परिवार नियोजनका साधन प्रयोग गर्नुअघि कति जोडीले/महिलाले डाक्टरसँग परामर्श लिन्छन् होला? अझ अविवाहित जोडीको हकमा परामर्शको अवस्था कस्तो होला? यसबारे नेपालको स्वास्थ्य क्षेत्र चिन्तित देखिँदैन।
लेख शुरू गर्नुअघि म प्रस्ट पार्न चाहन्छु कि म कुनै स्वास्थ्यसम्बन्धी विज्ञ होइन र स्वास्थ्यसँग सम्बन्धित कुनै विषयको औपचारिक शिक्षा लिएकी छैन। महिलामाथिको युगौँ लामो उत्पीडन सकिनुपर्छ भन्ने सोचका कारण हर क्षेत्रमा हुने गरेका महिलामाथिको विभेद मात्र मेरो चासो हो। आफू महिला र महिलावादीसमेत भएका कारण महिला स्वास्थ्य र 'सुरक्षित यौनजन्य प्रसाधन'माथि मेरो रुचि छ। यस लेखमा मैले विश्व स्वास्थ्य संगठन र यूएन एड्सका सार्वजनिक तथ्यांक उल्लेख गरेको छु भने विचारलाई मजबुत रूपमा प्रस्तुत गर्न क्यापिटलिस्ट प्याट्रिअर्की एन्ड द केस अफ सोसलिस्ट फेमिनिजम र पोलिटिक्स अफ् दि उम्ब: द पेरिल्स अफ् आइभिएफ, सरोगेसी एन्ड मोडिफाइड बेबिज् नामक पुस्तकको सहायता लिएको छु।
यौन र योनीजन्य सकस
यौन के हो? शोख वा आधारभूत आवश्यकता? यौन दैनिक जीवनको आवश्यकता हो। भलै हाम्रोजस्ता पछौटे देशहरूमा यौनबारे बोल्नु, लेख्नु र सोच्नु पनि गलत हो। महिलाले त यो शब्द सुन्नासाथ शिर निहुराउनुपर्छ। लाजले रातोपिरो हुनुपर्छ। कसैले भनिदिउन्, 'उनका गाला लाजका कारण रगत चुहिएलाझैँ रातो भएको छ, उनी लजालु युवती हुन्।'
'लाज' समाजले लगाइदिएको त्यो गहना हो, जुन महिलाले फुकाल्नु हुँदैन। यौन शब्द नै सुन्न मनाही हुने समाजमा महिलाले यौनको चरम सुख अनुभव गर्न पाउँछन् कि पाउँदैनन्, हाम्रो समाज अध्ययनको यो अर्को विषय हुनसक्छ, तर विकसित भनिने देशमा यो विषयले ठूलो ठाउँ ओगटेको छ। यी कुरा तपशीलमा राख्दै म महिलाको स्वास्थ्य र उनीहरूले प्रयोग गर्ने गर्भ निरोधक साधनबारे कुरा गर्दैछु।
लगभग ७० वर्षीय मेरी हजुरआमा, कति वर्षदेखि आङ खसेका कारण पीडामा हुनुहुन्थ्यो, थाहा भएन। खसेको आङको महाकष्टसमेत सहेर, कसैलाई नभनी कति वर्षसम्म उहाँले दैनिकी धान्नुभयो– यो उहाँलाई नै थाहा होला। हामीले उहाँको समस्या थाहा पाउँदा उमेरकै कारणसमेत शल्यक्रिया गर्न मिल्दैन भनेर डाक्टरले भने, तर हजुरआमाको जीवन नै दाउमा राखेर उहाँको शल्यक्रिया गरियो। आजभोलि उहाँको शरीरबाट सेतो पानी बगिरहँदैन, शरीर गन्हाउँदैन।
मेरी आमाको व्यथा उस्तै हो। महिनावारीमा अत्यधिक रगत बग्ने समस्याले ग्रसित 'मम्मी' रगतले बिछ्यौना नभेटोस् भनेर तन्नामुनि प्लास्टिक हालेर सुत्नुहुन्थ्यो। पछि उहाँको पाठेघर फालियो। अहिले जीवन सहज छ।
सेतो पानी बग्ने समस्याले पीडित धेरै महिला देखेको छु। महिनावारी हुनु केही अगाडि 'ह्वाइट डिस्चार्ज' हुनुलाई सामान्य मान्छ स्वास्थ्य विज्ञानले। यसैलाई मध्यनजर गर्दै बजारमा 'पेन्टी लाइनर'हरू बग्रेल्ती पाइन्छन्। तर यसको प्रयोग गर्नेको संख्या थोरै छ। सेतो पानीले आफ्नो कपडा नभिजोस् भनेर अन्डरवेयरमा टालो हालेर हिँड्ने महिलाबारे हाम्रोमा अध्ययन नभएको पनि हुनसक्छ। अत्यधिक 'सेतो पानी बग्ने'का धेरै कारणमध्ये एउटाचाहिँ गर्भ निरोधक चक्कीको 'साइड इफेक्ट' पनि हो। धेरै बच्चा जन्माउनु वा गर्भ तुहाउनु पनि हो।
गर्भ निरोधक साधन र लिंगभेद
अहिले बजार, क्लिनिक, मेडिकल र स्वास्थ्य चौकीहरूमा थरीथरीका गर्भ निरोधक साधन पाइन्छन्। विश्व स्वास्थ्य संगठनले २०१९ मा निकालेको तथ्यांकअनुसार प्रजनन उमेरका (१५-४९) झन्डै दुई अर्ब महिलामध्ये १.१ अर्ब महिलाहरू 'परिवार नियोजन'को साधन आवश्यक ठान्छन्।
जसमध्ये विश्वभर करिब ८४ करोड महिलाले परिवार नियोजनका साधन प्रयोग गरिरहेका छन्। सन् २००० मा विश्वभर ९० करोड महिलाले परिवार नियोजनको साधन प्रयोग गर्थे, जुन २०२० मा बढेर १ सय १० करोड पुगेको छ। यूएसएडका अनुसार ९२.३ करोड महिलाहरू या त गर्भवती हुन चाहँदैनन् या गर्भधारण ढिलो होस् भन्ने चाहन्छन्। यस्तो चाहना राख्नेको चार भागमा तीन भाग महिलाले परिवार नियोजनको साधन प्रयोग गर्छन्। यसबाट थाहा हुन्छ कि विश्वव्यापी रूपमै 'परिवार नियोजनका साधन'को ठूलो माग र पूर्ति छ।
परिवार नियोजनका साधनमध्ये कन्डम मात्रै त्यस्तो साधन हो, जसले गर्भ रोक्ने र यौनजन्य रोग छेक्ने काम गर्छ। धेरै सुरक्षित साधनका रूपमा चिनिएको कन्डमको प्रयोग भने घट्दै गइरहेको यूएन एड्सको तथ्यांकले देखाउँछ।
मैले यसबारे सानो नमूना अध्ययन गर्न चाहेँ। राजधानीको एउटा गल्लीको सानो 'औषधि पसल'का अनुसार एक हप्तामा त्यहाँ लगभग ३ वटा अबोर्सन पिल्स (गर्भ फ्याँक्ने चक्की), १५ देखि देखि २० वटासम्म 'प्रिग्नेन्सी टेस्टर' (गर्भ रहेको छ कि छैन भनेर जाँच गर्ने साधन), एकदेखि दुई वटासम्म 'कपर टी' (गर्भ रोक्न महिलाको गर्भाशयमा राखिने साधन) र त्यत्तिकै मात्रामा निलोकन ह्वाइट्स र इकोन (गर्भ रहन नदिने पिल्स) किन्न आउँछन्।
पसलकी सञ्चालक दिदी बताउँछिन्, 'यहाँ खासै कन्डम बिक्री हुँदैन। शायद पसलमा म आफैँ रहने भएकाले पुरुषहरू लाजकै कारण कन्डम किन्न नआएका हुन् कि? यहाँ त प्राय: महिला मात्रै गर्भ निरोधक साधन लिन आउँछन्।'
नेपाल सरकारले कतिपय सरकारी स्वास्थ्य संस्थामा 'कन्डम फ्रि' गरेको धेरै भइसक्यो। तीन महिने सुई, कपर टी पनि निःशुल्क नै छ। तर त्यहाँ पनि कन्डमको तुलनामा महिलाले प्रयोग गर्ने साधनकै माग बढी हुन्छ। स्वास्थ्य चौकीमा कार्यरत साथी तथा आफन्तजनबाट मैले धेरै पटक यस्तो तथ्य थाहा पाएको छु।
महिलाका अनेकौँ जिम्मेवारी छन्। परिवार नबढाउने दायित्व उनकै काँधमा छ। महिलाहरू त्यो दायित्वलाई तनमन दिएर पूरा गरिरहेका छन्। केही समयअघि आमाले प्रयोग गरेको आइयूडी (कपरटी) हातमै लिएर बच्चा जन्मिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यो घटनाले महिलाहरूले प्रयोग गर्ने आइयूडीको प्रयोग आफैँमा कति जायज हो भन्नेमा प्रश्न उठेको छ। तर महिलाको स्वास्थ्यमा भने कोही खास ध्यान दिइरहेको पाउन सकिन्न।
काठमाडौँलगायत अन्य शहरमा पर्याप्त विशेषज्ञ डाक्टर हुन् या नहुन् तर 'औषधि पसल' प्रशस्त छन् र डाक्टरको सिफारिसबिना नै 'फर्मसिस्ट'ले नै सुझाएका औषधि प्राय: बिरामीले लिने गरेका छन्।
'द मेडिकल हल: द न्यु समन'मा डेभ बिन लेख्छन्- 'पहिले पहिले नेपालीहरू बिरामी पर्दा धामीझाँक्रीकोमा जाने गर्थे, आजभोलि यो अभ्यास कम हुँदै छ। आधुनिक मेडिकल पसलहरूले 'नयाँ झारफुक केन्द्रको' स्थान पाउन थालेका छन्, किनकि नेपालीहरू सामान्य बिरामी हुँदा डाक्टर या हस्पिटल जानुअघि सिधै औषधि पसलमा गएर औषधि लिन्छन्।' बिनको यही कुरालाई 'यौन स्वास्थ्य र सुरक्षाका शासन' सँग जोडेर हेरौँ।
परिवार नियोजनका साधनहरू प्रयोग गर्नुअघि कति जना जोडीले/महिलाले डाक्टरसँग परामर्श लिन्छन् होला? अझ अविवाहित जोडीको हकमा परामर्शको अवस्था कस्तो होला? यसबारे नेपालको स्वास्थ्य क्षेत्र चिन्तित देखिँदैन। यहाँनिर उल्लेखनीय छ, मोटोपन, महिनावारीमा गडबडी, अनियमित महिनावारी, पेट र कम्मरको दुखाइ, अधिक रक्तस्राव आदिलाई परिवार नियोजनका साधन प्रयोग गरिरहेका महिलाले त्यसको 'साइड इफेक्ट'को रूपमा सजिलै स्वीकार गरिरहेको पाइन्छ।
न महिलाहरूले आफ्नो स्वास्थ्यप्रति ध्यान दिइरहेका छन्, न त उनीहरूका यौन 'पार्टनर'ले। चिकित्सा र पितृसत्ताले महिलालाई परिवार नियोजन साधनको प्रयोगको सवालमा समेत पुरुषको वफादार आज्ञापालक बनाएको छ। निष्क्रिय र समर्पित बनाएको छ। यसबारे नारीवादी स्वास्थ्य समाजशास्त्रीले बिरलै बोलेका छन्। महिलाले प्रयोग गर्ने 'गर्भ निरोधक साधन'को बजारले यसलाई पुष्टि गरिरहेको छ। महिलाको प्रजननको विषयलाई आफ्नो हातमा लिएर नाफा कमाउन व्यस्त छ पुँजीवादी अर्थतन्त्रको औषधि उद्योग।
'अबोर्सन' अधिकार र अबोर्सनको मारमा महिला
महिलाले १९औँ शताब्दीभर अबोर्सन अधिकारका लागि संघर्ष गरे। उतिखेर उनीहरूको माग थियो, 'आमा बन्न चाहने कि नचाहने, त्यसको अधिकार महिलाले पाउनुपर्छ'। स्टेला ब्रोन, पहिलो अधिकारकर्मी हुन्, जसले वैध गर्भपतनका लागि अभियान सञ्चालन गरेकी थिइन्।
कुनै बेला महिला अधिकारका रूपमा लिइएको र लामो संघर्षपछि प्राप्त अबोर्सन गर्न पाउने तथा गर्भ निरोधका अधिकार बिस्तारै महिलामाथि 'कन्ट्रासेप्टिभ' लाद्ने पुरुष सत्तामा परिवर्तन हुन थालेको छ।
'गर्भ निरोधक साधन' कति महिलामैत्री छन्? कुन साधन प्रयोग गर्ने र कुन नगर्ने भन्ने छनोटको अधिकार महिलालाई छ? एकातिर गर्भ निरोधक साधनको प्रयोग बढिरहेको, अर्कोतिर पुरुषले प्रयोग गर्ने कन्डमको प्रयोग घटिरहेको तथ्यांकले आउँछ। यसको सिधा अर्थ हो, महिलाहरू गर्भ निरोधक साधनको मारमा परिरहेका छन्।
परिवारको संख्या कति बनाउनेदेखि देशको जनसंख्या घटाउने जिम्मेवारीसमेत महिलाकै काँधमा छोडिदिएको छ घर, समाजले र राष्ट्रले। अझ डरलाग्दो कुरा त, परिवार र समाजको लागि कुन लिंगको बच्चा जन्माउने भन्ने छनोटका लागि बारम्बार अबोर्सन गराइदिनुपर्ने बाध्यतामा समेत छन् महिला।
शायद, यो बाध्यता अबोर्सन अधिकारका लागि लडेकाहरूले एक छेउ पनि सोच्न सकेका थिएनन् होला। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर ४.७ देखि १३.२ प्रतिशत आमाहरूको मृत्यु असुरक्षित अबोर्सनका कारण हुन्छ। प्रत्येक वर्ष २ करोड ३० लाख छोरीहरू' लिंग पहिचान गरेर गर्भमै मारिन्छन्। एशियामा मात्रै ११.९ प्रतिशत लिंग पहिचानका कारण गर्भमै बच्चा मारिन्छन्, जसमा चीन र भारत क्रमशः उच्च स्थानमा छन्। नेपालमा 'भ्रूणको लैंगिक पहिचान' गरेर अबोर्सन गर्न नपाइने नियम भए पनि अवैधानिक रूपमा यो काम गरिँदै आएको छ।
'कन्डमले यौन सुख दिँदैन'
कन्डमको प्रयोग झन्झटिलो हुने र यौन सुख नपाइने भएकाले 'श्रीमान्' ले प्रयोग गर्न नमान्ने कुरा सुटुक्क आफ्ना साथीसहेलीसँग खोल्छन् नेपालका महिला। त्यसकै विकल्पमा टुप्लुक्क आइपुग्छन्, संगिनी सुई, कपर्टी, निलोकन ह्वाइट्स, इकोनलगायत इमर्जेन्सी पिल्स। यसले स्वास्थ्यमा पार्न सक्ने असरबारे बेखबर छन् महिला।
अर्को कुरा, यी 'गर्भ निरोधक' साधन शतप्रतिशत सुरक्षित पनि हुँदैनन्। यिनको प्रयोगले महिनावारी अनियमित हुने, महिनावारीमा धेरै रगत बग्ने, पेट, कम्मर ढाड दुख्ने, मोटोपन बढाउने, वाकवाक लाग्ने, रिँगटा लाग्ने, यौनांग वरिपरि चिलाउने र सुन्निने, माइग्रेन हुने गर्छ। गर्भ निरोधक साधनले पाठेघर र स्तन क्यान्सरको समेत जोखिम बढाउँछ भने यसले यौन कार्यमा समेत महिलाको रुचि कम गराउने बताइन्छ।
स्वस्थ जीवन सबैको अधिकार हो। महिलाहरूको शरीर व्यापारको साधन पनि होइन, तर यस कुरालाई बेवास्ता गर्दै गर्भ 'निरोधक उद्योग' महिलाको स्वास्थ्यमा खेलबाड गर्दै निरन्तर अगाडि बढिरहेको छ। महिलाको स्वास्थ्य र यौन स्वास्थ्यको कुरा केवल गर्भ निरोधक साधन र अबोर्सनमा मात्र सीमित छैन। 'पोलिटिक्स अफ द उम्ब'मा पिंकी बिरानी प्रश्न गर्छिन्, 'मान्छेहरूको जीवनमा हामी बच्चा चाहन्छौ वा हामी बच्चा चाहदैँनौँ को छनोट हुन्छ कि हुँदैन? केही विकसित देशमा बच्चाबिनै जीवन जिउनेहरू बढे पनि धेरै देशमा बच्चाबिनै जीवन सम्भव छ भन्ने वैचारिक विकल्पसमेत छैन।'
हाम्रोजस्तो विकासोन्मुख देशमा अविवाहित महिलालाई बच्चा पाउने र विवाहित जोडीलाई सन्तान नजन्माउने छुट छैन। बच्चा जन्माउने वा नजन्माउने छनोट हाम्रो समाजले कुनै जोडीलाई दिएको छैन।
पिंकी थप्छिन्, 'कुनै विवाहित जोडीको बच्चा छैन भने उनीहरूले घर, समाजबाट मानसिक दबाब खप्नुपर्छ। यसमा महिलालाई नै बाँझी, पूर्वजन्मको पाप वा उनीहरूको आफ्नै असक्षमताको रूपमा व्याख्या गरेर मानसिक रूपमा निर्बल बनाइन्छ।'
बच्चा नभएका कारण दोस्रो वा तेस्रो विवाह गर्ने पुरुष नेपाल र भारतमा जताततै पाइन्छ। किनकि, नेपाल र भारतमा उति 'आइभीएफ' (टेस्ट ट्युब बेबी) को अभ्यास छैन। यिनै परिस्थितिमा प्रजनन क्लिनिक बढेका छन्। गर्भ निरोधक उद्योगले महिलाको शरीरलाई व्यापारीकरण गरिरहेको छ भनेर धेरै महिलावादीले दाबी गरिरहेका छन्।
पिंकी बिरानी पनि 'थर्ड पार्टी रिप्रोडक्सन' (आईभीएफ, आईसीएसआई) आदि र तिनले निम्त्याउने परिणाम, महिला शरीरको वस्तुकरण, 'सरोगेट' आमाहरूको मृत्यु आदिबारे कुरा गर्दै भन्छिन्, 'आधुनिक स्वास्थ्य विज्ञानले विकसित गरेको गर्भ निरोधक साधनहरू र आइभिएफद्वारा बच्चा बनाइने प्रक्रिया महिला गर्भासयविरुद्ध पितृसत्तात्मक राजनीति हो र महिलालाई आजको विज्ञानले 'प्रजनन दास' बनाइरहेको छ।'
सामाजिक मान्यता र रुढीवादले महिलालाई पहिले नै अनेक खालका सीमामा कैद गरेको थियो। गर्भनिरोधक साधनको आगमन र अबोर्सन गर्न पाउने अधिकारले महिलालाई धेरै हदसम्म स्वतन्त्र बनाएको थियो। तर पुरानो रुढीग्रस्त मान्यतामा टेकेर फेरि गर्भ निरोधक साधनको उद्योगले अनेकौँ प्रपञ्चहरू रचेर महिलामाथि थप शोषण गरिरहेको छ। यसबारे महिला स्वयं सचेत हुनु जरुरी छ। किन भने पुरुषलाई त केबल 'मज्जा'को चिन्ता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
