संसद् सचिवालयमा ‘चाइना एड’का विद्युतीय गाडी

चीन सरकारले अनुदानमा दिएका ती विद्युतीय गाडी संसद् सचिवालयले प्रयोग गर्ने बताइएको छ।

तस्वीर: सविन धमलाको फेसबुक।

काठमाडौँ– चीन सरकारले संसद्लाई आठ वटा सवारी साधन उपलब्ध गराएको छ।

‘चाइना एड’का ती विद्युतीय गाडी संघीय संसद् सचिवालयमा राखिएका छन्। चीन सरकारले अनुदानमा ती सवारीसाधन दिएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

“निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा चिनिया संसद्को भ्रमणमा गएका बेला त्यहाँको संसद्ले सहयोग गर्ने भनेको थियो,” उनले भने, “त्यही बेला दिने भनेको सवारी अनुदान स्वरूप आएका हुन्।”

चीन सरकारले उपलब्ध गराएका ती सवारी संसद् सचिवालयले प्रयोग गर्ने बताइएको छ।

“संसद्लाई सवारीसाधनको आवश्यकता परिरहेको छ। समितिका सभापति र पदाधिकारी धेरै हुनुहुन्छ। उहाँहरूलाई गाडी उपलब्ध गराउनुपर्ने छ,” धमलाले भने।