एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमा कुरुवा बस्न बाध्य छन्। कतिपय खेतबारी बाँदरकै कारण बाँझिएका छन्।
ढोरपाटन– बागलुङको अधिकांश ग्रामीण क्षेत्र जंगलसँग जोडिएका छन्। जंगल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरान बनाउँदै आएको छ। हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायत बाली नष्ट गरिदिन्छ।
यतिबेला भर्खर मकैका बोटमा घोगा लाग्न थालेका छन्। बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन्। छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन्।
उनीहरू यी छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गर्छन्। एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमै बस्न बाध्य छन्। यो बेला किसानका लागि कामको चटारो हुने समय भए पनि बाँदर धपाउनका लागि कुरुवा राख्नुपर्ने बाध्यतामा उनीहरू छन्।
जिल्लाको धेरै स्थानमा रातो बाँदर पाइन्छन् भने केही स्थानमा सेतो प्रजातिका बाँदरले पनि आतंक मच्चाउने गरेको कृषकले गुनासो गर्दै आएका छन्। हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरिदिने गरेको छ। तर नियन्त्रणका लागि पालिकाले कुनै नीति नल्याउँदा किसान निराश छन्।
सयौँको संख्यामामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिवार्य राख्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले बताए। असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको जनाउँदै उनले अब असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्न नपर्ने बताए। बिहान सबेरै उठेदेखि रात झमक्क नपर्दासम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
“पहिले बाँदर कम लाग्थ्यो, अहिले ३०० भन्दा बढीको संख्यामा आउने बाँदरले सिंगो बारीको मकै १० मिनेटमै सखाप पारिदिन्छ, त्यही भएर बिहानैदेखि यहाँ बस्नुपर्छ,” उनले भने, “के गर्ने बल्लतल्ल दुःख गरेर बाली लाइयो, यहाँ कुरेर बसिएन भने वर्षभरि भोकै बस्नुपर्छ, यो गाउँको सबैभन्दा ठूलो शत्रु नै बाँदर हो, हामी वर्षौँदेखि आजित भएका छौँ, सरकारले यो समस्या समाधानका लागि केही उपाय दिए ठूलो राहत मिल्ने थियो।”
कतिपय किसानले बाँदरलाई डराउन दिनका लागि बारीको छेउछाउमा कुकुर बाँध्ने, पुरानो कपडाको डमी बनाएर राखेको देखिन्छन्। पहिले–पहिले कुकुर र डमीदेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छाडेको निसीखोलाका किसान निमबहादुर घर्तीले बताए।
घरमा कम सदस्य हुने परिवारले मान्छे खोजेर भए पनि कुरुवा राख्ने गरेको उनको भनाइ छ। बाँदर कुर्दा घरको अन्य काम गर्न नपाउने घर्तीले दुःखेसो पोखे। बाँदरले हैरानी बनाएपछि गाउँका खेतीयोग्य जमिनमा बाली लगाउन छाडिएको उनको भनाइ छ।
“दिनभरि कुरुवा नबसेसम्म बाली जोगिन्न, कुकुरदेखि डराउने बाँदर अहिले उल्टै कुकुरसँग लड्न थाले, मान्छे हैरान भइसके, त्यही भएर खेती पनि गर्न छाडे, हामी सानो हुँदा गाउँमा कुनै पनि बारी बाँझो रहँदैनथ्यो,” उनले भने, “अहिलेजस्तो बाँदर आतंक पनि थिएन, अहिले घर अगाडिकै बारीमा आएर बाली खाइदिन्छ, त्यही भएर मान्छेहरू बसाइँ सरे।”
बाँदर नियन्त्रणका लागि निसीखोला गाउँपालिका–४ ले अघिल्लो वर्ष चार लाख ५० हजार रुपैयाँ छुट्याएर काम गरेको थियो। तर प्रभावकारी भने हुनसकेको थिएन। यसवर्ष नयाँ प्रविधि प्रयोग गरेर बाँदर नियन्त्रण गर्ने योजना रहेको वडाध्यक्ष टीकानिधि पौडेलले बताए।
पछिल्लो समय लेकबाट मध्यगाउँमै बाँदर आउन थालेको उनको भनाइ छ। कृषकलाई आधुनिक प्रविधिसँग जोडेर बाँदर आतंकबाट मुक्त बनाउनका लागि तीनवटै सरकारले सहकार्य गर्नुपर्ने अध्यक्ष पौडेलको भनाइ छ।
“बाँदर आतंक बढ्दै गएको छ, बसाइँसराइको प्रभाव हो कि,” उनले भने, “अब अलि फरक तरिकाले लाग्नुपर्ने देखियो, अब यसको दीर्घकालीन समाधान के हो त्यसका लागि विज्ञसँग बुझ्ने र समाधान गर्नतर्फ लाग्नुपर्ने भयो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
