प्रधानन्यायाधीश नियुक्ति गर्न बार पदाधिकारीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

यसअघि बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो। 

काठमाडौँ– प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल थाल्न नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा बार एसोसिएसनका पदाधिकारी, पूर्व पदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित थिए।

छलफलमा बारका पदाधिकारीले १४ महिनादेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशका भरमा रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न आग्रह गरे।

जवाफमा प्रधानमन्त्री दाहालले संवैधानिक परिषद्का पदाधिकारीसँग समेत परामर्श गरी आवश्यक निर्णयमा पुग्न पहल थाल्ने प्रतिबद्धता जनाए।

उनले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसासमेत गरे।

यसअघि बारले बुधबार पत्रकार सम्मेलन गरेर १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन गर्ने बताएको थियो।