संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

संवैधानिक परिषद्को बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताए।

काठमाडौँ– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस भएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भने, “आजको संवैधानिक परिषद्को बैठकले हरिकृष्णजीलाई नै प्रधानन्यायाधीशमा जो कायममुकायम प्रधानन्यायाधीश पनि हुनुहुन्थ्यो उहाँलाई सिफारिस गरिएको छ।” उनले प्रधानन्यायाधीशको विषयबाहेक अन्य कुरामा बैठकमा छलफल नभएको बताए।

संवैधानिक परिषद्को सिफारिसपछि कार्कीको संसदीय सुनुवाइ हुने छ। त्यसपछि उनीलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने छन्। सर्वोच्च अदालत २०७८ फागुन १ गतेदेखि कामु प्रधानन्यायाधीशबाट सञ्चालन हुँदै आएको छ।

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको थियो। बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, मन्त्री गुरुङ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपसभामुख इन्दिरा रानामगर सहभागी थिए।