अग्रता जोगाउन नसक्दा सातदोबाटोले शेर्पासँग अंक बाँड्यो

शेर्पा ११ खेलबाट १० अंक जोडेर रेलिगेसन जोनमा रहेको छ।

काठमाडौँ– दुई पटकको अग्रता जोगाउन नसक्दा सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग अंक बाँडेको छ।

च्यासल मैदानमा आइतबार सम्पन्न खेलमा सातदोबाटो र शेर्पाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो। सातदोबाटोका लागि दुवै गोल दीपकराज सिंह ठकुरीले गरे। यता, शेर्पाका निशान लिम्बु र सुशील राईले बराबरी गोल फर्काए।

खेलको पहिलो मिनेटमै दीपकले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए। ७२औँ मिनेटमा निशान लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याए।

८०औँ मिनेटमा दीपकले पुनः सातदोबाटोलाई २–१ को अग्रता दिलाए। तर, ८३औँ मिनेटमा सुशील राईले गोल गर्दै शेर्पालाई हारबाट जोगाए। उनी अघिल्लो सिजन सातदोबाटोबाट खेलेका थिए।

बराबरीसँगै सातदोबाटोले ११ खेलबाट १८ अंक जोडेको छ। सातदोबाटो चौथो स्थानमा छ। समान १८ अंक नै रहे पनि चर्च ब्वाइज र थ्री स्टार गोल अन्तरमा दोस्रो र तेस्रो स्थानमा छ।

शेर्पा ११ खेलबाट १० अंक जोडेर रेलिगेसन जोनमा रहेको छ।