सात महिनामै बर्खास्त भए चेल्सीका प्रशिक्षक पोटर

पोटरको नेतृत्वमा चेल्सीले प्रिमियर लिगका ३१ खेलमा ११ हार बेहोरेको छ। थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

लगातारको खराब नतिजासँगै इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ।

चेल्सीले आइतबार विज्ञप्ति जारी गर्दै पोटरलाई बर्खास्त गरिएको जानकारी दिएको हो। उनी सात महिनामै बर्खास्तीमा परेका हुन्। 

उनको नेतृत्वमा चेल्सीले प्रिमियर लिगका ३१ खेलमा ११ हार बेहोरेको छ। थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

चेल्सी यस सिजन प्रिमियर लिगको ११औँ स्थानमा छ। पोटरले चेल्सीलाई च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुर्‍याएका थिए। जहाँ, चेल्सीले स्पेनिस क्लब रियल मड्रिडसँग सामना गर्ने छ।

“उहाँको सबै प्रयास र योगदानका लागि धन्यवाद दिन चाहन्छौँ र आगामी यात्राको लागि शुभकामना,” चेल्सीले भनेको छ।

उनको बहिर्गमनसँगै ब्रुनो साल्टरले अन्तरिम मुख्य प्रशिक्षकको रूपमा टोलीको जिम्मेवारी सम्हाल्ने छन्। क्लबका सह-मालिक र अध्यक्ष टोड बोहेली तथा बेहदाद एघबालीले भनेका छन्,“क्लबका सबैको तर्फबाट ग्राहमलाई चेल्सीमा गरेको योगदानको लागि हार्दिक धन्यवाद दिन चाहन्छौँ। प्रशिक्षकको रूपमा ग्राहमलाई उच्च सम्मान छ। उहाँले सधैँ व्यावसायिकता र इमान्दारीताका साथ आचरण गर्नुभएको छ। यद्यपि, हामी सबै यस नतिजाबाट निराश छौँ। हाम्रा समर्थकहरूसँगै हामी सबै सिजनका बाँकी खेलहरूमा ध्यान केन्द्रित गर्दछौँ।”

चेल्सीले प्रिमियर लिगका १० खेलहरू खेल्न बाँकी छ।