अहिले चन्द्रयान अवतरण गरेको ठाउँको अक्षांश झन्डै ७० डिग्री दक्षिण हो। दक्षिणी ध्रुवबाट करिब ६०० किलोमिटर उत्तरमा अवस्थित यसलाई दक्षिणी ध्रुव भन्नु पोखरालाई नयाँ दिल्ली भन्नुजस्तै हो।
सुन्दर प्रकृतिका जटिलता पहिल्याउन र बुझ्न प्राचीन समयदेखि नै मानिसले आफूसँग उपलब्ध ज्ञानका आधारमा ब्रह्माण्डको 'मोडल' तयार गर्दै गयो। दिउँसो देखिने सूर्य, रात परेपछि देखिने चन्द्रमा र ताराहरूले भरिएको सुन्दर र मनमोहक आकाशले मानिसलाई सधैँ मुग्ध बनाइरह्यो। आकाश पृथ्वीको वरिपरि पूर्वबाट पश्चिमतिर घुमिरहेको प्रत्यक्ष देखिन्थ्यो। आकाशको यो मोडल बुझ्न सरल थियो, तर अझ सूक्ष्म तरिकाले हेर्दा सूर्य, चन्द्रमा र अरू दुई–चार वटा पिण्डहरूको गति सम्पूर्ण आकाशको गतिको तुलनामा त्यति सरल थिएन।
यी पिण्डहरू सम्पूर्ण आकाशको गतिभन्दा अलि फरक किसिमले हिँड्थे। मानव जातिका पुर्खाले यी पिण्डलाई छुट्टै अस्तित्व भएका मानेर 'ग्रह' नाम दिए। आकाशको सरलतामा यी पिण्डहरूको गतिले निकै जटिलता थपिदिएका थिए। त्यसपछि यस्तो टेढोमेढो गतिलाई व्याख्या गर्न पूर्वजहरूले विभिन्न गणितीय मोडल बनाए। यस्ता मोडल निर्माणमा धेरै विचारक र विद्वानहरूको प्रयास लागेको हुन्छ, तर श्रेयचाहिँ यसलाई लिपिबद्ध गर्दै सिलसिला मिलाएर प्रकाशन गर्नेले पाउँछ। पश्चिममा यस्तो मोडल बनाउने श्रेय 'टोलेमी'लाई दिइन्छ र त्यस मोडललाई पृथ्वीकेन्द्रित मोडल भनिन्छ।
आकाशमा देखिने त्यस्ता पिण्डहरूबाट मान्छेहरू अचम्मित थिए। तिनले ती पिण्डलाई असाधारण र अवर्णनीय विषय ठाने, देवीदेउताको रूप दिएर पूजाआजासमेत गर्नथाले। तर पिण्डहरू केबाट बनेका र कस्ता होलान् भन्ने विषय रहस्यको गर्भमा नै रह्यो। पृथ्वीलाई ब्रह्माण्डको केन्द्रमा राखेर यी ग्रहहरूको गतिलाई व्याख्या गर्ने गणितीय सूत्र निकै जटिल थिए। सूर्यलाई ब्रह्माण्डको केन्द्र मान्ने हो भने ग्रहहरूको गतिको व्याख्या सहज हुनेछ भन्ने कुरा पछि पत्ता लाग्यो। यसको श्रेय पश्चिमी विश्वले कोपर्निकसलाई दियो।
जब आकाशीय पिण्ड धर्तीमा ओर्ले
सूर्यलाई केन्द्रमा राखेर बनाइएको ब्रह्माण्डको मोडललाई अंग्रेज वैज्ञानिक सर आइज्याक न्युटनले गणितीय रूपमा दह्रो व्याख्या गरे। उनको व्याख्याले सैयौँ वर्षदेखिका रहस्यमयी पिण्डहरू समेत हाम्रै पृथ्वीजस्तै रहेछन् र यिनको बनोट पनि पृथ्वीजस्तै तत्त्वहरूबाट बनेको हुनुपर्छ भन्ने अनुमान लगाउने बाटो खोलिदियो। सो तथ्यले पहिले देउताका रूपमा पुजिएका आकाश वा स्वर्गमा विराजमान यी रहस्यमयी पिण्डहरूलाई एकैचोटी यथार्थको धरातलमा ल्याएर खसालिदियो। आकाशीय पिण्डलाई रहस्यका रूपमा व्याख्या गर्दै त्यसमार्फत फाइदा उठाउँदै आएका धर्माधिकारीहरूलाई त्यसले निकै ठूलो झट्का र चोट दियो। सत्यले अज्ञान र अन्धविश्वासको शासन हल्लाएको क्षण थियो त्यो।
समय क्रमसँगै विभिन्न आकाशीय पिण्डहरूको टाढाबाट अवलोकन गरेर मात्र मानिसको जिज्ञासु मन शान्त भएन। ती पिण्डहरूसम्म नै पुग्ने वा नजिकबाट हेर्ने चाहना तिनमा निरन्तर बढ्दै गयो। मानव सभ्यताको शुरूदेखि नै रहस्य र देवताका रूपमा पुजिँदै आएका चन्द्र र सूर्य आकारमा निकै ठूला देखिएकाले पनि तिनबारे बढी चाख हुनु स्वाभाविक हो।
आँखाले हेर्दा प्रकृति जति सुन्दर छ, नबुझ्दा त्यो त्यति नै रहस्यमयी र जटिल छ। तर विज्ञानले एकपछि अर्को गर्दै त्यस्ता रहस्यको उद्घाटन गर्दै आएको छ। सूर्य र चन्द्रमाको वास्तविक आकार, प्रकार र बनावटमा निकै ठूलो अन्तर भए पनि पृथ्वीबाट देखिँदा उस्तै–उस्तै पिण्डहरू पो हुन् कि भन्ने भान पर्ने गरी ब्रह्माण्डमा अवस्थित छन्। सूर्यको वरिपरि पृथ्वी घुम्छ, अनि पृथ्वी वरिपरि चन्द्रमा। ब्यासको हिसाबले चन्द्रमाभन्दा सूर्य करिब चार सय गुणा ठूलो छ। तर आकाशमा दुवै झन्डैझन्डै एउटै आकारका करिब (१/२डिग्री) का देखिन्छन्। यति फरक आकारका पिण्डहरू पनि उत्रै देखिनु प्रकृतिको सुन्दरतामा लुकेको रमाइलो तथ्य हो।
यसो हुनुको कारण सूर्य चन्द्रमाभन्दा जति गुणा ठूलो छ, ठ्याक्कै त्यति नै टाढा दूरीमा अवस्थित हुनु हो। दिउसो र राति लुकामारी खेलेझैँ देखिने यी दुई पिण्डहरू अनि दिनैपिच्छे फरक–फरक रूप देखाउने शीतल चन्द्रमाले मानिस मात्र होइन, जनावर, चराचुरुङ्गी, वनस्पति र समुद्रलाई समेत मन्त्रमुग्ध बनाएको हुन्छ।
अन्तरिक्षको अन्वेषण गर्ने र सबैभन्दा नजिकको आकाशमा अन्य पिण्डहरूको तुलनामा सबैभन्दा तीव्र गतिमा विचरण गरेको देखिने अनि दिनदिनै रूप बदल्ने भएकोले मानिसको पहिलो प्राथमिकतामा चन्द्रमा पर्नु स्वाभाविकै हो। प्राविधिक हिसाबले अन्य ग्रहका तुलनामा चन्द्रमा पृथ्वीबाट यात्रा गर्नसमेत सहज पिण्ड हो। त्यसो हुँदाहुँदै पनि चन्द्रमामा पुग्न सहज थिएन। त्यहाँसम्मको यात्रा गर्न धेरै प्राविधिक समस्या एक एक गरेर समाधान गर्नुपर्ने हुन्थ्यो।
स्पुत्निकदेखि चन्द्रयान
आकाशमा युगौँदेखि उडिरहेका चराचुरुंगी देखेको मानिसले मानव निर्मित विमानमार्फत हावामा तैरँदै आकाशमा उड्न सम्भव रहेछ भन्ने कुरा १९०३ मा बुझिसकेका थिए। तर हावा नभएको अन्तरिक्षमा कुनै तरिकाले जान सकिएला कि नसकिएला भन्ने कुरा रहस्यमै थियो। रकेटका सहायताले अन्तरिक्षमा जान सम्भव छ भन्ने कुरा सन् १९५७ मा पहिलो पटक सोभियत अन्तरिक्ष यान 'स्पुत्निक'ले देखाइदियो। रुसी भाषामा उपग्रहलाई स्पुतनिक भनिन्छ।
त्यसपछि अन्तरिक्षमा मात्र होइन, चन्द्रमालगायत अन्य पिण्डहरूमा समेत यानहरू पठाउन सकिने रहेछ भन्ने ठहर भयो र यानहरू पठाउने लहर शुरू भयो। चन्द्रमामा यानहरू पठाउने कार्यमा सोभियत संघ, अमेरिका, चीन र हालै मात्र भारतले सफलता हासिल गरिसकेका छन्। तीमध्ये कति मानवसहितका यान छन्। भारतले अहिले चन्द्रमामा मानवरहित यान उतारेको हो।
भारतमा ज्ञान परम्परा
विशिष्ट भौगोलिक अवस्थितिले गर्दा प्राचीन समयदेखि नै भारतको भूमि ज्ञान विज्ञानलगायत अन्य भौतिक समृद्धिका लागि निकै अनुकूल थियो र छ। प्राचीन कालदेखि नै प्रकृतिका रहस्यहरूप्रति चिन्तन मनन गर्ने अभ्यास भारतमा परम्पराकै रूपमा रहेको देखिन्छ। चिन्तन–मननको कुरा गर्दा यसका दुइटा पाटा हुने गर्छन्। एउटा रहस्यहरूको खोतलखातल गरेर गुत्थी सुल्झाउनु हो भने अर्को, प्राप्त ज्ञान भाबी पुस्तामा हस्तान्तरण गर्नु हो।
पहिलो पाटोमा भारतीय परम्परा सबल देखिन्छ, तर दोस्रोमा निकै कमजोर। कतिपय प्राचीन भारतीय ग्रन्थमा 'ज्ञानका कुरा सबैलाई नबताउनु, शिक्षक या ज्ञाताले कुनै विषयको रहस्य सबैभन्दा उत्तम एक शिष्यलाई मात्र बताउनु, कुनै एउटा जातिको मानिसलाई मात्र बताउनु'जस्ता कुरा लेखेको पाइन्छ र यसले ज्ञानलाई बढी धार्मिक अन्धविश्वासतर्फ मोड्न सहयोग पुर्यायो।
जसले गर्दा एउटा पुस्ताले आर्जेको ज्ञान अर्को पुस्तासम्म लिखिरलिखिर पुग्ने त भयो, तर प्राप्त ज्ञानको समयानुकूल परिमार्जन र त्यस ज्ञानलाई थप समृद्ध गर्ने कामचाहिँ लगभग ठप्पै रह्यो। त्यसमाथि पनि लेख्ने र छाप्ने सामग्रीको अभावले गर्दा अधिकांश ज्ञान सामग्री श्रुति र स्मृति (सुनेर र सम्झेर) बाट मात्र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भए। सुनेर र सम्झेर कति नै ज्ञानको 'शुद्धता' कायम रहन सक्ला! यी कारणहरूले भारतीय ज्ञान विज्ञान शताब्दियौँसम्म खास परिवार, वर्ग र समुदायको सीमित घेरामा संकुचित रह्यो। भारतीय ज्ञान र विज्ञानले साँच्चिकै संरक्षण र प्रवर्द्धन आधुनिक छापाको विकासपछि मात्र हुन पायो।
परम्परागत भारतीय ज्ञान, विज्ञान र शिक्षा प्रणाली ऐतिहासिक रूपमा महत्त्वपूर्ण भए पनि आधुनिक विश्वका जल्दाबल्दा समस्या समाधान गर्न र मानिसको जीवन सुधार्न काम लाग्ने स्तरका थिएनन्। यता, संसार भ्रमण र उपनिवेशमार्फत पश्चिमाले ज्ञानका क्षेत्रमा समृद्धि हासिल गर्दै थिए। पश्चिमी संसारमा विकसित भइरहेका ज्ञानका पद्धति निकै व्यावहारिक र समयानुकूल थिए।
भारतमा अंग्रेजले शासन गर्न थालेपछि प्राचीन भारतीय ज्ञानलाई व्यवस्थित गर्ने र आधुनिक शिक्षा प्रणालीलाई भारतीय शिक्षा प्रणालीमा समाहित गर्ने सन्दर्भमा निकै ठूला काम भए। विशुद्ध गुलामहरू जन्माउने ध्येयले अंग्रेजहरूले भारतमा आधुनिक शिक्षा पद्धति लागू गर्न खोजेका भए तापनि त्यसले अन्ततः आधुनिक ज्ञानको विशाल ढोका खोलिदियो।
विज्ञानको फड्को र दुष्प्रचार
भारतले गत बुधबार चन्द्रमामा चन्द्रयान-३ अवतरण गराएर ज्ञान विज्ञानको क्षेत्रमा निकै राम्रो र सह्रानीय फड्को मारेको छ। नेपालको असल छिमेकीका हिसाबले र सामाजिक, सांस्कृतिक र आर्थिक सामीप्यले गर्दा त्यसको प्रत्यक्ष असर हामीले पनि प्राप्त गर्न सकिने भएकोले भारतको प्राप्तिसँगै हामीलाई पनि गर्व लाग्नु स्वाभाविक हो।
तर कतिपय भारतीय मिडिया र धर्मान्धहरू भने भौतिक विज्ञानको यस सफलतालाई केबल धर्म र धर्मशास्त्रहरूको सफलताको रूपमा चित्रण गर्दैछन्। विज्ञानको यो महानतम् सफलतालाई धार्मिक रङ दिन खोज्दैछन्। जबकि, इस्रोले चन्द्रमामा यान पठाउने सिद्धान्त र नासाले यान पठाउने सिद्धान्त एउटै हो। कुनै मन्त्र, अदा या हवनका कारण चन्द्रयानले चन्द्रमा चुमेको होइन।
चन्द्रमाको सतहमा यान उतार्नु आफैँमा निकै ठूलो उपलब्धि हो, तर पनि कतिपय मिडियाले इतिहासमै पहिलो पटक दक्षिणी ध्रुवमा यान उतारेको भन्दै गलत रिपोर्टिङसमेत गर्न भ्याए। चन्द्रमाको सतहमा यान अवतरण गराएर भारतले अन्तरिक्ष विज्ञानको क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ। तर अवतरण गरिएको क्षेत्र चन्द्रमाको दक्षिणी क्षेत्रमा भए पनि दक्षिणी ध्रुवचाहिँ होइन।
वैज्ञानिकहरूले पृथ्वीको कुनै स्थान जनाउन भौगोलिक अक्षांश र देशान्तरको सहायता लिएजस्तै चन्द्रमामा पनि त्यस्तै काल्पनिक रेखाको अवधारणा प्रयोग गर्छन्। यसअनुसार चन्द्रमाको उत्तरी ध्रुव र दक्षिणी ध्रुवको अक्षांश क्रमशः ९० डिग्री उत्तर र ९० डिग्री दक्षिण हुन्छ। अहिले चन्द्रयान अवतरण गरेको ठाउँको अक्षांश झन्डै ७० डिग्री दक्षिण हो।
यो स्थान दक्षिणी ध्रुवबाट करिब ६०० किलोमिटर उत्तरमा अवस्थित छ। मोटामोटी रूपमा यो भनेको नेपालको पोखरा पुगेर भारतको नयाँ दिल्ली पुगेको भनेजस्तै हो। यति टाढाको विन्दुलाई उल्लेख गरेर 'चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश भारत' भन्नु गलत हो। दक्षिणी ध्रुवमा चन्द्रयान पुगेकै छैन, 'गेरु मिडिया'हरूले निकै जोडतोडले भ्रम छरिरहेका छन्।
बाँकी छ विवेकको ज्योति बल्न
कतिपय भारतीयहरू वेदको ज्ञानकै कारण यो यान पठाउन सकेको समेत भनिरहेका छन् भने कतिपय हनुमानजीको प्रतापका कारण यो सम्भव भएको बताउँदै हनुमानले चन्द्रयान बोकेका 'फोटोसप्ड' तस्वीर फैलाइरहेका छन्। हुँदाहुँदै कतिपय व्यक्ति 'सद्गुरु'का विचार अनुसरण गरेका कारण यो सम्भव भएको हो' भन्नेजस्ता लठुवा तर्क गरिरहेका छन्। सद्गुरु विवादास्पद भारतीय 'गडम्यान' हुन्।
अन्तरिक्ष विज्ञानको अत्याधुनिक शिक्षा र उपकरणबिना चन्द्रमासम्म यान पुग्न सम्भव छैन, थिएन। आधारभूत वैदिक ज्ञान, 'भार्गव विमानशास्त्र' या रामायणमा वर्णित पुष्पक विमानको तथाकथित प्रविधिको प्रयोगले त सिन्कोसमेत उडाउन सम्भव थिएन। तैपनि 'गोदी मिडिया' उपनाम पाएका भारतीय सञ्चारमाध्यमले चन्द्रयानको सफलतालाई लिएर उडन्ते कथा फैलाइरहेका छन्।
हुँदाहुँदै 'इस्रो'का केही वैज्ञानिकसमेत आफू आश्रित आधुनिक अन्तरिक्ष विज्ञान र आफूहरूको निरन्तरको मेहनत र लगावप्रति दृढ रहन नसकेर स्वयं नै अनेक पाखण्ड बाबाको अनुयायी भएको बताइरहेका छन्। चन्द्रमामा मानव या यानको अवतरण आफैँमा अन्धविश्वास र अज्ञानविरुद्धको विजय हो, तर यही मौका छोपेर वैज्ञानिकहरूले समाजमा व्याप्त अन्धविश्वास र अन्धश्रद्धा चिर्न प्रयोग गर्नुपर्नेमा उल्टो गर्नु लाजमर्दो छ।
सत्तासीन भारतीय जनता पार्टीजस्तो साम्प्रदायिक र अन्धविश्वासी पार्टी अत्याधुनिक ज्ञान विज्ञानको यो उपलब्धिबाट जस लिन खोजिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही विषयलाई भजाउँदै आउँदो २०२४ सालको लोकसभामा पुनः सहजै सत्तामा उदाउने अनुमान गरिँदैछ।
आधुनिक ज्ञानविज्ञानले निरन्तर सफलता हासिल गर्दै गरेको अहिलेको विश्वमा अन्धविश्वास र धर्मान्धता पहिलेभन्दा तीव्र रूपमा किनारा लाग्दै गइरहेको छ। तर पनि आधुनिक विज्ञानका कतिपय सफलतालाई 'आफ्नो धर्मको फलानो शास्त्रमा उल्लेख गरिएको' भन्दै कुप्रचार गर्ने व्यक्तिहरू सक्रिय छन्, जबकि कुनै पनि पुराना 'क्रिएसन मिथ', धर्मशास्त्र र धर्मगुरु या बाबाजीका उडन्ते गफ वैज्ञानिक सफलताका सूत्र होइनन्। वैज्ञानिक समुदायको निरन्तर मेहनत र खोजका परिणाम हुन् आजका सफलता।
हजारौँ वर्षदेखि मानव समुदायमा अन्धविश्वास र यस्ता कथाका प्रभाव र परम्परा रहेकाले अन्धविश्वासका 'रोग' निदान हुन अझै केही समय लाग्ने छ। निदानको उपाय तार्किक शिक्षा, आधुनिक विज्ञानको प्रचार, प्रवर्द्धन र सम्बर्धन मात्र हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
