको न्यूनीकरण गर्न हाल नेपालमा भएका १० वर्षभन्दा पुराना सबै साधनलाई विद्युतीय शक्तिबाट चल्ने गरी रूपान्तरण गर्न एउटा बृहत् परियोजना बनाएर अघि बढौँI विश्व बैंक, यूएसएआईडी, जाइका वा यस्तै ठूला संस्थाहरूको सहयोग लिएर सात प्रदेशमा सात वटा मोटर रूपान्तरण गर्ने कारखाना स्थापना गरी अघि बढ्दा कम्तीमा दुई क्षेत्रमा परनिर्भरता घट्दै जान्छI
त्यस्तो अवस्थामा नेपालको विद्युत् सागको मूल्यमा भारत वा बंगलादेशमा बेच्न गुहार गर्नु पनि पर्दैनI सेथ बोर्नेस्टाइन एपीन्युजडटकममा २ अगस्ट, २०२३मा लेख्छन्- जलवायु परिवर्तनको मारले होला, यस वर्षको जुलाई महिनालाई विश्वमा प्रायजसो मानिसले आजसम्मको बढी गर्मी महिना ठानेI यसबाट थाहा हुन्छ जीवाश्म इन्धन र अन्य मानवीय क्रियाकलापले बढ्दै गएको पृथ्वीको तापक्रम। इन्धनबाट निस्कने बायु प्रदूषणबाट राहत पाउन सके, फाइदै फाइदा हुन्छI नेपालको बिजुली प्रसारण लाइन समयमा नबनेको आदि कारणले विद्युत् खेर गइरहेको समेत समाचार आइरहेका बेला हामीले छिटै विद्युत्मा आत्मनिर्भर भई परनिर्भरतासमेत घटाउँनुछ।
नेपाल भारतका सीमा पहिलेदेखि नै बन्द गरिएको हुन्थ्यो भने नाका भन्सार क्षेत्रबाट बाहेक कुनै मानिस छिर्न नपाउने कडा बन्दोबस्त हुन्थ्यो, भन्सारबाट सामान आयात निर्यात हुँदा बिल बमोजिमको लाग्ने दस्तुर तिरेर मात्र सामान जाने आउने हुन्थ्यो, घुषखोरी नितान्त नियन्त्रणमा रहन्थ्यो। नेपालभित्र उद्योगधन्दा फस्टाएका हुन्थे, कम्तीमा ज्यालादारी मजदुरीका लागि नेपालीहरू भारत जानुपर्ने अवस्थाको अन्त्य हुन्थ्यो भने भारतीय सीमामा वा भारतका अन्यत्र स्थानहरूमा पनि सहजै नेपाली अपहेलित हुने थिएनन्I अतः नेपाली मौलिक अर्थतन्त्र बनाउन र नेपालीको स्वाभिमानका लागि दक्षिणतर्फको सिमाना पनि बन्द गरिनुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
