काठमाडौँमा संयुक्त सैन्य अभ्यास हुँदै, अमेरिकी सैनिक टोली बिहीबार आइपुग्ने

संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ।

काठमाडौँ– नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रुपमा संचालन हुँदै आएको संयुक्त सैन्य अभ्यास आइतबारदेखि काठमाडौँमा शुरू हुने भएको छ। यो सैन्य अभ्यास आउँदाे असोज १२ गतेसम्म सञ्चालन हुनेछ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ‘जोइन्ट कमाण्ड एक्सचेन्ज ट्रेनिङ’को यो ४० औँ संस्करण हो। संयुक्त अभ्यासमा नेपाली सेनाका ३० र अमेरिकी सेनाका १२ जनासमेत जम्मा ४२ जना सहभागी हुनेछन्। अभ्यासमा सहभागी हुने अमेरिकी सैनिक बिहीबार काठमाडौँ आइपुग्ने निर्देशनालयले जनाएको छ। अमेरिकी वायुसेनाको विमानबाट आएर उनीहरु असोज २२ गते सोही विमानमा फर्कनेछन्। संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ।

नेपाली सेनाले अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायललगायत देशका सैनिकहरूसँग  संयुक्त अभ्यास आदानप्रदान गर्दै आएकाे छ। खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा बहन गर्नुपर्ने भूमिकालगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ।