सीताले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएकी थिइन्। चार सन्तानकी आमा सीतालाई साना छोराछोरी र श्रीमानको भूमिगत राजनीतिको सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो।
काठमाडौँ- “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रूपमा अन्तरसंघर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ। मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरैपटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन्।
पार्टीभित्र देखिएका विवाद समाधान गर्ने सीताले बुधबार भौतिक संसार छाडेकी छन्। निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित सीताको निधन बुधबार बिहान ८:३३ बजे भएको उनको उपचारमा संलग्न प्राडा युवराज शर्माले जानकारी दिएका थिए। खासगरी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले संकटको समयमा माओवादीलाई जोगाएको पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन्।
सञ्चारकर्मीसँगको एक भेटमा सीताले भनेकी थिइन्, “पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए। मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थेँ।”

तत्कालीन नेकपा (माओवादी)भित्रका अन्तरविरोध समाधान गर्न उनले खेलेको भूमिका यही धारणाबाट पनि स्पष्ट हुन्छ। लामो समय डा. बाबुराम भट्टराईको सचिवालयमा स्वकीय सचिवको भूमिकामा रहेका विश्वदीप पाण्डेका अनुसार मुलुकमा भएको राजनीतिक परिवर्तनमा सीताले खेलेको भूमिका महत्वपूर्ण छ।
“यो परिवर्तनमा तपाईंको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ। सधैँ पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गर्नुभयो। तपाईंको महाप्रस्थानमा निकै दुःखी छु। तपाईंको अभाव महसुस भइरहनेछ,” सीताको सम्झनामा पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, “केही वर्षदेखि तपाईंलाई हेरेरै भए पनि कैयौँ संवेदनाहरू भुलाइरहनुभएका कमरेड प्रचण्डलाई तपाईंको सबैभन्दा बढी अभाव खड्किनेछ। हार्दिक श्रद्धाञ्जली कमरेड सीता दाहाल । खुसी प्रकट गर्ने र सबभन्दा ज्यादा दुःखका तापमा सुस्ताउने चौतारी गुमाउनुभएका कमरेड प्रचण्डलगायत परिवारजनप्रति हार्दिक समवेदना।”
पार्टीभित्र कुनै पनि अप्रिय निर्णय नगर्न सीताले पार्टी अध्यक्ष प्रचण्डलाई धेरै सचेत गराउने गरेको माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा सम्झन्छन्। माओवादी युद्धको समयमा उनले खास अर्थमा 'आमा'कै भूमिका निभाएको उनको भनाइ छ। “हामी सबैको आमाका रूपमा उनले विशेष भूमिका निर्वाह गर्नुभएको थियो”, शर्माले भने।

जनयुद्धको समयमा भारतमा माओवादीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए। नेताहरू मातृका यादव, सुरेश आलेमगरलगायत नेता पक्राउ परेकै दिन अध्यक्ष प्रचण्डले उनीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम थियो। यदि, त्यस दिन अध्यक्ष प्रचण्डलाई दिल्लीको मंगलपुरीमा तय भएको भेटका लागि सीताले जान नरोकेको भए पक्राउ पर्ने सम्भावना रहेको माओवादी केन्द्रका सचिव शर्मा स्मरण गर्छन्।
माओवादी नेताहरूका अनुसार सीता प्रचण्ड पत्नी मात्रै नभई सहयात्री र राजनीतिक सहयोद्धासमेत थिइन्। माध्यामिक विद्यालयको शिक्षकको जागिर छाडेर राजनीतिमा होमिएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने भूमिकामा सीताको महत्वपूर्ण योगदान रहेको नेता तथा कार्यकर्ता बताउँछन्।
प्रधानमन्त्री दाहालको पारिवारिक जीवनमा पछिल्लो १० वर्षमा तेस्रो बज्रपात परेको छ। जेठी छोरी ज्ञानुको स्तन क्यान्सरबाट निधन भयो। छोरा प्रकाशको पनि छ वर्षपहिले निधन भएको थियो।
सीता दाहालको जन्म २०११ असार २१ गते कास्कीको हेम्जामा भएको हो। सीता आठ वर्षको हुँदा पारिवारले बसाइँ सरेर चितवन लगेका हुन्। २०२६ वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो।
सीताले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएकी थिइन्। चार सन्तानकी आमा सीतालाई साना छोराछोरी र श्रीमानको भूमिगत राजनीतिको सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो। खासगरी अप्ठ्यारो अवस्थामा नआत्तिन र खुशीमा नमात्तिन श्रीमान् प्रचण्डलाई सल्लाह दिने सल्लाहकारको भूमिकामा रहेकी सीतालाई बनारसदेखि रोल्पाको थवाङसम्मको वस्तुस्थिति बारे राम्रो ज्ञान थियो।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार युद्धका समयमा सिंगो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, संकट र विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्। माओवादी युद्ध शुरू भएपछि २०५२ सालदेखि उनी भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन्।

महासचिव गुरुङका अनुसार सीताले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएकी छन्। सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता रहेको गुरुङ स्मरण गर्छन्।
माओवादीका नेताहरूका अनुसार २०६१ सालमा रोल्पाको फुन्टिवाङमा भएको बैठकपछि पार्टीभित्र चर्को विवाद थियो। त्यसबेला सीता उपचारका क्रममा भारतमा थिइन्। पार्टीभित्र विवाद बढेको थाहा पाएपछि उनले रोल्पा पुगेर प्रचण्ड र बाबुराम दुवैलाई सम्झाएकी थिइन्।

“तपाईंहरू सानातिना विषयमा विवाद गरेर नबस्नुस्, तत्काल मिलाइहाल्नुस्”, सीताले भनेको कुरा त्यसबेला बैठकमा सहभागी उच्च तहका नेता अझै स्मरण गर्छन्, “जनताको रगत बगिसकेको छ। तपाईंहरूको ताल के हो यस्तो? यस्तै हो भने तपाईंहरूलाई जनताले छाड्दैनन्।”
यस्तै, सल्लाहका कारण पार्टीभित्रका अनेकन संकट समाधान भएको माओवादीका नेताहरूको भनाइ छ। प्रधानमन्त्री पत्नी भए पनि उनले बालुवाटारमा बसेर अनावश्यक चासो लिएको तथा विवादमा परेको घटना कुनै सार्वजनिक भएन। कवि अर्जुन पराजुलीले सोही विषयलाई केन्द्रमा राखेर बुधबार नै एउटा कविता सार्वजनिक गरेका छन्।
श्रीमान् चलाइनौ तिमीले
छोराछोरी चलाइनौ
न आँखा चलायौ, न नाक चलायौ
न रवाफ न धाक चलायौ
न हात चलायौ तिमीले
न मुख चलायौ
बालुवाटारमा बसेर
न बालुवाटार चलायौ
कसैलाई नचलाईकन आज
तिमी आफैँ चल्यौ, सलाम छ तिमीलाई।
जटिल प्रकारको पार्किन्सन्स रोगबाट पीडित सीताको उपचारका लागि अनेकन प्रयास गरिएको थियो। नेपाल, भारत र अमेरिकाका विभिन्न अस्पतालमा पनि उपचार भएको थियो। तर उनको रोग विषेक भएको थिएन।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
