भारतमा कार दुर्घटना: एकै परिवारका ६ नेपालीको मृत्यु

भारतको श्रावस्ती जिल्लास्थित इकौनामा कार दुर्घटना हुँदा नेपालगन्ज–११ त्रिभुवनचोकका छ जनाको मृत्यु भएको छ। वैभवबाट नेपाल फर्कने क्रममा दुर्घटना भएको हो।

काठमाडौँ– भारतको श्रावस्ती जिल्लास्थित इकोनामा कार दुर्घटना हुँदा बाँके नेपालगञ्जका छ जनाको मृत्यु भएको छ।

गएराति भएको दुर्घटनामा नेपालगन्ज–११ त्रिभुवनच‌ोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका, छोरी बैभवी र श्रेयाको मृत्यु भएको वडाध्यक्ष नन्दकिशोर कहारले जानकारी दिए।

त्यस्तै, निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि दुर्घटनामा मृत्यु भएको छ। वडाध्यक्ष कहारका अनुसार उनीहरू भारत वैभवमा माइतीमा रहेकी बुहारीलाई बिदाई गरेर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। 

राति सडकमा गाईसँग कार ठोक्किएर दुर्घटना भएको खबर पाएको वडाध्यक्ष कहारको भनाइ छ। मृतक सबैको भारतमा नै पोष्टमार्टम गरेर शव ल्याउने तयारी भइरहेको उनले बताए।