किरात राई समुदायले उँभौली पर्व मनाउँदै

मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरू आजदेखि लेकतिर लाग्ने चलन छ। 

फाइल तस्वीर

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उँभौली पर्व आज देशभर पूजा आराधना गरी मनाइँदै छ। 

बाली लगाउनुअघि गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दुमी राईले जानकारी दिए। गर्मी शुरू भएसँगै यो समुदाय बेँसीबाट लेकतिर लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो।  

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुंगीलगायत जंगली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ। मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरू आजदेखि उकालो लाग्ने राई बताउँछन्।

“उँभोको अर्थ खेती पाती राम्रो होस्। धेरै होस्, उन्नति होस् भन्ने पनि हुन्छ,” उनले भने, “यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।”

किरात समुदायका विभिन्न सम्प्रदायमा साकेला नाच पनि नाचिन्छ। ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा किरातीहरू भेला भएर पूजा आराधना गर्ने किरात राई यायोक्खाले जनाएको छ। खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने जेठ २२ गतेपछि मात्रै यो पर्व मनाउने गर्छन्।

पूर्वी नेपालमा बाहुन र क्षेत्री समुदायले पनि प्रकृति पूजा गर्ने गरेका छन्।