साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक: नेपाल र भारत एउटै समूहमा

भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा परेको छ। यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन्।

काठमाडौँ– भारतमा हुने १४औँ संस्करणको पुरुष ‘साफ च्याम्पियनसिप’को समूह विभाजन सार्वजनिक भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले भारतको नयाँ दिल्लीमा बुधबार गरेको ड्र अनुसार साबिकको उपविजेता नेपाल समूह ए मा परेको छ। यस समूहमा साबिक विजेता भारतसँगै कुवेत र पाकिस्तान पनि रहेका छन्।

साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता हो। माल्दिभ्समा आयोजना भएको १३औँ संस्करणको फाइनलमा भारतले नेपाललाई ३–० गोलअन्तरले पराजित गरेको थियो। साफ इतिहासमा नेपालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो उपलब्धि हो।

भारत भने सर्वाधिक ८ पटकको उपाधि विजेता हो। भारतले ११९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा उपाधि जितेको थियो।

यता, पाकिस्तान भने १९९७ मा तेस्रो भएको थियो। उक्त प्रतियोगितामा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पाकिस्तानले श्रीलंकालाई १–० गोलअन्तरले पराजित गरेको थियो।

यसपटक दक्षिण एशिया बाहिरका दुई राष्ट्रले पनि साफमा प्रतिस्पर्धा गर्दै छन्। समूह ए मा परेको कुवेत आमन्त्रित टोली हो। कुवेत फिफा वरीयतामा १४३औँ स्थानमा छ।

कुवेतले सन् १९८० मा एशिया कप जितेको थियो। समूह बी मा लेबनान, भुटान, मालदिभ्स र बंगलादेश छन्। मालदिभ्सले दुई पटक साफ जितेको छ। उसले २००८ र २०१८ मा उपाधि जितेको थियो।

यता, बंगलादेशले भने २००३ मा उपाधि जितेको थियो। भुटान २००८ मा सेमिफाइनल पुगेको थियो। महासंघले यसअघि साउदी अरबको यू–२३ टोली र मलेसियालाई सहभागिताका लागि प्रस्ताव गरेको थियो।

साउदी विश्व वरीयतामा ५४ र मलेसिया १३८औँ स्थानमा छन्। तर, उनीहरूले अस्वीकार गरेपछि कुवेत र लेबनानलाई आमन्त्रित टोलीका रूपमा सहभागिता गराउन लागेको महासंघले जनाएको छ।