आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

प्रतिनिधिसभामा मत विभाजन हुँदा विनियोजन विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ। विपक्षमा एमाले, रास्वपा, राप्रपालगायतले मत दिए।

काठमाडौँ– प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ।  अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको विनियोजन विधेयक, २०८० लाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो।

नेकपा एमालले मत विभाजनको माग गरेपछि मतदान भएको थियो। विनियोजन विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ। सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी लगायतले विनियोजन विधेयकको पक्षमा मतदान गर्दा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विपक्षमा मत दिएका थिए।

प्रतिनिधिसभा बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको छ। ध्वनि मतबाट सभामुख देवराज घिमिरेले विनियोजन विधेयक पारित भएको घोषणा गरेपछि एमालेले मत विभाजनबाट पारित गर्न माग गरेको थियो। 

एमालेका सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए। त्यसपछि सभामुखले मत विभाजन प्रक्रिया शुरू गरेका थिए। यसअघि ध्वनि मतबाटै बजेट पारित गर्ने गरिएको थियो।