Sunday, May 05, 2024

-->

रुसमा पुटिन–सत्ता हल्लाएको ‘ग्रीष्म विद्रोह’का ४८ घण्टा

रुसको निजी सैनिक समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले नेतृत्व गरेको सशस्त्र विद्रोह शुरु भएको ४८ घण्टाभित्रै 'फिर्ता' भएको छ। प्रिगोजिन रुस छाडेर छिमेकी देश बेलारुसतर्फ लागेका छन्।

रुसमा पुटिन–सत्ता हल्लाएको ‘ग्रीष्म विद्रोह’का ४८ घण्टा
येभ्गेनी प्रिगोजिन।

रुसी समय अनुसार शुक्रबार बिहान ११ बजे मस्कोमा हलचल ल्याउने गरी एउटा अडियो जारी भयो। येभ्गेनी प्रिगोजिनको आवाज रहेको उक्त अडियोमा रुसी रक्षा संयन्त्रले शुरू गरेको युक्रेन युद्धको औचित्यमाथि प्रश्न उठाउँदै रक्षामन्त्री सरगेई शोइगोउले वाग्नर सेनामाथि हवाइ आक्रमण गर्न आदेश दिएको आरोप लगाए। 

"यो देशको सैन्य नेतृत्वले देखाएको दुष्टताको अन्त्य गर्नैपर्छ," उनले भनेका थिए। 

अडियो सार्वजनिक भएलगत्तै क्रेमलिनले प्रिगोजिनको कदमको भर्त्सना गर्दै उनका नाममा पक्राउ आदेश जारी गर्‍यो। यसैबीच रुसको संघीय खुफिया एजेन्सी एफएसबीले सशस्त्र विद्रोह गरेको आरोपमा उनिविरुद्ध अनुसन्धान शुरू गर्‍यो। वाग्नर सेना नजिक बढिरहेको रस्तोभ-न-दनु शहरमा बख्तरबन्द गाडीसहित राष्ट्रिय गार्ड परिचालन भए। 

तर, शनिबार बिहान ८ नबज्दै वाग्नर सेनाले शान्तिपूर्ण रूपमा रस्तोभ शहर नियन्त्रणमा लिन सफल भयो। उक्त सशस्त्र समूहले क्षेत्रीय सैनिक मुख्यालय 'कब्जा' गरेको भिडियो सन्चारमाध्यममा देखिन थाले। त्यहाँका स्थानीयले पनि उनिहरुलाई खानेकुरा, पानी, आदि दिइरहेको देखियो।

रस्तोभ-न-दनु पूर्णरुपमा नियन्त्रणमा लिइसकेपछि प्रिगोजिनको समूहको एउटा डफ्फा हतियारसहित त्यहाँबाट उत्तरतर्फ रहेको राजधानी मस्कोतर्फ अघि बढ्न थाल्यो। अर्कातर्फ, रसियाले कब्जा गरेको युक्रेनी भूभागबाट पनि विद्रोही सेना अगाडि बढ्यो। यस क्रममा उनीहरूले लामो दूरीका विमानभेदी क्षेप्यास्त्र प्रहार गरेर केही संख्यामा रुसी सैन्य विमानहरू खसालेको बताइएको छ।

प्रिगोजिनले आफ्नो कमान्डमा २५ हजार सैनिक रहेको दाबी गरेका थिए। उनले सशस्त्र विद्रोह, रक्षामन्त्री शोइगोउलाई सजाय दिन भएको बताउँदै सेनालाई प्रतिरोध नगर्न आग्रह गरेका थिए। उनले भनेका थिए, “यो सैन्य कु होइन, तर न्यायको मार्च हो।”

वाग्नर सेना मस्कोतर्फ बढेको खबर आउँदै गर्दा राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार बिहानै राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रिय एकताको आव्हान गरे। विद्रोही समूहलाई 'नव-नाजी' र 'राष्ट्रघाती'को संज्ञा दिँदै राष्ट्रलाई धोका दिनेहरूले कडा सजाय भोग्नुपर्ने बताए। 

"हाम्रो एकतामाथि भएको यो आक्रमण देश र जनताको ढाडमा गरिएको प्रहार हो," उनले भनेका थिए, "ज-जसले यो सैन्य विद्रोहको योजना बनाए, त्यसलाई अगाडि बढाए, जसले आफ्ना कमरेडविरुद्ध हतियार उठाए र रसियामाथि विश्वासघात गरे, तिनीहरूले यो अपराधका लागि मूल्य चुकाउनुपर्छ।"

यसबीच पुटिनले मस्को छाडेको र त्यहाँबाट १४० किलोमिटर दूरीमा पर्ने भाल्दाइको बंकरतर्फ प्रस्थान गरेको अपुष्ट खबर आइरहेका थिए। उता, वाग्नर सेना आधुनिक हतियार र हतियार-सुसज्जित बाहनसहित भरोन्येज क्षेत्रतर्फ बिनाकुनै अवरोध अगाडि बढिरहेको थियो।

येभ्गेनी प्रिगोजिन।

तर, शनिबार राति एक्कासी घटनाले नयाँ मोड लियो। बेलारुसमा राष्ट्रपति आलेक्सेन्दर लुकाशेन्कोले प्रिगोजिन र उनका सेनालाई मस्को छिर्नबाट रोकेको भन्दै बेलारुसी सन्चारमाध्यममा समाचार आउन थाले। 

यसलगत्तै वाग्नर कम्पनीका प्रमुख प्रिगोजिनले 'आफ्नो समूह मस्कोको एकदम नजिक पुगेको, तर अब आफ्नो प्रशिक्षण केन्द्रतर्फ फर्किने तैयारी गर्दै गरेको' भन्दै शनिबार राति ८:३० बजेतिर अर्को अडियो जारी गरे। 

रस्तोभ-न-दनु नियन्त्रणमा लिएर बसेको विद्रोही समूहले शनिबार मध्यरातभन्दा केही समयअगाडि उक्त शहर छाडे। यो समूहमा प्रिगोजिन पनि थिए।

प्रिगोजिन बेलारुसतिर प्रस्थान गरिसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै क्रेमलीनले उनीमाथि लगाएका सबै आरोप फिर्ता लिँदै कुनै अनुसन्धान वा कारबाही नहुने बताएको छ। 

पुटिनसँगको सहमतिमा नै प्रिगोजिन बेलारुसतिर प्रस्थान गरेको बताइएको छ। तर, पुटिनसँग के-के विषयमा सहमति भयो भन्ने स्पष्ट भइसकेको छैन।

यसरी ४८ घण्टा नबित्दै संस्थापनलाई चुनौती दिएर युक्रेन-युद्धको औचित्यमाथि प्रश्न उठाउँदै शुरू भएको विद्रोह केही 'समझौता' गर्दै अन्त्य भएको छ। अन्तर्राष्ट्रिय मामिलाका विज्ञ र विश्लेषकहरूलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार रसियामा तत्कालका लागि 'कू' को संकट टरे पनि यसले राष्ट्रपति पुटिनको छवि र विश्वसनीयतामाथि अपूरणीय क्षति पुर्‍याएको छ। पुटिनको एकाधिकारमाथि देखिएको यस्तो चुनौतीले उनलाई कमजोर बनाउनुका साथै थप सशंकित बजाउने छ, जसले शासन व्यवस्था अझै दमनकारी हुनसक्ने संकेत गर्छ। 

रसियासँग एक वर्षभन्दा लामो समयदेखि युद्धरत युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि रसिया कमजोर भएको वक्तव्य दिएका छन्। क्रेमलिनले प्रिगोजिनमाथि लगाएको सबै आरोप फिर्ता लिने बताए पनि उनी र उनको समूहको भविष्यबारे अन्योल कायम छ।

रुसले युक्रेन युद्धका लागि शुरूदेखि बेलारुसको भूमि प्रयोग गरिरहेको छ। यो युद्धमा वाग्नरको समूहले भाडाका सेनाको रूपमा पुटिनलाई सघाएको थियो। यो घटनाले युक्रेन युद्धले नयाँ मोड लिनसक्ने बताइएको छ।

वाग्नर समूहले सन् २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । तर, त्यतिबेला प्रिगोजिन र रुसले यो समूहको अस्तित्व स्वीकार गरेका थिएनन्। सन् २०२२ मा युक्रेन युद्धका लागि वाग्नर सेनामा ठूलो संख्यामा युवाहरू भर्ती भएपछि यो समूहको अस्तित्व खुलेको थियो।

रुसका कुलिन व्यापारी प्रिगोजिन एक समय राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासपात्र थिए। उनको रेस्टुरेन्टले राष्ट्रपती कार्यालयमा खाना दिने हुँदा 'पुटिनका शेफ' भनेर समेत चिनिएका उनी रुसमा प्रभाव जमाएका धेरै व्यापारिक समूहको संयन्त्रका सञ्चालक हुन्। राज्य-प्रायोजित सैन्य कम्पनी 'वाग्नर ग्रुप' पनि यही समूह मध्य एक हो। 

यो समूहमाथि सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप लाग्ने गरेको छ। लामो समयसम्म यी आरोपलाई अस्वीकार गरे पनि अन्ततः सन् २०२२ मा उनले अमेरिकी चुनावमा रुसी हस्तक्षेप हुने स्वीकार गरेका थिए। 

प्रिगोजिन र उनका सहयोगीविरुद्ध संयुक्त राज्य अमेरिका र युरोपियन युनियनमा विभिन्न प्रतिबन्ध लगाइएको छ।


सम्बन्धित सामग्री