पानी पर्याप्त नहुँदा यसवर्ष तनहुँमा ८५ प्रतिशत मात्र रोपाइँ हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। किसान पानीको जोहो होला र अनि धान रोपौँला भनेर पर्खेर बसेका छन्।
डुम्रे– असार महिना विशेषगरी धान रोप्ने समय हो। असारको अन्तिम सातासम्म प्रायः जसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो। तर यसवर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ।
पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु–२ का देवबहादुर कमली बताउँछन्। “यसवर्ष त रोपाइँ नै ढिला भयो। विगतमा असारको २२/२३ गतेसम्ममा रोपाइँ सकिन्थ्यो। साउनको आधी समय घर्किन लागिसक्यो, रोपाइँ सकिएको छैन,” उनले भने।
रोपाइँ गर्ने बेलामा पानी नपर्दा किसानलाई सास्ती नै सास्ती छ। पानीको जोहो होला र अनि धान रोपौँला भनेर किसान पर्खेर बसेका छन्। व्यास–७ कलेस्तीका शिवलाल प्रधानले पानी अभावले आधा खेतमा मात्रै रोपाइँ गरिएको बताए। “बल्लतत्ल आधी खेलमा रोपाइँ सकियो, यसपाली राम्रो उब्जनी हुँदैन भन्ने डर छ,” उनले भने।
कुवा, पँधेरो, खोला र खोल्सीको पानीले खेती गरिने खेतमा पानीको अभावले धान रोपाइँ गर्न सकिएको छैन। “पहिले त जेठदेखि नै पर्याप्त पानी पर्थ्यो, यसपाली त न पानी पर्यो न खेत रोप्न सकिएको छ। किसानलाई जताबाट पनि सास्ती नै सास्ती छ,” प्रधानले भने।
पर्याप्त वर्षा भएपछि कुवा, पँधेरो, खोला, खोल्सीको पानीको मुहान बढेर आएपछि सबैजसो खेतमा धान रोपिने गरेको व्यास–७ का प्रदीप घिमिरे बताउँछन्। “यसवर्ष पानी नपर्दा खेतीयोग्य जमिन बाँझिदैछन्,” उनले भने।
समयमा पर्याप्त वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए। “समयमा वर्षा भएको भए सबै खेतमा रोपाइँ हुने थियो। यसवर्ष १५ प्रतिशत खेतीयोग्य भूमि बाँझै रहने देखिन्छ,” उनले भने, “विगतका वर्षमा असार मसान्तमा अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो। तर यसवर्ष किसान वर्षाको पर्खाइमा छन्।”
साउन नौ गतेसम्ममा ७५ प्रतिशतमात्रै रोपाइँ सकिएको प्रमुख तिवारीले जानकारी दिए। “केही वर्षा भएकाले यसवर्ष ८५ प्रतिशत रोपाइँ हुने देखिएको छ,” उनले भने, “वर्षा नहुँदा खेती हुने फाँटमै पानी नपुगेर रोपाइँ नभएको हो।” जिल्लामा कुल ११ हजार हेक्टरमा बर्खे धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। उक्त जग्गामा तनहुँमा २४ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्यांक छ।
जिल्लामा रामधान, सावित्री, हर्दिनाथ १, हर्दीनाथ हाइब्रिड १ लगायतका धान लगाउने गरिएको छ। सिँचाइ सुविधा भएका चुँदीफाँट, कलेस्ती फाँट, माझफाँट, साँगे फाँट, पुट्टार फाँट, रिस्तीलगायत फाँटमा पर्याप्त मात्रामा धान फल्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
