काठमाडौं– “भाइहरू चढेको डुंगा दुर्घटनामा परेछ बाबा।”
छोरीले दगुर्दै आएर सुनाएको यस्तो खबर शुरूमा उनले पत्याएनन्। ‘होइन होला’ भन्दै छोरीको कुरामा अविश्वास जनाए। “डुंगा चढेर गएको भए पो, हिँडेर जाने मान्छेलाई के नै हुन्छ र!,” उनले तत्काल छोरीलाई भनेका थिए।
जब सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा समेत डुंगा दुर्घटनामा परेर बेपत्ता भएकाहरूको सूचीमा आफ्नै छोराको नाम बारम्बार आइरह्यो, उनको मनमा पनि चिसो पस्न थाल्यो। त्यसपछि प्रहरी प्रधान कार्यालयबाटै फोन गरेर सोधीखोजी हुन थाल्यो। बल्ल उनलाई पनि पैतालामुनिको जमिन हल्लिएको झैँ भयो।
२०७८ असार ७ अर्थात् सन् २०२१ जुन २१ को दिन थियो त्यो। वडा कार्यालय जान तयार हुँदै थिए राजेन्द्र बुढामगर। उनी त्यसबेला दाङको घोराही उपमहानगरपालिका–१२ का वडाध्यक्ष थिए। त्यही बेला छोरीले आत्तिँदै यस्तो खबर सुनाएकी थिइन्।
कोलम्बियाको निकोक्लीबाट कापुरगानासम्म जाँदै गर्दा क्यारेबियन सागरमा ७ जना नेपाली बेपत्ता भएको खबर आएको थियो। डुंगा दुर्घटनामा परेका एकजना नेपालीको भने उद्धार गरिएको थियो। ती सातजना नेपालीमध्ये राजेन्द्रका जेठा छोरा एन्जल बुढामगर पनि रहेको खबर थियो त्यो।
एन्जल करिब साढे दुई महिना अघि अमेरिका जान निस्किएका थिए।
शुरूमा छोरीले यस्तो खबर सुनाउँदा पत्याउनै नसकेका राजेन्द्रलाई अन्ततः त्यो खबर नपत्याई धर भएन।
त्यसयता दुई वर्ष बित्यो। राजेन्द्र त्यो खबर बिर्सन चाहन्छन्। तर, सन्तानको वियोग बिर्सन यति सजिलो कहाँ छ र!
स्मृतिको पर्दाभरि छोराको कलकलाउँदो अनुहार आइपुग्छ। “पैसा कमाउने लोभमा छोरालाई गलत तरिकाले जाने अनुमति नदिएको भए सायद छोरा आज मसँगै हुन्थ्यो,” उनी यस्तै सोच्छन्।
उनी जति यो घटना बिर्सन खोज्छन्, त्यति बढी उनलाई ग्लानि र पीडा हुन्छ। छोरालाई सम्झेर भक्कानिन्छन् र अमेरिका जाने अनुमति दिएको त्यही क्षण सम्झेर पछुताउँछन्।
कोलम्बियाबाट एन्जलको त्यो अन्तिम फोन कल
२०७७ सालको जाडोयाम शुरू हुन लागेको थियो। चीनबाट होटेल म्यानेजमेन्टको पढाइ पूरा गरेर आएका एन्जलले एक साँझ खाना खाने बेला विदेश जाने कुरा निकाले। खासमा उनले त्यसअघि नै साथीहरूसँग विदेश जाने भनेर छलफल गरिसकेका रहेछन्।
घरमा पनि विदेश जाने कुरा निकालेपछि राजेन्द्रले उनलाई कहाँ जाने, कसरी जाने भनेर सोधेका थिए। त्यतिबेला एन्जलले ‘अमेरिका जाने, पठाउने मान्छे पनि खोजिसकेको छु’ भनेको उनी अहिले पनि झल्झली सम्झन्छन्।
एन्जलले नेपालबाट दुबई, कोलम्बिया, पानामा हुँदै मेक्सिकोबाट अमेरिका छिर्ने भनेपछि शुरूमा राजेन्द्रले आफ्ना दाजुभाइसँग यसबारे सल्लाह गरेका थिए। किनभने उनी छोराको निर्णय ठीक छ कि छैन भन्नेमा विश्वस्त भइसकेका थिएनन्। राजेन्द्रलाई दाजुभाइले ‘त्यसरी जान हुँदैन’ भन्ने सल्लाह दिए पनि एन्जलले अमेरिका जाने हठ छाडेनन्।
‘४५ लाखमा प्लेनबाट सिधै मेक्सिकोमा नै ल्याण्ड हुन्छ’ भन्दै एन्जलले नगई नछाड्ने ढिपी कसे। राजेन्द्रले काहिँला भाइ जनकसँग पनि यो विषयमा छलफल गरे। जनकले ‘धेरै मान्छे त्यसरी गइरहेका छन्, जोखिम मोलेर त्यसरी जाने वा नजाने भन्ने सोचौँ’ भनेपछि घर सल्लाह पनि भयो।
दाङकै घोराही उपमहानगरपालिका–१४ मा बस्थे टोपबहादुर जिसी। उनले त्यहाँ पहिले पत्रिका बेच्ने काम गरेका थिए। जिसीले पछिल्लो समय युवाहरूलाई अमेरिका पठाउने काम गर्न थालेका थिए। उनकै माध्यमबाट एन्जलले पनि जाने निधो गरेका रहेछन्।
टोपबहादुरबारे थाहा पाएपछि जनकले एन्जलसँग टोपबहादुरको फोन नम्बर मागे। उनीसँग फोनमा कुरा गरे। त्यतिबेला फोनमा टोपबहादुरले ‘म नेपाल आएको छु, भतिजोलाई पनि अमेरिका पठाउने भए, काठमाडौं ल्याउनुस्’ भनेका थिए।
त्यसपछि जनक र एन्जल काठमाडौँ आए। टोपबहादुरलाई भेटे। कुरा चित्त बुझेपछि एन्जलले राहदानी र दुई लाख रुपैयाँ टोपबहादुरलाई बुझाए।
त्यसको केही दिनपछि नै टोपबहादुरले एन्जलको दक्षिण अमेरिकी मुलुक बोलिभियाको भिसा लागेको खबर पठाए। एन्जलको एउटा ‘सपना’ पूरा हुँदै थियो। उनी फेरि काठमाडौँ आए र २०७७ चैत १७ गते काठमाडौँबाट दुबईका लागि उडे।
दुबई उड्नुअघि एन्जलका बुवा राजेन्द्र र काका जनकले टोपबहादुरकी पत्नी गोमा जिसीको खातामा १९ लाख ९८ हजार रुपैयाँ जम्मा गरिदिएका थिए। तर, दुबई पुगेपछि एन्जल बोलिभियाका लागि उड्ने ठेगान भएन।
दुबईमा उनलाई दुई महिना राखियो।
हवाई मार्गबाट बोलिभिया जाने टुंगो नलागेपछि हिँडेरै जाने कुरा भयो। हिँडेरै जाने हो भने त्यो व्यवस्था पनि मिलाइदिन्छु भन्दै टोपबहादुरले जनकलाई फोन गरे। यो कुरा जनकले दाइ (एन्जलका बुवा) राजेन्द्रलाई सुनाए।
त्यसपछि थप ३२–३३ लाख रुपैयाँ लाग्ने भनियो। र, त्यसमा मञ्जुरी भएपछि एन्जललाई दुबईबाट युक्रेन, फ्रान्स हुँदै कोलम्बिया पुर्याइयो।
कोलम्बिया पुग्दा एन्जलसँग अरू दुईजना नेपाली पनि थिए। कोलम्बियाबाट ब्राजिल जाने योजना थियो। त्यसक्रममा एन्जल र अर्का एक नेपालीलाई कोभिड देखिएपछि उनीहरूलाई कोलम्बियामै क्वारेन्टिनमा राखियो। कोभिड नदेखिएका एक जना मात्र पूर्वयोजनाअनुसार ब्राजिलतर्फ लागे।
२०–२२ दिनपछि टोपबहादुरले उनीहरू क्वारेन्टिनमा बसेको होटेलबाट भाग्ने व्यवस्था मिलाए। भागेर केही दिन लुकेर बसेपछि एन्जल र अर्का नेपालीलाई कोलम्बियाको निकोक्लीबाट कापुरगाना लैजाने योजना बनिरहेको थियो। त्यहीबेला एन्जलले काका जनकसँग फोनमा कुरा गरेका थिए।
“एन्जलले आइतबार यहाँबाट जाने कुरा छ, त्यहाँबाट एक हप्तामा मेक्सिको पुग्छ, यो एक हप्ता मोबाइल चल्दैन, मेक्सिको पुगेर कुरा गर्छु भनेको छ भनेर मलाई जनकले सुनाएको थियो। त्यसपछि एन्जलको कहिल्यै फोन आएन,” राजेन्द्र भक्कानिए।
२०७८ असार ७ गते। एन्जलले अमेरिका पुगेर फोन गर्छन् होला भनेर राजेन्द्र कुरिरहेकै थिए। एकाएक त्यो दिन अमेरिका हिँडेको छोरा बीच बाटोमै डुंगा दुर्घटना भएर बेपत्ता बनेको खबरले राजेन्द्रको परिवारमा भुइँचालो ल्यायो। रुवाबासी शुरू भयो। त्यो रुवाबासी रोकिन केही दिन होइन, महिनौँ लाग्यो।
राजेन्द्रका अनुसार एन्जललाई अमेरिका पुर्याउने तारतम्य मिलाएका टोपबहादुरले समुद्री बाटो जानुपर्छ, डुंगामा समुद्र पार गर्नुपर्छ भनेर कहिल्यै भनेका थिएनन्। जंगल नै जंगल हिँड्ने मात्र हो भनेको उनलाई अहिले पनि सम्झना छ। तर, दुर्घटना भएको खबर आएपछि टोपबहादुरले त्यो दुर्घटनाबारे नै अनभिज्ञता प्रकट गरे।
अचम्म त त्यसपछि टोपबहादुर सम्पर्कमा पनि आउन चाहेनन्। बिस्तारै सम्पर्कबिहीन नै बने।
“हामीले घटना भइसकेपछि त्यो घटनामा हाम्रो बाबु (एन्जल) सहित ८ जना नेपाली र अन्य बंगलादेशी परेको थाहा पायौँ,” राजेन्द्र भन्छन्, “घटनामा बाँचेकाहरूसँग कुरा गर्न खोज्यौँ। प्रकाश बिक (एन्जलसँगै डुंगामा सवार नेपाली जो जीवित छन्) सँग कुरा गर्न कति प्रयास गर्यौँ, तर ऊ सम्पर्कमै आउन चाहेन। बरु त्यही डुंगामा सवार बंगलादेशका केही मानिससँग कुरा गर्यौँ।”
त्यो डुंगा दुर्घटनामा छोरा बेपत्ता भएपछि नेपाल प्रहरीले राजेन्द्रलाई पटक–पटक फोन गरेर एन्जललाई अमेरिका पठाइदिन्छु भनेर पैसा लिने व्यक्तिविरुद्ध उजुरी दिन आग्रह गरेको थियो। तर राजेन्द्र ‘मेरो छोरालाई जबरजस्ती घरमा आएर बोकेर लगेको होइन, त्यसैले उजुरी नगरौँ’ भन्दै टारेर बसेका थिए।
त्यहीबेला कोलम्बियाबाट कोभिड नलागेका युवा जो अमेरिका जान ब्राजिल हिँडेका थिए, उनैले ‘दलालले ठगेको’ भन्ने जानकारी दिए। उनले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पनि यसबारे खबर गरे। त्यसपछि अवस्था फेरियो। राजेन्द्र पीडामै थिए। उनका दाजु पूर्ण बुढा मगरले टोपबहादुरविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिए।
अदालतको फैसलाले फेरि अर्को पीडा
एन्जललाई अमेरिका पठाउन राजेन्द्रले गाउँका साहुहरूसँग ३० लाख ७२ हजार रुपैयाँ ऋण लिएका थिए। त्यसपछि पटक–पटक गरी टोपबहादुरकी श्रीमती गोमा जिसीको खातामा रकम जम्मा गरिएको थियो। केही रकम नगद नै पनि बुझाएका थिए।
यसरी रकम बुझाएको प्रमाणसहित २०७८ असार २८ गते एन्जलका ठूलोबुवा पूर्ण बुढा मगरले नेपाल प्रहरीको बबहरमहल, काठमाडौँस्थित मानव बेचबिखन अनुसन्धान व्यूरोमा जाहेरी दिएका थिए। मानव बेचबिखन तथा ओसारपसारको कसुर किटान गरेर जाहेरी दर्ता भएको थियो। जाहेरी घोराही उपमहानगरपालिका वडा नम्बर १४ को मिलनटोलमा बस्ने ३१ वर्षीय टोपबहादुर घर्ती क्षेत्री (जिसी) र शान्तिटोलमा बस्ने उनकी श्रीमती, ३० वर्षीया गोमा जिसीविरुद्ध थियो।
जाहेरीमा विभिन्न मितिमा गोमाको नाममा जम्मा गरिएको रकमको बैंक भौचरलाई समेत प्रमाणका रुपमा रखिएको थियो।
“...मेरो भतिजोलाई अमेरिकामा ५ वर्ष बसेपछि अमेरिकाकै बासिन्दा बन्ने ग्रीन कार्ड पाइन्छ भनी प्रलोभनमा पारी नेपालबाट दुबई, युक्रेन, फ्रान्स हुँदै कोलम्बियाको पोएर्ताे स्कोन्दिदोस्थित क्यारेबियन सागरसम्म पुर्याई मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रकरण ३ मा उल्लिखित प्रतिवादी तथा संलग्न अन्य प्रतिवादीहरू समेतलाई खोजतलास तथा पक्राउ गरी मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम कारबाही गरी पाउनको साथै मेरो भतिजको अवस्थाबारे समेत बुझिपाऊँ,” जाहेरीमा उल्लेख छ।
ब्यूरोले यस घटनामा अनुसन्धान गरेपछि २०७८ साउन २४ गते काठमाडौँ जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार र ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भयो।
जाहेरी दर्ता भएसँगै टोपबहादुरकी श्रीमती गोमा जिसीलाई प्रहरीले दाङबाट पक्राउ गरेको थियो। तर, प्रारम्भिक पेसीमै २०७८ साउन २५ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले उनलाई धरौटी लिएर रिहा गरिदियो।
त्यसपछि यो मुद्दा विभिन्न समयमा न्यायाधीशहरू कोइराला, नवराज दाहाल, विश्वनाथ भट्टराई, दिपककुमार खरेल, किशोर घिमिरे, चन्द्र प्रकाश तिवारी, शकुन्तला कार्की लगायतको इजलासमा पेसी तोकियो। उनीहरूले त्यसक्रममा बयान लिने, बकपत्र गर्ने, साक्षी बुझ्ने, प्रमाण बुझ्ने लगायतका आदेश गरेका थिए। यहीक्रममा २०७९ चैत १९ गते न्यायाधीश शंकरराज बरालले यो मुद्दामा फैसला सुनाउँदै ‘अभियोग दाबी नपुग्ने’ ठहर गरेर टोपबहादुर र गोमालाई सफाइ दिए।
जाहेरीमै प्रमाण जुटाउँदा र बयान/वकपत्रका क्रममा सक्दो प्रमाण बुझाउँदा पनि कसरी मुद्दा हारियो भनेर जाहेरीकर्ता पूर्ण बुढा मगर आश्चर्यमा परेका छन्।
“ब्यूरोबाट मुद्दा हाल्न आउनुस् भनेर पटक–पटक फोन आएपछि भाइ (राजेन्द्र) मुद्दा हाल्न सक्ने अवस्थामा थिएन, त्यसैले मैले मुद्धा हालेको थिएँ,” पूर्णले भने, “त्यतिबेला न्याय नै दिन खोजेको हो कि के हो भन्ने लागेको थियो। टोपबहादुरले पनि हाम्रो बाबुलाई लगेको स्विकारेको छ। पैसा लिएको पनि अदालतमा स्विकारेको छ। त्योभन्दा बढी प्रमाण के चाहिने हो र? प्रमाण हुँदाहुँदै पनि उनीहरूलाई सफाइ दिइएपछि अब न्याय नै नपाइने रहेछ भन्ने लाग्न थालेको छ।”
पूर्णलाई लागेको छ, दलालहरूले पैसाको भरमा न्याय नै किनबेच गर्न सक्छन्। “पीडितहरूले त घरखेत बेचेर, बन्धकमा राखेर दलाललाई पैसा सुम्पिइसकेका हुन्छन्। उनीहरूसँग पछि मुद्दामामिला गर्ने पैसासम्म हुन्न,” उनी भन्छन्।
टोपबहादुरले मुद्दामामिलामा नजान आफूलाई पनि दबाब दिएको पूर्ण बताउँछन्। “उसले एन्जलसँगै क्यारेबियन सागरमा लापत्ता भएका अन्य सात जनाका परिवारलाई पनि पैसा फिर्ता दिने बताउँदै आफूविरुद्ध मुद्दा नहाल्न भनेको थियो,” पूर्ण भन्छन्।
छोरा विदेश पठाउन राजेन्द्रले साहुहरूबाट ३० लाख ७२ हजार ऋण लिएका थिए। छोरा नै क्यारेबियन सागरमा अस्ताएपछि राजेन्द्रले ऋण तिर्न सात कट्ठा जग्गा साहुहरूको नाममा पास गरिदिएका छन्। अझै केही ऋण चुक्ता गर्न बाँकी छ।
पैसा कमाउने लोभमा फसेर असुरक्षित बाटो विदेश पठाउँदा सन्तान गुमाउनुपरेको, त्यसमा आफ्नो पनि कमजोरी रहेको तर त्यसरी असुरक्षित तवरले विदेश पठाउनेलाई पनि कारबाहीको दायरामा ल्याइनुपर्ने राजेन्द्र बताउँछन्।
“हामी पनि पैसा कमाउने लोभमा फस्यौँ, त्यही कमजोरी भयो,” उनले भने, “तर असुरक्षित तरिकाले अमेरिका पठाउने धन्दा गर्ने टोपबहादुर जिसी मुख्य अपराधी हो। ऊ कारबाहीको दायरामा आउनुपर्छ।”
काठमाडौँ जिल्ला अदालतबाट मुद्दा हारे पनि टोपबहादुरविरुद्ध उच्च अदालतमा मुद्दा हाल्ने उनले बताए। “त्यो मान्छे (टोपबहादुर जिसी) ले कसरी जित्यो हामीलाई थाहा छैन, हामीले किन मुद्दा हार्यौँ त्यो पनि थाहा छैन। अदालतले हामीलाई जानकारी गराएको छैन,” उनले भने, “हामी अझै पनि न्याय पाउनेमा आशावादी छौँ। आशा गर्न छाड्दैनौँ। अब उच्च अदालत जान्छौँ।”
‘अमेरिका लैजाने’ मानव तस्करको चपेटामा दाङ र रुकुम
डोल्पा र रुकुमको सीमानामा पर्ने रुकुमको उत्तरी भेगबाट दाङ बसाइ सरेको हो, पूर्ण र राजेन्द्रहरूको परिवार। रुकुममा जहाँ उनीहरू बस्थे, त्यो मगर समुदायको धेरै बसोबास रहेको गाउँ पनि हो। जीविकोपार्जनका लागि भेडा, बाख्रा, च्याङ्ग्रा, घोडा, खच्चर आदि पाल्ने भएकाले हिउँदमा घाँस नपाइने हुँदा तल झर्थे। बाउबाजेले दाङमा जग्गा लिएर भेडा पाल्ने गरेका थिए। त्यही कारण पूर्णहरू पनि हिउँदमा दाङ बस्थे, गर्मीमा रुकुम नै फर्कन्थे।
रुकुममा अहिले उनीहरूको गाउँको परिचय नै फेरिएको छ। किनभने गाउँ नै उर्लिएर अमेरिका जाने लहरमा देखापरेको छ। अवैध बाटोबाट अमेरिका जाने लहर बढिरहँदा त्यहाँ जानेक्रममा अलपत्र पर्ने, दुर्घटनामा पर्ने, कतिले ज्यान गुमाउने र अमेरिका पुगिसकेर पनि ‘डिपोर्ट’ हुने घटना पनि उसैगरी बढेका छन्।
पूर्णका अनुसार दाङ र रुकुमका कैयौँ युवा अवैध बाटोबाट अमेरिका पुग्न प्रयत्नरत छन्। किनभने उनीहरूलाई त्यसमा लोभ्याउने मानवतस्कर अहिले दाङ–रुकुममै केन्द्रित भएका छन्। मानव तस्करको उक्साहटमा कतिपय अमेरिका गइसकेका छन्, कतिपय जानेक्रममा एन्जल जस्तै बाटोमै बेपत्ता भएका छन्। कति पुगेर पनि फर्काइएका छन्। “अहिले दाङ र रुकुममा अवैध बाटो भएर अमेरिका जाने लहर नै चलेको छ,” पूर्ण भन्छन्।
पूर्णका अनुसार रुकुमको सेरापुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा अहिले ‘अमेरिका गाउँ’ भनेर चिनिन्छ।
एन्जलका बुवा राजेन्द्रले पनि गाउँमा कसैले पनि अमेरिका जान लागेको भनेर हल्ला नगर्ने तर चुपचाप अमेरिका जान भने सबै लागिपरेको बताए। छोरालाई पठाउँदा पनि परिवारबाहेक अरूलाई थाहा नदिइएको उनले बताए।
“योसँग जान्छौँ, यसरी जान्छौँ, यसले लैजान लागेको हो भन्ने कुरा हामीले बाबुलाई पठाउँदा पनि भनेका थिएनौँ, दुर्घटना भएपछि मात्र दुनियाँलाई थाहा भयो। जानेहरू गुपचुप गइरहेका छन्,” उनले भने, “नेपालमा तीन कठ्ठा जग्गा बेचे अमेरिका पुग्ने पैसा जुट्छ भन्ने मानसिकता बनेको छ।”
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको एउटा आँकडाले रुकुम र दाङबाट अमेरिका जान थालेका युवाको संख्या कति धेरै छ भन्ने संकेत गर्छ। ब्यूरोको तथ्यांकअनुसार अवैध बाटो हुँदै अमेरिका पुगेकामध्ये ‘डिपोर्ट’ भएर २०७५/७६ मा ४५ जना, २०७६/७७ मा ८३ जना, २०७७/७८ मा ३०, २०७८/७९मा १३ र २०७९/८० मा ६ जना फर्काइएका छन्।
त्यसरी फर्काइएका १७७ जनामध्ये सबभन्दा धेरै रुकुमका ४९ जना छन्। दाङका ३७ जना छन्। त्यसपछि क्रमशः पर्वत, काठमाडौँ, म्याग्दी, रामेछाप, सिन्धुपाल्चोक, बागलुङ, दोलखा, कास्की, चितवन, रोल्पा, झापा, संखुवासभा, ताप्लेजुङ, बाँके, बर्दिया, भोजपुर, धनुषा, गोरखा, रौतहट, काभ्रेपलाञ्चोक, मकवानपुर, लमजुङ, नवलपरासी, मोरङ, पाल्पा, सिरहा, रुपन्देही, सुर्खेत, सुनसरी, स्याङ्जा लगायत जिल्लाका छन्।
अनौठो त के भने अमेरिका जाने क्रममा बाटोमै मृत्यु भएकाका परिवार वा अमेरिका पुगेर पनि फर्काइएकाहरूले उजुरी नै दिन नचाहेको मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रमुख, एसएसपी जीवन कुमार श्रेष्ठ बताउँछन्।
प्रहरी अनुसन्धानले पछिल्लो समय दाङ र रुकुमबाट अमेरिका जाने भनेर हिँडेका धेरै युवालाई टोपबहादुर जिसीले नै पठाएको तथ्य फेला पारेको छ। तर, उनीविरुद्ध उजुरी दिन कोही तयार देखिँदैनन्।
“पीडितहरू, उनीहरूका परिवारहरू उजुरी गर्न नै आउँदैनन्, उजुरी दिनुस् भनेर अनुरोध गर्दा पनि आउँदैनन्,” एसएसपी श्रेष्ठ भन्छन्, “यसले गर्दा अमेरिका लैजाने भनेर कति मान्छे नेपालबाट लगिएको छ, कति घटना भएका छन् भनेर यकिन गर्नै गाह्रो छ।”