बच्चा जन्माउने विषय सधैँ दम्पतीको वशमा हुँदैन भन्ने मजासँग जान्दछु। बच्चा जन्माएर जीवन सार्थक हुने र बच्चा नहुँदा जीवनमा अनर्थ र अपूर्ण हुने कुरा मान्दिनँ।
घरको पिँढीमा राखिएको गाग्री र गाग्रीनजिकै रहेको अम्खोरालाई हेरिरहेँ। झट्ट हेर्दा आमा र बच्चाझैँ प्रतीत हुने ती निर्जीव वस्तु देखेर मनमा फेरि अनेक विचार उठ्न थाले। त्यो भरिएको गाग्रीको पानी जब अम्खोरामा सारिन्छ, तब अम्खोरा भरिपूर्ण हुन्छ। गाग्री आमाजस्तो लाग्छ, अम्खोरा बच्चाजस्तो। हामी बच्चामा 'आमा छाद्ने, छोरी थाप्ने क्या हो?' भनेर साथीहरूसँग गाउँ खाने कथा भन्ने गर्थ्यौं। मनमा प्रश्न उठ्न थाले, 'म गाग्री कहिले बनुँला?'
हाम्रो विवाह भएको दशक पूरा भएछ। विवाह भएको शुरूआती दिनयता हामीले गर्भ निरोधका कुनै साधन कहिल्यै प्रयोग गरेनौँ। त्यसो हुँदा पहिल्यैदेखि स्वास्थ्यजन्य कुनै कारण गर्भधारण भइरहेको छैन भन्ने ख्याल भयो। तर भर्खरै विवाह भएकाले र बच्चा जन्माउन हतार गर्नुपर्ने उमेर पनि नभएकाले गर्भ धारणबारे उति चासो राखेनौँ। बिहेको तीन चार वर्षसम्म हामीलाई त्यसबारे चिन्ता रहेन। तर आफूले माया गरेको व्यक्ति र आफू मिलेर बनेको अर्को स्वरूप जतिखेर जन्मिई हाले पनि नवजात स्विकार्न हामीलाई कुनै कठिनाइ थिएन।
हाम्रो विवाह भएको साल हाम्रा छरछिमेकका केही घरमा मेरै उमेरका बुहारीहरू थिए। उमेरमा मभन्दा चार पाँच वर्ष कम उमेरका गाउँले नन्दहरू समेत थिए। केही सालपछि ती नन्दहरूको विवाह भयो। गाउँका बाँकी घरका छोराहरू हुर्कँदै गए, बुहारीहरू भित्रिन थाले।
अब गाउँले नन्दहरू माइत आउँदा काखमा नवजात च्यापेर आउन थाले। माइत आउँदा नन्दहरू मसँगको भेटमा भन्थे, 'भाउजू खै त? पाउने सुरसार छैन?' म उनीहरूलाई भन्थें, 'के कुरा गर्नुभएको? आफैँ त बच्चाजस्तो छु। बच्चाले बच्चा पाएपछि कसरी सम्हाल्ने नि?'
विगत सम्झन्छु। एक दिन, एकाबिहानै उल्टी गरेँ। महिनावारी रोकिएको थियो। 'न कतै म आमा पो हुने भइनँ' भन्ने लाग्यो। महिना कटेर अलि पर महिनावारी पुग्दा 'प्रेग्नेन्सी किट' ल्याएर कति जाँचेँ, जाँचेँ। त्यो किटमा 'पोजेटिभ रिजल्ट' आओस् भन्ने कामना गर्थेँ। बिस्तारै महिनावारी डेढ महिना र दुई महिनाको अन्तरालमा हुन थाल्यो। पछि अस्पतालमा जचाउँदा थाहा लाग्यो, मलाई त थाइराइड पो भएको रहेछ। डाक्टरले 'आत्तिनु पर्दैन, सामान्य समस्या हो' भनेर सामान्य डोजको औषधि लेखिदिए।
एक वर्ष औषधि खाएपछि थाइराइड निको भयो। तर शरीरमा फेरि प्रोल्याक्टिन हर्मोनको मात्रा बढ्न थाल्यो। प्रोल्याक्टिनको मात्रा बढ्दा गर्भ नरहने समस्या हुँदो रहेछ। मैले मेरो तर्फबाट गर्नुपर्ने उपचार गर्दै थिएँ। कहिलेकाहीँ निजी समस्याहरूका कारण उपचार बिचैमा टुङ्ग्याउनु समेत पर्थ्यो।
यस बीचमा पारि गाउँकी काकी, वल्लो घरको दिदी, पल्लो घरको माइजूहरूले अनेकन् सल्लाह दिन थाले: 'पारी हाम्रो घरको रमिलाको नि तिम्रोजस्तै समस्या थियो। बिहे भएको पाँच वर्षसम्म पनि बच्चा नभएपछि फलानो माताकोमा गएपछि बच्चा भयो।' अन्धविश्वास र धामिझाँक्रीमा रत्तीभर विश्वास नभए पनि 'लौ न त नि, गइदिऊँ, केही चमत्कार भई पो हाल्छ कि' भन्दै माता, पिता, झाँक्री, बिजुवा, फुक्ने, हेर्ने सबैतिर गइयो। कसैले उल्टा खानुपर्छ भने कसैले कोख मरेको छ भने। वीर मसान उठाएर लगाइदिएको छ भनेर कसैले भने।
घरतिरको एक जना आफन्तले त 'यिनीहरूबीच पहिलेदेखि नै मन परापर भएको, उति नै खेर गर्भपतन गराएका पनि हुन सक्छन्' समेत भन्न भ्याए। तिनको प्रश्नले मलाई उदेक लाग्यो। उति माया गरेको मान्छेको अंश आफूभित्र हुर्केको छ भन्ने थाहा हुँदाहुँदै म कसरी त्यस्तो अनर्थ गर्न सक्थेँ हुँला र?
लकडाउनको समयमा माइतीमा थिएँ। एक जना नजिकका आफन्तले त 'बच्चा नभएर बुढाले छोड्दिएको' समेत भन्न भ्याए।
मैले यस्ता प्रतिक्रियालाई समाज जाँच्ने 'इन्डिकेटर'का रूपमा लिएँ। तर साह्रै कमजोर मान्छेलाई यस्ता विषयले कति उद्विग्न बनाउँला भनेर सोच्छु म। वर्तमानका छोरी-बुहारीहरूले त यस्ता विवेकहीन प्रश्नहरूको सामना गर्नुपर्छ भने हाम्रा हजुरआमाहरूले कसरी झेले होला समाज? प्रशस्त छोरी जन्माउँदा पनि उहाँहरूलाई सुख थिएन, छोराको आसमा लगातार बच्चा जन्माउनु पर्ने बाध्यता थियो। बच्चा जन्माउने यन्त्रझैँ थिए बज्यैहरू। सन्तान नहुनेलाई सिधै सौता हालिन्थ्यो। 'बाँझी र थारो'जस्ता अपमानजनक वचन लगाइन्थ्यो। त्यस अँध्यारो युगमा महिलाहरूले साँच्चै कुन भुक्तमान व्यहोर्नुपर्थ्यो, सम्झँदा पनि कहाली लाग्छ।
लेखको प्रारम्भतिर उल्लेख गरेको छु, 'बच्चा जन्माउने भन्ने विषय सधैँ दम्पतीको वशमा हुँदैन।' अर्को कुरा के पनि हो भने सन्तान नहुँदा जीवन सार्थक हुँदैन भन्ने कुरा अँध्यारो युगको सत्य हो। यस युगको अफवाह हो। डुंगे युगका पुर्खाहरू 'रित्तो कोख'का भाष्यकार हुन्। त्यस जमानामा बच्चा जन्माउने विषय शक्ति, सम्पत्ति र साखसँग जोडिएको थियो। मुढे बल नै उत्पादनको साधन बन्ने जमानामा बच्चा उत्पादन आफैँमा सबै कुराको केन्द्र हुनु स्वाभाविक थियो। त्यसमाथि दशौँ जना जन्मेर दुई तीन वटा बच्चा बाँच्ने समय थियो त्यो। मैले बाँचेको जमाना भौतिकसँगै मानसिक श्रमको पनि हो।
म मात्र होइन, मजस्ता धेरै महिला दिदीबहिनीहरू यो समस्याबाट गुज्रिनुभएको छ। नेपाली नागरिक भारतीय मुलुकका अभिनेत्री मनीषा कोइराला पाठेघर क्यान्सर पीडित हुन्। पाठेघर फ्याँकिसकेकी उनी अब पाठेघरका कारण आमा बन्न सम्भव छैन। यद्यपि, अन्य आधुनिक प्रविधिको सहायताले जैविक आमा बन्न असम्भव हुनेचाहिँ होइन।
उनले 'हिल्ड' (नेपालीमा जिजीविषा) शीर्षकमा आफ्नो जीवनी छपाएकी छन्। त्यसमा उनले आफूलाई आमा बन्न एकदम रहर भएको बताएकी थिइन्। विभिन्न नेपाली तथा विदेशी मिडियालाई दिएको अन्तर्वार्तामा मनीषाले भनेकी छन्, 'उमेर बितिसकेपश्चात् आफैँ बच्चा जन्माउन कत्तिको सम्भव छ, त्यो मलाई थाहा छैन। केही समयअघि मैले धर्मपुत्र राख्ने कि भन्ने सोचेकी थिएँ। सम्भवतः केही वर्षपश्चात् त्यही गर्छु होला।’
बच्चा पाउने कुरा हाम्रो संस्कृति र मनोविज्ञानमा गहिरोसँग जोडिएको हुनाले त्यसलाई धेरैले इज्जत र आत्मसम्मानको विषय बनाउँछन्, जबकि विश्वको जनसंख्या बढ्दै जाँदा र मान्छे नै मूल प्रदूषक भएकाले कतिपय देशमा प्रजननको विषयलाई उल्टै पृथ्वीको बोझ भन्दै 'एन्टी नाटालिस्ट अभियान' (बच्चा जन्माउने कुरा नैतिक रूपमा गलत ठान्ने अभियान) चलेका छन्। विश्वको जनसंख्या आठ अर्ब नाघ्दै गर्दा पश्चिमा देशहरूमा बच्चा नजन्माउनेहरूको संख्या पनि बढ्दै छ।
पछिल्लोपटकको स्वास्थ्य परीक्षण (टाउकोको एमआरआई) बाट मेरो पिटुटरी ग्ल्यान्डमा सानो ट्युमर भएका कारण शरीरमा हर्मोनको असन्तुलन भइरहेको थाहा लाग्यो। हर्मोन सन्तुलनका लागि अहिले डाक्टरको सल्लाहअनुसार औषधि खाँदैछु। स्वास्थ्य अवस्था सामान्य हुँदा गर्भ रहला भन्ने अपेक्षा पनि छ। यसमाथि अरू समस्या थपिए नै भने पनि आधुनिक चिकित्सा विज्ञानले बाउआमा बन्न रहन गर्नेहरूका लागि आईभीएफ (टेस्ट ट्युब प्रविधि) लगायत उपायहरू पनि ल्याएकै छ। आवश्यक पर्दा र सहज हुँदा तिनको प्रयोग पनि गरिएला।
बच्चा जन्माउने विषय सधैँ दम्पतीको वशमा हुँदैन भन्ने मजासँग जान्दछु। बच्चा जन्माएर जीवन सार्थक हुने र बच्चा नहुँदा जीवनमा अनर्थ र अपूर्ण हुने कुरा मान्दिनँ। 'बच्चा भइदिए, आफूबाट खन्याएर त्यसलाई भरुँला, त्यसलाई फुलाउँला' भन्ने मातृ सोच पक्कै छ, तर बच्चा नहुनुको कष्टलाई जीवनकै भीषण कष्टका रूपमा मैले बुझेको छैन। तर, यही समाजमा हुर्केका हुनाले अरूका प्रश्नले मेरो बाटो बिथोल्छन्, 'विवाह भएको त धेरै वर्ष भयो हैन? छोराछोरी नपाउने? कि लोग्ने स्वास्नीबीच राम्रो सम्बन्ध छैन?' यस्ता प्रश्नहरू दोबाटो, चोक र बजारमा पर्खेर बस्छन् मलाई। तर 'इट्स नन् अफ योर बिजनेस' (तिम्रो चासोको विषय होइन यो) भन्ने टर्रो उत्तर दिएर कसैको अप्रिय पनि हुन मलाई मन छैन।
म बेलाबेला सडकमा हात फैलाइरहेका बालबच्चा देख्छु। गैरमानव असंख्य जीव देख्छु। अनि महसुस गर्छु, 'सन्तान जन्माउनु अति सामान्य र स्वाभाविक जैविक क्रिया हो, तर जन्म दिइसकेपछि सन्तानको पालनपोषण, शिक्षा र आनीबानी धेरै चुनौतीपूर्ण हो।'
यी सबै तर्कका बीच प्राकृतिक मातृ-लालसा ममा छ। तर, बच्चा नहुँदामै मेरा लागि पहाड खस्नेछैन। मलाई थाहा छ कि धर्तीका सबै जोडीले पुनः उत्पादन नगर्न पनि सक्छन्। त्यसो हुँदाहुँदै पनि ऐन मौकामा आपत्तिजनक टिप्पणीका लागि केही सज्जनहरू मुख उदाएर बसेका हुन सक्छन्। समझदार श्रीमान् र परिवारको साथ हुँदा समाजका बांगाटेढा प्रतिक्रियालाई सहजै झेल्न सकिनेछ। मलाई त्यो सबै प्राप्त छ। त्यसैले म ढुक्क छु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
