गाउँपालिकामा भन्दा नगरपालिकामा बस्नेको संख्या बढी

नेपालमा कूल परिवारमध्ये पुरुष परिवारमूली रहेको परिवार ६८.५ प्रतिशत र महिला परिवारमूली रहेको संख्या ३१.५ प्रतिशत रहेको छ।

काठमाडौँ– नेपालको कूल जनसंख्यामध्ये नगरपालिकामा बस्ने जनसंख्या सबैभन्दा बढी रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले नगरपालिकामा बस्नेहरूको कूल जनसंख्या १ करोड ९२ लाख ९६ हजार ७८८ (६६.२) प्रतिशत रहेको र गाउँमा बस्नेको संख्या ९८ लाख ६७ हजार ७९० (३३.८ प्रतिशत) रहेको बताए।

२०६८ को जनगणनाअनुसार नगरपालिकामा बस्नेको संख्या १७.१ प्रतिशत थियो भने गाउँपालिकाहरूमा बस्नेको संख्या ८२.९ प्रतिशत रहेको थियो। नेपालको लैंगिक अनुपातप्रति सय महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ भने नगरपालिकाको ९६.०६ र गाउँपालिकाको ९४.६८ रहेको छ।

कूल जनसंख्यामध्ये अन्य लिंगीको जनसंख्या २ हजार ९२८ रहेका छ भने उक्त संख्या नगरपालिकामा २ हजार ११८ र गाउँपालिकामा ८१० जना रहेको निर्देशक लामिछानेले बताए। २०६८ पछिको १० वर्षमा नेपालको वार्षिक औषत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत प्रतिवर्ष रहेको छ।

नेपालमा कूल परिवारमध्ये पुरुष परिवारमूली रहेको परिवार ६८.५ प्रतिशत र महिला परिवारमूली रहेको संख्या ३१.५ प्रतिशत रहेको छ। नेपालमा जम्मा १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गर्ने पाइएको छ।

नेपालमा १० वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरू अविवाहित रहेका छन्। देशको कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता रहेको छ। जनगणनाअनुसार जन्मस्थान र हालको बसोबास एउटै गाउँपालिका वा नगरपालिकामा भएका व्यक्तिहरू ६९.० प्रतिशत रहेका छन्।