नेपालमा बीआरआईअन्तर्गतका कुनै पनि कार्यक्रम अघि बढेका छैनन्ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री साउदले हालसम्म नेपालमा बीआरआईअन्तर्गत कुनै योजना शुरू नभएको र कार्यान्वयनको सन्दर्भमा सरकार छलफलमा रहेको बताएका छन्। 

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म नेपालमा चिनियाँ बहुदेशीय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गतका कुनै पनि कार्यक्रम सञ्चालन नभएको बताएका छन्।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले चीन सरकारसँग २०१७ मा सम्झौता गरे भएको, त्यसपछि बीआरआईअन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको बताएका हुन्। 

पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको भएको दाबी गरेपछि नेपालमा बहसको विषय बनेको थियो। समितिको बैठकमा समिति सदस्यहरूले प्रश्न गरेसँगै मन्त्री साउदले बीआरआईअन्तर्गत हालसम्म कुनै योजना नेपालमा शुरू नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताए। 

“बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयू गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौँ। यो कार्यक्रमअन्तर्गत कुनै पनि योजना नेपालमा शुरू भएको छैन,” उनले भने।

मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने बताए। “एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ। कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ। र एमसीसी एउटा ग्रान्ड भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ,” उनले भने।

रुस सेनामा नेपाली भर्ती भए/नभएकोबारे दूतावासलाई खोजी गर्न भनेका छौँ
परराष्ट्रमन्त्री साउदले रुस सेनामा नेपाली भर्ती भएको वा नभएको विषय सरकारलाई जानकारी नरहेको बताए। सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आए पनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको बताउँदै उनले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताए।

“रसियन सेनामा नेपाली भर्ना सम्बन्धमा अहिले बाहिर मिडियामा आएको कुरालाई लिएर मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिएका छौँ। यसमा कुनै तथ्य, केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आए पनि वास्तविक तथ्य, यो मान्छे, यो ठेगानाको यसरी यो सेनामा भर्ना भएको छ भन्ने किसिमको आइसकेको छैन,” उनले भने। मन्त्री साउदले रुस सेनामा नेपाली भर्ती भएको विषय सरकारको अध्ययनकै चरणमा रहेको बताए।