टाइटानिक हेर्न गएका पर्यटक चढेको पनडुब्बी बेपत्ता, खोजी तीव्र

टुर कम्पनी ओसियनगेटको पनडुब्बीमा बेलायत र पाकिस्तानका पाँच जना धनाढ्य सवार छन्। पनडुब्बीको खोजीका लागि अन्तर्राष्ट्रिय विमान र जहाजहरू प्रयोग गरिएको 'यूएस कोस्ट गार्ड'ले जनाएको छ।

फाइल तस्वीर। ओसियनगेट

उत्तरी आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएका पर्यटक चढेको एउटा पनडुब्बी बेपत्ता भएको छ।

अमेरिकी तटीय सुरक्षाकर्मीका अनुसार डुबुल्की मारेको एक घण्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको हो। पाँच जना यात्रु बोकेर आइतबारदेखि हराइरहेको पनडुब्बीमा ३० घण्टाभन्दा कमका लागि मात्र हावा बाँकी रहेको बुधबार बिहान बीबीसीले लेखेको छ।

टुर कम्पनी ओसियनगेटको पनडुब्बीमा बेलायत र पाकिस्तानका पाँच जना धनाढ्य सवार छन्। बेलायती–पाकिस्तानी व्यापारी शहजादा दाउद र उनका छोरा सुलेमान र बेलायती अर्बपति अन्वेषक हमिस हार्डिङ जहाजमा छन्।

पनडुब्बीको खोजीका लागि अन्तर्राष्ट्रिय विमान र जहाजहरू प्रयोग गरिएको यूएस कोस्ट गार्डले जनाएको छ। गार्डले यस खोजीकार्यलाई  ‘धेरै जटिल’ भनेको छ। यसअघि टाइटानिकको खोजी गरिसकेका फ्रान्सेली नौसेनाका पूर्व गोताखोर पल–हेनरी नार्जोलेट पनि जहाजमा छन्। 

सन् १९१२ मा बेलायतबाट अमेरिकाका लागि हिँडेको टाइटानिक जहाज हिउँको ठूलो टुक्रासँग ठोक्किएपछि समुन्द्रमा डुबेको थियो। बीबीसीका अनुसार टाइटानिक दुई  टुक्रामा विभाजित छ र एक टुक्राबाट अर्को टुक्रासम्मको दूरी दुई हजार ६००मिटर छ।

टाइटनिकको भग्नावशेष भएको ठाउँबाट नजिकको जमिन, क्यानडाको न्यूफाउन्डल्यान्ड ७०० किलोमिटर टाढा छ।