लगातार ६ खेलमा पराजय बेहोरेपछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिए। त्यसपछिका चार खेल प्रशिक्षविहीन खेलेको मनाङले पछिल्लो पटक आर्मीविरुद्ध जित हात पारेको थियो।
काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब लगातार छैटौँ खेलमा जितविहीन बनेको छ। दशरथ रंगशालामा आइतबार दिउँसो भएको पहिलो खेलमा विभागीय टोली एपीएफसँग २–२ गोलको बराबरी खेलेको हो।
लिगमा पछिल्लोपटक लगातार ६ खेलमा पराजय बेहोरेपछि प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका थिए। त्यसपछिका चार खेल प्रशिक्षविहीन खेलेको मनाङले पछिल्लोपटक अर्को विभागीय टोली नेपाल आर्मीसँग १–० गोल अन्तरको जित हात पारेको थियो।
त्यसपछि मनाङले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक बनाएर भित्र्याएको थियो। तर, अघिल्लो संस्करण संकटा क्लबलाई सातौँ स्थानमा पुर्याएपछि एकाएक चर्चामा आएका विष्णुले पनि मनाङको खराब लयलाई सुधार गर्न सकेनन्। आर्मीसँग जित हासिल गरेपछि मनाङको टचलाइन विष्णुले सम्हालेका थिए।
त्यसयता मनाङले सातदोबाटो यूथ क्लबसँग (०–०), नेपाल पुलिससँग (२–२), हिमालयन शेर्पासँग (१–१), जावलाखेल यूथसँग (२–२) र संकटासँग (२–२) बराबरी खेल्यो।
लिगमा मनाङ एपीएफविरुद्ध अपराजित रहेको छ। मनाङले पहिलो लेगमा एपीएफमाथि २–१ गोल अन्तरको जित हात पारेको थियो।
आइतबार खेलको १३औँ मिनेटमै मनाङले शुरूआती अग्रता लिएको थियो। मिडफिल्डबाट आएको बललाई मनाङका सुमित श्रेष्ठले अगाडि बढाइरहेका थिए।
पछाडिबाट लेफ्ट ब्याक विश्वास उदासले बल खोस्ने क्रममा सुमितलाई डिबक्सभित्र लडाएपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले पेनाल्टी दिए। उक्त पेनाल्टीलाई कोफी कुडोले गोलमा परिणत गरे। जारी लिगमा कोफीको यो नवौँ गोल हो। उनी मनाङका सर्वाधिक गोलकर्तासमेत हुन्।
प्रज्ज्वलले विश्वासलाई सिधै रातो कार्ड दिएका थिए। त्यसपछि एपीएफ १० खेलाडीमा सीमित भएको थियो। त्यसको सात मिनेटपछि नै एपीएफ खेलमा फर्कियो।
साहिद अजिजले एपीएफका खेलाडीलाई डिबक्स एरियानजिक लडाएका थिए। प्राप्त फ्रिकिकमा कप्तान नवीन लामाले गोल गरे। उनले फस्ट बारको बटम कर्नरमा प्रहार गरेको बललाई मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले सही जज गरे पनि बचाउन सकेनन्।
२६औँ मिनेटमा मनाङ खेलमा फर्कियो। मिडफिल्डबाट आएको बललाई सुमित श्रेष्ठले वान भर्सेस वानको स्थितिमा गोल गरे। पहिलो हाफमा २–१ गोल अन्तरले अगाडि रहेको मनाङले सो अग्रता कायम राख्न सकेन।
६४औँ मिनेटमा एपीएफका अर्मान्ड बिडोमले बराबरी गोल फर्काए। दायाँ साइडको डिबक्स नजिकबाट नवीन लामाले प्रहार गरेको फिक्रिक बललाई मनाङका दुई डिफेन्डर चेतन थारू र रमेश थापाको बीचमा रहेका बिडोमले हेडरमार्फत् बललाई जाली चुमाए।
त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्।
बराबरीसँगै मनाङ आठौँ स्थानमा यथावत् रहेको छ। मनाङले २० खेलमा ५ जित, ९ बराबरी र ६ हारको नतिजा बेहोरेको छ। मनाङको २४ अंक रहेको छ।
तीन खेलपछि एपीएफलाई एक अंक
विभागीय टोली नेपाल आर्मीलाई ३–० गोल अन्तरले पराजित गर्दै सनसनी मच्याएको एपीएफले तीन खेलपश्चात् मनाङसँग एक अंक खोसेको छ। आर्मीसँगको खेलपश्चात् एपीएफ सातदोबाटोसँग (२–१), पुलिससँग (१–०) र हिमालयन शेर्पासँग (३–२) पराजित भएको थियो।
एपीएफको २० खेलमा २३ अंक रहेको छ। रेलिगेसन जोनमा रहेको एपीएफले ६ जित, ५ बराबरी र ९ हारको नतिजा बेहोरेको छ।
मनाङसँगको खेलपश्चात् कप्तान नवीन लामाले एक अंक भए पनि प्राप्त गर्दा खुशी लागेको सुनाए। तीन खेलमा जितविहीन हुँदा जसरी पनि अंक खोस्ने मनस्थितिका साथ आएकोमा सफल भएको बताए।
"३ या १ भए पनि जसरी पनि अंक खोस्ने बलियो मनस्थितिका साथ आएका थियौँ। तर, खेलको ११औँ मिनेटमै हामी १० खेलाडीमा सीमित रह्यौँ। यद्यपि, पहिलो हाफको तुलनामा दोस्रोमा मनाङलाई हामीले धेरै प्रेसर दिन सक्यौँ," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
