पाल्पाको रामपुर–५ मा १५ रोपनी जग्गा भाडामा लिएर १० जना युवाले उखुखेती थालेका छन्। रैथाने जातको संरक्षण गर्दै नगरपालिकालाई उखुमा आत्मनिर्भर बनाउने उनीहरूको योजना छ।
रामपुर– उखुखेती लोपोन्मुख अवस्थामा पुगेपछि यहाँका युवाले सामूहिक खेती थालेका छन्। रामपुर नगरपालिका–५ भम्बकमा १५ रोपनी जग्गा भाडामा लिएर १० जना युवाले खेती शुरू गरेका हुन्।
स्थानीय जातको उखुलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य रहेको एक जना युवा विष्णुप्रसाद गौतमले बताए। “पहिला उखुले भरिने बारी अहिले बाँझो छन्। गाउँमा बसेर बाहिरबाट उखु किनेर खाने अवस्था आयो,” उनले भने, “उखुखेतीलाई प्रवर्द्धन र संरक्षण गर्न व्यावसायिक खेतीमा वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेसा, व्यवसायमा रहेका युवाहरू लागेका छौँ।”
उखुको खुदो निर्यात गर्ने सोचका साथ व्यावसायिक खेतीको अभियान शुरू गरिएको अर्का युवा सन्तोष पौडेलले बताए। उनी वैदेशिक रोजगारका क्रममा सिंगापुर, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामा पाँच वर्षसम्म बसेर स्वदेश फर्किएका हुन्।
“विदेशमा अर्काको अधिनमा रहेर दैनिक १२ देखि १५ घण्टा काम गर्नुपर्छ। दैनिक एक–दुई घण्टा काम गर्ने हो भने विदेशमा कमाउने धन यहीँ आर्जन गर्न सकिन्छ,” उनले भने। कालीगण्डकी करिडोर सडकखण्ड नजिकै रहेको जग्गामा उखु लगाएको छ। यहाँको बजारमा खपत नभएको अवस्थामा बाहिर लैजानलाई सहज बनाउँदै करिडोर आसपासका जग्गा थप गर्दै खेती विस्तार गर्ने सोच रहेको पौडेलले बताए।
सडक सञ्जालसँग जोडिएको हुँदा नारायणघाट, बुटवल, पोखरामा रामपुरको उखु बिक्री गर्ने योजना छ। रामपुरमा अहिले गुल्मी, तराई क्षेत्रबाट ठूलो परिमाणमा खुदो आयात भइरहेको छ। चिनी, खुदो, गुँडजन्य पदार्थ बाहिरबाट धेरै भित्रिन्छ। बाहिरबाट आयातित सामग्रीलाई कम गरी स्थानीय उत्पादनलाई बढावा दिन युवाले गरेको यस कार्यको अन्यले पनि सिको गर्नुपर्ने रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयको भनाइ छ।
रामपुरमा मात्रै वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको खुदो भित्रिने गरेको पाइएको छ। अहिले बीउ उत्पादन गरी क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको र निकट भविष्यमा यहाँका खाली जग्गामा उखु लगाएर पकेट क्षेत्र बनाउने योजना छ। व्यावसायीक खेती गरेमा उखु उत्पादनका लागि यो क्षेत्र उपयुक्त रहेको कृषि शाखा प्रमुख पाण्डेयले बताए।
“बाहिरबाट खुदो, गुँड, भ्याली आयात भइरहेको अवस्थामा उखुको व्यावसायिक उत्पादन आवश्यक छ,” उनले भने, “उखु र उखुबाट उत्पादित विभिन्न वस्तुको माग बजारमा बढ्दो रहेको हुँदा कृषकले व्यावसायिक खेतीबाट मनग्य आम्दानी गर्न सक्नेछन्।”
मलजल पुगेमा उखुले छदेखि आठ महिनामा उत्पादन दिन्छ। वर्षको तीन बाली उत्पादन हुने जग्गामा उखु लगाएर एकै वर्षमा धेरै आयआर्जन गर्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
