देशभर काम ठप्प पार्ने निर्माण व्यावसायीको चेतावनी

सरकारले असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन गर्न नसकेको निर्माण व्यावसायीको आरोप छ।

काठमाडौँ– आफूहरूको माग तत्काल सम्बोधन नभए देशभर काम ठप्प पार्ने निर्माण व्यवसायीले चेतावनी दिएका छन्। 

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका उनीहरूले निर्माण उपकरणसहित धर्ना दिएका हुन्। बजेट दिन नसक्ने आयोजना खारेज नगरे आन्दोलन थप चर्किने उनीहरूले चेतावनी छ। 

कांग्रेस सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्का पट्टामा लाग्ने हो? भन्दै प्रश्न गरे। सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने उनले चेतावनी दिएका छन्। 

“प्लेकार्डमा मात्रै एकत्रित भएर हुँदैन, जुनसुकै बेलामा एकत्रित हुनुपर्छ,” उनले भने, “छिटो काम सम्पन्न गर्ने कुरामा निर्माण व्यावसायी पनि लाग्नुपर्छ। सरकारले प्रत्येक महिनाको फरकमा रकम भुक्तानी गर्नुपर्छ।” महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीलाई सरकारले नै ठगिरहेको आरोप लगाए। 

अर्का पूर्वअध्यक्ष यक्षध्वज कार्कीले ढुंगामाटोसँग खेल्ने निर्माण व्यवसायीलाई सडकमा आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग आग्रह गरे। “हाम्रा मागबारे सरकार मूकदर्शक बनिरहेको छ। तत्काल पूरा नगरे देशभर निर्माण ठप्प पार्छौँ। 

महासंघका अध्यक्ष रवि सिंहले धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए। 

असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ।