हराएको २७ दिनमा ६४ किलोमिटर पार गरेर पुरानै मालिककहाँ आइपुग्यो कुकुर

गोल्डेन रिट्रिभर प्रजातिको कुपर नामको कुकुर हराएको २७ दिनपछि पुरानो मालिक फोटोग्राफर निगेल फ्लेमिङकहाँ पुगेको छ।

‘कुुकुरको मायाजस्तो संसारमा कसैको माया हुँदैन’ भन्ने हामीले सुन्दै र देख्दै  आइरहेका छौँ। हालै यस्तै भएको छ, उत्तर आयरल्यान्डको शहर डुंगनानमा। गोल्डेन रिट्रिभर प्रजातिको कुपर नामको कुकुर हराएको २७ दिनपछि पुरानो मालिक फोटोग्राफर निगेल फ्लेमिङकहाँ पुगेको छ।

हराएको २७ दिनपछि कुपर ६४ किलोमिटरको बाटो हिँडेर पुरानै मालिककहाँ फर्किएको हो। हराएको कुपरलाई नयाँ मालिकले पाल्न लगेका थिए, तर भागेर पुरानो मालिकको घर खोज्दै यात्रामा निस्किएको थियो।

सन् २०२३ को अप्रिल ४ देखि हराइरहेको कुकुरलाई भेट्नेले खबर गर्नु भन्दै विज्ञापन पनि दिइएको थियो। तर कुपर हराएको २७ दिनपछि एकाएक घर पुगेपछि मालिक फ्लेमिङ दंग छन्।

उनी भन्छन्, “हराए पनि उसको खोजी जारी राखेको थिएँ। अहिले कुपर र उसकी बहिनीलाई साथमा देख्दा र उनीहरूसँग हुन पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सक्दिनँ। कुपरले थोरै भए पनि खाना खाइरहेको छ। २७ दिनसम्मको दौडधुपका क्रममा गुमाएको तौल र शक्ति संचित गर्दैछ।”