यौन दुर्व्यवहारको आरोपपछि मिस युनिभर्सले तोड्यो इन्डोनेशियासँगको सम्बन्ध

यौन दुर्व्यवहारको आरोप लागेपछि अमेरिकामा मुख्यालय रहेको मिस युनिभर्स अर्गनाइजेसन (एमयूओ)ले मिस युनिभर्स इन्डोनेशियासँगको सम्बन्ध तोडेको छ।

मिस युनिभर्स इन्डोनेशियाको प्रतिस्पर्धाका क्रममा यौन दुर्व्यवहार परेको उजुरी परेपछि मिस युनिभर्स अर्गनाइजेसन (एमयूओ)ले इन्डोनेशियासँगको सम्बन्ध तोडेको छ।

अमेरिकामा मुख्यालय रहेको एमयूओले भनेको छ कि इन्डोनेशियाको फ्रेन्चाइजीले यसको गुणस्तर, नैतिकता र अपेक्षा कायम राख्न सकेको छैन। एमयूओका अनुसार यो वर्ष मलेसियामा हुने प्रतियोगिता पनि रद्द गरिएको छ। मलेसियामा समेत उही कम्पनी पीटी कापेल्ला स्वस्तिका कार्याले फ्रेन्चाइजी लिएको थियो।

एमयूओले यौन दुर्व्यवहारबारे उजुरी दिने प्रतिस्पर्धीलाई धन्यवाद पनि दिएको छ। आफूहरूले महिलाको सुरक्षालाई सधैँ प्राथमिकतामा राख्ने सो संगठनले जनाएको छ। यो घटनाबारे जाकार्ता पुलिसले अनुसन्धान गरिरहेको छ।

यसअघि इन्डोनेशियामा मिस युनिभर्स प्रतियोगिताका आयोजकले यौन उत्पीडन गरेको भन्दै कतिपय प्रतिस्पर्धीले प्रहरीमा उजुरी दर्ता गरेका थिए। उजुरी दर्ता गर्नेमध्येकी एक प्रतिस्पर्धीकी वकिल मेलिसा अंग्गारेनीले बताएअनुसार फाइनलको दुई दिनअघि प्रतिस्पर्धीको शरीर जाँच र फोटोग्राफीका लागि भन्दै कपडा खोल्न भनिएको थियो।

मिस युनिभर्सको फाइनल प्रतिस्पर्धा अगस्ट ३ मा आयोजना गरिएको थियो। आयोजकले प्रतिस्पर्धीहरूलाई उनीहरूको शरीरमा घाउ वा ट्याटु भए/नभएको जाँच्नुपर्ने बताएका थिए। उजुरी गर्नेमध्येकी एक युवतीले भनेकी छन्, "मलाई यो घटनाको मानसिक असर परेको छ। मलाई निद्रा लाग्दैन।"