एमाले संसद् विघटन गर्ने दाउमा छ : माधवकुमार नेपाल

मन र विचार मिल्नेसँग एकताका लागि तयार रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस्तो सम्भावना नरहेको अध्यक्ष नेपालले बताएका छन्।

फाइल तस्वीर

काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन्।

बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटमा अध्यक्ष नेपालले एमाले संसद् विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको दाबी गरे।

एमालेको सोचलाई पूरा हुन नदिने उनको भनाइ थियो। “एमालेमा अझै प्रतिनिधिसभालाई विघटन गरेर मध्यावधिमा जाने सोच छ। त्यो बाटोमा त हामी जान सक्दैनौँ। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ,” अध्यक्ष नेपालले भने।

मन र विचार मिल्नेसँग एकताका लागि छलफल गर्न तयार रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस्तो सम्भावना नरहेको नेपालले बताए।

पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया रहेको अध्यक्ष नेपालको भनाइ छ।