सुनसान बन्यो कटारी बजार, पलायन भए व्यावसायी

सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी जिल्ला आउजाउ गर्न सडक सजिलो भयो। गाईघाटबाट खोटाङ पनि जोडिएपछि कटारी बिस्तारै टोले बजारमा परिणत भयो। 

कटारी– कुनै समय पहाडका तीन जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको भाँडावर्तन, अन्नपात र  मरमसला किन्ने थलो, थियो कटारी बजार।

सडक थिएन, यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामाग्री ढुवानी हुन्थे। पहाडबाट आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किँदा ढाक्रेहरूले साहुका सामान बोकेर जान्थे। ‘‘त्यतिबेलाको बजार त गुल्जार थियो,’’ २०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साह भन्छन्, “अहिले त चरोमुसो पसलमा आउँदैनन्।”

उदयपुरको कटारी ऐतिहासिक बजारमा रूपमा परिचित छ। साह सिरहाको बन्दिपुर हुँदै कमलाखोलाको बाटो अभिभावकसँग कटारी आइपुगेका थिए। ‘‘बाटो थिएन मधेशका व्यापारी कमला खोलाको किनारैकिनार व्यापार गर्न आएका थिए,’ उनी भन्छन्, ‘‘धनुषा, सिरहा, सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारीहरू आउँथे।’’ 

कटारी बजार सगरमाथाको द्वारको रूपमा पनि परिचित थियो। सगरमाथा चढ्नका लागि तेन्जिङ शेर्पा र एडमन्ड हिलारी कटारी बजारकै बाटो गएको बुढापाका बताउँछन्। 

२०५० सालसम्म कटारी बजार व्यस्त बजार थियो। बिस्तारै सडक निर्माण सुरु भयो। मिर्चैया कटारी हुँदै २०५४ सालमा कटारी–घुर्मी–ओखलढुंगा सडकको ट्रयाक खुल्यो। पूर्वमन्त्री स्व बलबहादुर राईको पहलमा यो सडक नेपाली सेनाले निर्माण गरेको थियो।

सडक निर्माणसँगै पहाडी जिल्लामा सामग्री ढुवानी सहज त भयो तर त्यसपछि यो सडकले स्तरोन्नति हुन पाएन। मिर्चैया–कटारी २६ किमी र कटारी–घुर्मी ४४ किमी सडक जीर्ण भएका कारण मानिस हिँड्न नै डराउन थालेको ओखलढुंगा स्थायी घर भई कटारीमा रोजगारी गर्दै आएका शुभराज राई बताउँछन्। ‘‘बीच बाटोबाट फर्किनुभन्दा सिन्धुलीबाट घुमेर जानु सजिलो ठानी मानिसहरू त्यतैबाट हिँड्न थाले,’’ उनले भने।

सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो। गाईघाटबाट खोटाङ पनि जोडिएपछि कटारी बिस्तारै टोले बजारमा परिणत भयो। 

तराईका जिल्लाबाट कटारी हुँदै पहाडी जिल्ला जानुपर्ने बाध्यता हट्यो। बाटो छोटो भए पनि स्तरोन्नति नहुँदा आउजाउ नै कष्टकर हुने भएपछि मानिसहरू सिन्धुलीबाट घुमेर जान थाले। कटारीका होटेल व्यावसायी प्रताप राई भन्छन्, ‘‘मदन भण्डारी राजमार्ग जोडिएकाले झिनो आशा मात्रै कायम छ, नत्र बजार सुकिसक्यो।’’

कुनै समयको गुल्जार बजारमा अहिले ग्राहक नै नभएको उदयपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष अरुण साह बताउँछन्। भन्छन्, ‘‘व्यापारीहरू अन्यत्र पलायन थालिसके, बजारमा किनमेल छैन। ग्राहक नै नभएपछि बजार सुनसान हुने नै भयो,’’

विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित हाट थियो। अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले बिर्सिसकेका छन्। बजारको पहिचान कायम राख्न नगरपालिकाले कार्यविधि बनाएर कृषि उपज केन्द्रमा शुक्रबार हाट लगाउन थाले पनि हाटमा ग्राहक र व्यापारीको चासो नदेखाएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।