‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सले खुमलटारलाई पराजित गर्दा अर्को खेलमा विभागीय टोली पुलिसले मनाङ मर्स्याङ्दीसँग अंक बाँडेको छ।
काठमाडौँ– खेलमा हारजित सामान्य भए पनि शहीद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेलमा खुमलबाटर युथ क्लबसँग पराजित हुँदाको नतिजालाई फ्रेन्ड्स क्लबका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सामान्य रूपले लिन सकेका थिएनन्।
असन्तुष्ट देखिएका उनले खेल सकिएपछि मेसुके ओलुमोउले ८९औँ मिनेटमा गरेको निर्णायक गोलमाथि नै आपत्ति जनाएका थिए। उनले भनेका थिए, "मैले त देखिनँ, तर मैदानभित्रका खेलाडीले सबै देख्छन् नि! हामीले रेफ्रीको खराब निर्णयबाट हार बेहोरेका हौँ। मेसुकेले गरेको त्यो गोल ह्यान्ड पो रहेछ।"
डिबक्स भित्रबाट फ्रेन्ड्सका दुई डिफेन्डरलाई बिट गर्दै र बल ड्रप गर्दै मेसुकेले गोल गर्दा बल ह्यान्ड थियो। तर, रेफ्री र सहायक रेफ्रीले त्यो देखेनन्। रेफ्रीले नदेखेपछि जति पनि आपत्ति जनाए पनि के भयो र? त्यस खेलको बदला लिन उर्जनलाई १६औँ खेल कुर्नुपर्यो।
च्यासल मैदानमा सोमबार सम्पन्न खेलमा उर्जनको त्यो बदला पूरा गरिछाडे। रेलिगेसन क्षेत्र छाड्ने योजना पनि लिएर मैदान उत्रिएको फ्रेन्ड्स पहिलो हाफदेखि नै खुमलटारमाथि हाबी भयो र ३–१ गोल अन्तरको नतिजा निकालेको छ। जितसँगै १३औँ स्थानमा रहेको फ्रेन्ड्स चार स्थान सुधार गर्दै नवौँ स्थानमा पुग्न सफल भएको छ।
फ्रेन्ड्सलाई जित दिलाउन राफिक अमिनुले दुई गोल गरे। एक गोल सन्तोष खत्रीको नाममा रह्यो। यता, खुमलटारका लागि उनै मेसुकेले एक गोल गरे। तर, त्यो पर्याप्त भएन। खेलको चौथो मिनेटमै घानाका सेन्ट्रल फरवार्ड राफिकले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए। त्यसको १२ मिनेटमै उनले दोस्रो गोल गरे। खुमलटार र थ्री स्टारविरुद्धको दुई खेल गुमाएका राफिकले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
पछिल्ला १३ खेलमा उनको गोल संख्या ११ पुगेको छ। उनी लिगका सर्वाधिक गोलकर्ता मेसुकेभन्दा ३ गोलले मात्रै पछाडि परेका छन्। पहिलो हाफ २ गोलको अग्रता बनाएको फ्रेन्ड्सले दोस्रो हाफमा १ गोल गर्यो भने १ गोल खायो। खेलको ६७औँ मिनेटमा क्यामरुनी फरवार्ड मेसुकेले खुमलटारका लागि गोल गर्दै खेलमा फर्किने संकेत देखाएका थिए। जारी लिगमा उनको यो १४औँ गोल हो। तर, ७८औँ मिनेटमा सन्तोष खत्रीले गोल गर्दै खुमलटारको जित ३-१ ले पक्का गरे।
जितसँगै खुमलटारभन्दा एक स्थान तल रहेर रेलिगेसन जोनमा रहेको फ्रेन्ड्सले आफ्नो स्थान सुधार गरेको छ। फ्रेन्ड्सले १६ खेलमा ४ जित, ५ बराबरी र ७ हारसहित १९ अंक जोडेको छ। फ्रेन्ड्स नवौँ स्थानमा उक्लिएको छ। समान अंक भएको एपीएफ १०औँ स्थानमा छ। यद्यपि, एपीएफले एक खेल कम खेलेको छ। कम्तिमा अर्को खेल अघिसम्म फ्रेन्ड्सलाई ढुक्क हुने वातावरण सिर्जना भएको छ।
सोमबारको खेलअघि १२औँ स्थानमा रहेको खुमलटार एक स्थान तल झरेको छ। रेलिगेसन जोनमा पुगेको खुमलटारको १६ खेलमा १७ अंक जोडेको छ।
संकटा र न्युरोड टिम (एनआरटी)को पनि समान अंक भए पनि एक खेल कम खेलेका छन्। उनीहरू ११औँ र १२औँ स्थानमा छन्।
पुलिसलाई राहत
जसरी पनि रेलिगेसन टार्ने लक्ष्यमा रहेको विभागीय टोली पुलिसले मनाङ मर्स्याङ्दी क्लबसँग अंक बाँडेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा पुलिसले दोस्रो हाफमा कमब्याक गर्दै १ अंक जोडेको हो। पुलिसका लागि दुवै गोल अहमद हिजाजीले गरे। यता, मनाङका लागि रोशन राना मगर र साहिद अजिजले गोल गरे।
खेलको १६औँ मिनेटमा लेवनानी फरवार्ड हिजाजीको गोलमार्फत पुलिसले अग्रता लिएको थियो। तर, ३३औँ मिनेटमा रोशनले मनाङलाई बराबरीमा ल्याए। ४५औँ मिनेटमा अजिजले मनाङलाई २-१ ले अगाडी बढाए।
तर, ७१औँ मिनेटमा हिजाजीले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-२ को बराबरीमा ल्याए। जारी लिगमा मनाङविरुद्ध पुलिसले अपराजित यात्रा कायम राखेको छ। पहिलो लेगमा पुलिसले मनाङलाई १–० गोल अन्तरले पराजित गरेको थियो।
बराबरीसँगै पुलिस १६ खेलमा ४ जित, ४ बराबरी र ८ हारको नतिजासहित १६ अंकका साथ पुछारमा छ। यता, मनाङ समान खेलमा १४ खेलमा ५ जित, ५ बराबरी र ६ हारसहित २० अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
