जारी प्रतियोगितामा वेस्ट इन्डिजविरुद्ध १०१ रनको हार बेहोरेसँगै ‘सुपर सिक्स’मा पुग्ने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली टोलीलाई नेदरल्यान्ड्सको खेलमा भर पर्नुपर्ने भएको छ।
काठमाडौँ– ५५ ओडीआई खेलमार्फत १ हजार ६७६ रन बनाइसकेका वेस्ट इन्डिजका बायाँ हाते ब्याटर निकोलस पुरन सहजै दुई पटक आउट हुने अवस्थामा थिए।
तर, नेपाली टोलीका विकेटकिपर आशिफ शेखले उनलाई ३ र ५४ रनको व्यक्तिगत स्कोरमा खेल्दै गर्दा क्याच मिस गर्दै जीवनदान दिए। सोही गल्तीलाई सुधार गर्दै पुनरले ९४ बलमा १० चौका र ६ छक्का प्रहार गरे र आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले ३४० रनको विशाल लक्ष्य पायो।
तर, विश्वविजेता वेस्ट इन्डिजविरुद्ध नेपालको ब्याटिङ चल्न सकेनन् र ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २३८ रनमै समेटियो। जारी प्रतियोगितामा वेस्ट इन्डिजविरुद्ध १०१ रनको हार बेहोरेसँगै ‘सुपर सिक्स’मा पुग्ने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली टोलीलाई नेदरल्यान्ड्सको नतिजामा पनि भर पर्नुपर्ने भएको छ।
बिहीबार नै सम्पन्न खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गर्दै सुपर सिक्सको यात्रा जीवित राखेको छ। जितसँगै नेदरल्यान्ड्स २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ। ३ खेलबाट २ अंक जोडेको नेपाल चौथो स्थानमा छ। २ खेलबाट समान ४ अंक जोडेको वेस्ट इन्डिज र जिम्बावेले भने सुपर सिक्सको सम्भावना बलियो बनाएका छन्।

यता, ३ खेलमा जितविहीन रहेको अमेरिका भने प्रतियोगिताबाट बाहिरिइसकेको छ। नेपाल सुपर सिक्समा पुग्न शनिबार नेदरल्यान्ड्ससँग खेल्ने छ। उक्त खेलमा हराएर मात्रै नेपाललाई पुग्ने छैन, नेदरल्यान्ड्सले अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ। नेपाल नेदरल्यान्ड्ससँग पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ। आफूअनकूल नतिजा आए नेपाल शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्ने छ।
समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। तर, दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गर्न सफल भएको थियो।

सुपर सिक्सको लक्ष्य भेटाउन एक कदम पछाडि रहेको नेपाल वेस्ट इन्डिजविरुद्ध सोही लय दोहोर्याउन मैदान उत्रिएको थियो। तर, नेपालका आरिफ शेख, गुल्शन झा, कप्तान रोहितकुमार पौडेल र आशिफ शेखबाहेक अन्य ब्याटर चल्न सकेनन्।
नेपालले दोस्रो ओभर चलिरहँदा नै पहिलो विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल ५ रन बनाएर बोल्ड भए। भीम सार्की २ रन बनाएर खेलिरहेका थिए। तर, फाइनल लेगमा खेल्ने प्रयास गर्दा कायल मेयर्सबाट स्ट्रेट फरवार्डमा क्याच आउट भए।
४.२ ओभरमा २–२३ को स्थितिमा रहेको नेपालको इनिङ्स आशिफ र रोहितले उकास्ने प्रयास गरेका थिए। तर, आशिफ ३६ बलमा ३ चौका प्रहार गर्दै २८ रनमा टप एज लाग्दै स्लिपमा आउट भए। उनीहरूबीच ४६ बलमा २५ रनको साझेदारी भएको थियो।
यता, रोहित ४३ बलमा ३० रन बनाएर खेलिरहँदा डिप फाइनलमा आउट भए। आउट हुनुभन्दा अगाडि उनले आरिफसँग ४७ बलमा ३३ रनको साझेदारी गरे। त्यसपछि कुशल मल्ल २ रनमा रोपबाट क्याच आउट भए। यता, दीपेन्द्रसिंह ऐरीले २० बलमा २३ रन बनाएर ब्याकवार्ड पोइन्टमा क्याच भए।
वेस्ट इन्डिजविरुद्ध निरीह बनेको नेपालको इनिङ्स आरिफ र गुलशनले ९४ बलमा ६८ रनको साझेदारी गर्दै पुनः उकासेका थिए। तर, गुल्शन ५८ बलमा ४२ रन बनाएर टप एजमा लाग्दै आउट भए।
सन्दीप लामिछाने १ र करण केसी २८ रनमा आउट हुँदा आरिफले ९३ बलमा ४ चौका र १ छक्कासहित ६३ रनको योगदान दिए। वेस्ट इन्डिजका जोसन होल्डरले नेपालका लागि घातक सावित भए। १० ओभर बलिङ गरेका उनले ३४ रन दिएर ३ विकेट लिए। यता, अल्जारी जोसेफ, किमो पउल र अकिल होसेनले २/२ विकेट लिए। कायल मेयर्सको नाममा भने एक विकेट रह्यो।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले शाई होप र निकोलस पुरनले दोहोरो शतकीय साझेदारीमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो।
वेस्ट इन्डिजका कप्तान होपले १३२ रन बनाए। उनले १२९ बलमा १० चौका ४ छक्का प्रहार गरे। उनी लङ अनमा भीम सार्कीबाट आउट भए।

यता, ९४ बलमा १० चौका र ४ छक्कासहित ११५ रन बनाएर पुरन रिटेन बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए। एक समय वेस्ट इन्डिज १५.३ ओभरमा ५५–३ को अवस्थामा थियो। तर, चौथो विकेटका लागि उनीहरूबीच १७२ बलमा २१६ रनको साझेदारी भयो।
ओपनर ब्रान्डोन किङ्स ३२ रनमा बोल्ड भए। अर्का ओपनर कायल मेयर्स १ रनमा मिडविकेटमा आउट भए। जोहन्सन चार्ल्स डक आउट भए। रोभमन पावेल १४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा लङ अनमा आउट भए।
किमो पउल १ रनमा बोल्ड भए। जोसन होल्डर १६ रनमा अविजित रहे। नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए। उनले १० ओभरमा ५२ रन खर्चिए। यता, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र गुलशन झाले १/१ विकेट लिए।

सुपर सिक्समा पुग्न सक्छौँ: कप्तान रोहित
वेस्ट इन्डिजसँगको खेलपछि कप्तान रोहितले सुपर सिक्समा पुग्ने आशा जीवितै रहेको सुनाए। त्यसका लागि नेदरल्यान्ड्सविरुद्धको नतिजा महत्त्वपूर्ण हुने उनले बताए। "हामी नेदरल्यान्ड्सविरुद्धको खेललाई कुरिरहेका छौँ। त्यो खेल जितेमा हामी सुपर सिक्समा पुग्न सक्नेछौँ। हामी राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित नेदरल्यान्ड्सविरुद्ध खेल्ने छौँ," उनले भने।
वेस्ट इन्डिजविरुद्ध बिहीबार टस जितर्र फिल्डिङ रोजेपछि टोलीले राम्रो शुरूआत गरेको उनले बताए। तर, खराब फिल्डिङका कारण खेल गुमाउनुपरेको भन्दै उनी निराश देखिए।
"हाम्रो बलरले राम्रो शुरूआत गरेका थिए। तर, केही महत्त्वपूर्ण क्याच गुमायौँ। हामी राम्रो फिल्डिङ गर्ने टोली हौँ, तर हामीले क्याच ड्रप गर्न पुग्यौँ। त्यसपछि पुरन र होपले राम्रो ब्याटिङ गरे। त्यो क्याच गरेको भए खेल फरक हुन सक्थ्यो," उनले भने।
यद्यपि, पराजित भए पनि टेस्ट टोलीविरुद्ध कप्तानी गर्दा आफूले पनि धेरै सिक्न अवसर पाएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
