Saturday, May 04, 2024

-->

काभा भलिबल : अब्बल प्रतिस्पर्धी, 'बदलाको भावना'मा नेपाल

नेपालले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्ने मौका कमै पाउँछ। यसपटक काभा वुमन्स भलिबल खेल्न लागेको नेपालले काजकस्तान, किर्गिस्तान र उज्वेकिस्तानसँगै वरीयतामा माथि रहेको भारत लगायतसँग खेल्नेछ।

काभा भलिबल  अब्बल प्रतिस्पर्धी बदलाको भावनामा नेपाल
फाइल तस्वीर

काठमाडौँ- तीन वर्षअघि घरेलु मैदानमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) खेल्नुअघि नेपालको महिला टोलीले एसियाली क्षेत्रीय प्रतियोगिता सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो। त्यसैले सागमा नेपाललाई स्वार्ण पदकको दाबेदार मानिएको थियो। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतविरूद्ध नेपाल २-१ ले अगाडि थियो। पहिलो सेटमा भारतसँग १९-२५ ले पराजित भएको नेपाल दोस्रो सेटमा २५-२३ र तेस्रोमा २५-२१ ले विजयी भयो। त्यसपछिका दुई सेटमा नेपालमाथि भारत हाबी भयो। चौँथो सेट २५-२० ले र पाँचौँ सेट १५-६ ले जित्दै भारतले उपाधि उचाल्यो।

घरेलु दर्शक, शुभचिन्तक र खेल हेर्न आएका सबै स्तब्ध भए। खेल सकिएपछि खेलाडीहरूको आँखा रसाउन थाल्यो। उनीहरूलाई सम्झाउन हम्मे नै पर्‍यो। 

भारतसँग नेपाली महिला भलिबल टोलीले बेहोरेको हार अनपेक्षित थिएन। समूह चरणको पहिलो खेलमा पनि नेपाल ३-० को सोझो सेटमा पराजित भएको थियो। यद्यपि, फाइनलमा भारतले नेपालीमाथि जुन शैलीमा 'कमब्याक' गर्दै उपाधि रक्षा गर्‍यो, त्यो चाहिँ धेरै हदसम्म अनपेक्षित थियो।

नेपाली टोलीकी कप्तान अरुणा शाही विगतलाई सम्झिँदै भन्छिन्,“त्यो पीडा हामीलाई मात्र थाहा छ। घरेलु मैदानमा पुनः हामीलाई दर्शकको साथ हुने छ, त्यसले हामीलाई प्लस पोइन्ट हुने छ। त्यसैले यस पटक भारतलाई हराएर बदला लिने अवसर हामीसँग छ।”

कुनै पनि टोलीको स्तर तबसम्म बढ्दैन, जबसम्म उसले आफूभन्दा बलिया टोलीसँग खेल्दैन। नेपाली टोलीको मुख्य समस्या यही हो। आर्थिक समस्याका कारण बलिया टोलीलाई नेपालमै बोलाएर खेल्न या उनीहरूकहाँ पुगेर खेल्न यस्तै प्रतियोगिताको भर पर्नुपर्ने कप्तान अरुणा बताउँछिन्।

यसपटक सेन्ट्रल एसियन भलिबल संघ (काभा) ले नेपाललाई खोजेको जस्तै अवसर जुराइदिएको छ। प्राय: दक्षिण एसियाका टोलीसँग मात्रै खेल्दै आएको नेपालले जेठ ६ देखि १५ गतेसम्म आयोजना हुने काभा वुमन्स भलिबल च्यालेन्ज कपमा यसपटक मध्य एसियाका काजकस्तान, किर्गिस्तान र उज्वेकिस्तानसँगै वरीयतामा आफूभन्दा माथि रहेको भारतसँग खेल्ने छ। यसका अतिरिक्त नेपालले बंगलादेश, माल्दिभ्स र श्रीलंकासँग पनि आफ्नो क्षमता प्रदर्शन गर्ने छ।

काभाले यसअघि वरीयताका आधारमा १४ सदस्य राष्ट्रलाई वर्गीकरण गरी प्रतियोगिता आयोजना गर्दै आएको थियो। शीर्ष वरीयतामा रहेका काजकस्तान र भारतीय टोलीसहित अफगानिस्तान, इरान, ताजकिस्तान, तुर्कमिनिस्तान र पाकिस्तान रसियन ब्लकमा रहेर खेल्दै आएका थिए। त्यसैले नेपालको प्रतिस्पर्धी तल्लो वरीयताका माल्दिभ्स, भुटान, बंगलादेश, उज्वेकिस्तान, किर्गिस्तान र श्रीलंका मात्रै थिए।

नेपालले तल्लो वरीयताका प्रतियोगितामा दुईपटक उपाधि जितिसकेको छ। सन् २०१९ मा बंगलादेशमा आयोजना भएको सेन्ट्रल जोन भलिबल प्रतियोगितामा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले पहिलोपटक उपाधि जितेको थियो। त्यो नै नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। 

त्यसको दुई वर्षपछि बंगलादेशमै उज्वेकिस्तानलाई ३-२ सेटमा पराजित गर्दै पुनः नेपालले उपाधि रक्षा गर्‍यो। यस पटकको प्रतियोगितामा काभाले सबै टोलीलाई एउटै हैसियतमा समावेश गर्दै नेपाललाई घरेलु मैदानमा सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने अवसर जुराइदिएको छ। 

नेपालले अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगितामा भारतलाई अहिलेसम्म हराउन सकेको छैन। भारतको इतिहास कति बलियो छ भने उसले सन् १९९१ यता साग राष्ट्रसँग खेल्दा महिला भलिबलमा स्वर्ण गुमाउनु त परै जाओस्, एक खेल पनि हारेको छैन। अन्तिमपटक भारतले श्रीलंकासँग हार बेहोरेको थियो।

त्यसयता हरेकपटक महिला भलिबलमा भारतको निकटतम प्रतिद्वन्द्वी श्रीलंका नै मानिँदै आएको छ। यता, काजकस्तानसँग भने नेपालले अहिलेसम्म खेलेको छैन। त्यही पनि सेमिफाइनल हुँदै फाइनलसम्म पुग्न भारतमाथि उत्कृष्ट नतिजा हात पार्नेपर्ने दबाब रहेको कप्तान अरुणा सुनाउँछिन्।

“पहिला चाहिँ हामीसँग स्ट्रङ स्पाइकरहरू थिए। यसपटक स्पाइकरहरू त्यो लेभलका छैनन्, तर टिम कम्बिनेसन, कोअर्डिनेसन र फर्मेशन चाहिँ पहिलाको भन्दा राम्रो छ। त्यसैले राम्रो गर्छौँ भन्ने होप छ,” उनी भन्छिन्, “सबैको लक्ष्य उपाधि जित्ने नै हो। हाम्रो पनि लक्ष्य त्यही हो। पहिला भारतलाई बिट गरेनौँ भने सेमिफाइनमा काजकस्तान प्रतिद्वन्द्वी हुने छ। त्यसैले भारतलाई पराजित गर्नेपर्छ।” 

नेपालको मजबुत पक्ष भनेको स्पाइक हो। सन् २०१४ मा नेपालमा आयोजित दक्षिण एसियाली आमन्त्रित भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टोलीको जर्सी पहिरेकी न्यू डाइमन्ड एकेडेमीकी प्रतिमा माली र विभागीय टोली एपीएफकी सरस्वती चौधरी करिब आठ वर्षयता नेपाली टोलीको मेरुदण्ड झैँ भएर उभिए। तर, यस पटक उनीहरूलाई एकसाथ कोर्टमा देख्न पाइने छैन। 

प्रशिक्षणको क्रममा घुँडामा चोट लागेपछि प्रतिमाले यो प्रतियोगिता गुमाउने छिन्। भरखरै घुँडाको शल्यक्रिया गरेको कारण उनको साथ सरस्वतीले पाउने छैनन्। प्रतिमाको स्थान निरूता ठगुन्ना र उषा भण्डारीले लिने छिन्। उनीहरू नेपाली टोलीका लागि नयाँ खेलाडी हुन्। 

“टिममा अप एन्ड डाउन हुँदा प्रतिमाको अभाव खड्किने छ। अनुभवी खेलाडी हुँदा टोलीका अन्य खेलाडीको मोरल हाई हुन्छ, यता विपक्षी टोलीलाई पनि कतै न कतै डर त हुन्छ नै। तर, यस पटक प्रतिमा टोलीमा छैनन्। उनको स्थानमा अन्य युवा खेलाडी छन्। तर, उनीहरूले पनि राम्रो गर्न सक्छन्,”  सहायक प्रशिक्षक जगजित भट्ट भन्छन्।

१३औँ सागमा सहभागी टोली बनाउँदा प्रशिक्षक भट्टले चर्को आलोचना खेप्नुपरेको थियो। उनले अनुभवी कप्तान विनिता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङलगायत केही सिनियर खेलाडीलाई अन्तिम टोलीमा समेटेनन्। टोलीमा उनले आधाभन्दा धेरै नयाँ अनुहार थपेका थिए। थपिएकासँग अन्तर्राष्ट्रिय खेलको अनुभव थिएन। 

यसपटक पनि नेपाली टोलीमा अधिकांश खेलाडी नयाँ नै छन्। स्पाइकर पूजा चौधरी र रिमा कुँवर, मिडल ब्लकर संगम महतो र कविता भट्ट, लिबरो शान्तिकला तामाङ र सेटर प्रगति नाथ पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्। नेपालकी मुख्य स्पाइकर प्रतिभा टोली बाहिर छिन्। ‘ब्याक पेन’बाट ग्रसित स्पाइकर कामना विष्टले टोलीमा पुनरागमन गरेकी छन्।

यता, कप्तान अरुणाले पनि प्रतियोगिता पूरा खेल्न सक्छिन् कि सक्दिनन् भन्नेबारे चिन्ताको विषय बनेको छ। उनको यसअघि कुर्कुच्चामा चोट लागेको थियो। अनुभवी खेलाडीहरू सलिना श्रेष्ठ, उषा भण्डारी र सोफिया पुन तीन वर्षदेखि लगातार राष्ट्रिय टोलीबाट खेलिरहेका छन्।

त्यसैले नेपाली टोली नयाँ अनुहारमा भर परेको छ। तर, यस पटक विदेशी प्रशिक्षकको पनि साथ पाएकाले प्रतियोगितामा उनीहरूले राम्रो प्रदर्शन गर्नेमा आशावादी देखिन्छन् भट्ट। “टोलीमा अनुभवी खेलाडी हुँदा र नहुँदा फरक त परिहाल्छ। तर, यस पटक नयाँ र युवा खेलाडी भए पनि हामी गर्न सक्छौँ भन्ने आँट उनीहरूमा छ। त्यो सबल पक्षजस्तो लाग्छ। त्यसैले राम्रो प्रदर्शन गर्नेछौँ भन्नेमा विश्वस्त छु,” उनले भने।

अघिल्ला दुई संस्करण नेपाली टोलीले सेन्ट्रल जोन भलिबलको उपाधि जित्दा मुख्य प्रशिक्षकको भूमिकामा भट्ट नै थिए। यस पटक उनको भूमिका पनि फेरिएको छ। उनी एक स्थान तल झरेर जान डी ब्रान्टलाई सहायक प्रशिक्षकको रूपमा साथ दिइरहेका छन्। 

नेपालले यस पटक बेल्जियमका पूर्वसेटर ब्रान्टलाई प्रशिक्षकको रूपमा भित्र्याएको हो। उनी अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)को सहयोगमा नेपाली महिला टोली सम्हाल्न आइपुगेका हुन्। ६ महिनाको नेपाल बसाइ अवधिमा एसियन गेम्सको लागि समेत टोली तयार पारिदिने जिम्मेवारी उनको काँधमा छ। 

दुई दशकभन्दा बढी प्रशिक्षकको भूमिकामा रहेका ब्रान्टलाई नेपाली भलिबलबारे भलिभाँती थाहा छ। करिअरको उत्तरार्द्धमा पुगेको उनी एसियन गेम्ससम्म नेपाली टोलीमा हुने छैनन्। त्यसैले उनले अहिले नै टोली राम्रो बनाउन जोड दिएका छन्। 

त्यसैले नेपाली टोली उपाधिका लागि भन्दा पनि राम्रो भलिबल खेल्न कोर्टमा उत्रिने उनी बताउँछन्। “मेरो उद्देश्य नेपाली टोलीलाई उत्कृष्ट बनाउने हो। त्यसबाहेक मैले केही सोचेको छैन। अर्को कुरा म हाम्रा विपक्षी टोलीबारे पनि अनविज्ञ छु। नेपाली टोली उत्साही युवा खेलाडीले भरिएको छ,” उनी भन्छन्,“नतिजा राम्रो निकाल्न खेलाडीको फिटनेस र शरीरको बनावटको पनि महत्त्वपूर्ण भूमिका हुने छ। हाम्रोमा अग्ला कदका खेलाडी धेरै छैनन्। त्यसैले टेक्निकल कुरामा जोड दिइरहेको छु।” 

सागको फाइनलमा भारतसँग पराजित हुँदा नेपालको सर्भिस र रिसिभ कति कमजोर रहेको थियो भन्ने छताछुल्ल भएको थियो। निर्णायक मानिएको पाँचौँ सेटको सर्भिस र रिसिभमा नेपाल नराम्ररी चुकेको थियो। यस पटक त्यसलाई सुधार्दै डिफेन्समा पनि पर्याप्त काम गरेको उनको भनाइ छ।


सम्बन्धित सामग्री