न्युकासलको घरेलु मैदानमा आर्सनलको जित, वेष्टह्यामसँग युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा उपाधि होडमा रहेको आर्सनलले आइतबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई पराजित गरेको छ।

काठमाडौँ- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा उपाधि होडमा रहेको आर्सनलले आइतबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई पराजित गरेको छ। उता, वेष्टह्यामसँग म्यान्चेस्टर युनाइटेड पराजित भएपछि न्युकासलको तेस्रो स्थान सुरक्षित भएको छ।

आइतबार रातिको खेलमा दोस्रो स्थानको आर्सनलले घरेलु टोली न्युकासललाई २-० ले हराएको हो। जितसँगै आर्सनलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १ अंकमा झार्न सफल भएको छ। तर, सिटीले एक खेल कम खेलेको छ।

न्युकासलको मैदान सेन्ट जेम्स पार्कमा आर्सनलका लागि कप्तान मार्टिन आडेगार्डले १४औं मिनेटमा गोल गरेका थिए। अर्को गोल भने न्युकासलका फाबियन सारले ७१ औं मिनेटमा आत्मघाती गरेका थिए। यो जितसँगै आर्सनलले ३५ खेलबाट ८१ अंक जोड्न सफल भएको छ। सिटी ३४ खेलबाट ८२ अंकसहित शीर्ष स्थानमा छ ।

हारपछि न्युकासल ३४ खेलबाट ६५ अंकसहित तेस्रो स्थानमा यथावत् छ। आइतबार रातिकै अर्को खेलमा म्यानचेष्टर युनाइटेड वेष्टहमसँग १-० ले पराजित भएपछि। न्युकासलको तेस्रो स्थान यथावत् रहेको हो।

वेष्टहमको घरेलु मैदानमा पहिलो हाफमा युनाइटेडका साइद बेनराहमाले गरेको गोल नै निर्णायक बन्यो। युनाइटेड ३४ खेलबाट ६३ अंकसहित चौथो स्थानमा । वेष्टह्याम भने ३५ खेलबाट ३७ अंकसहित १५औं स्थानमा छ।