प्रधानमन्त्रीका कारण वैदेशिक सम्बन्ध बिग्रियो: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले उनलाई संसद्मा विश्वास गर्न नसकिने बताएका छन्।

फाइल तस्वीर

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन्। सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बनेको भोलिपल्टबाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाएका हुन्।

अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुरझैँ रहेको बताए। "प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँबाहेक सबै अरूको केही दोष छैन, अलमलमा उहाँ दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ। उहाँले जे भन्यो त्यही हुन्छ। विपक्षीमा बोल्यो भने त्यसको पत्तासाफ हुन्छ" उनले भने, "अरूसँग मिलेको भन्ने आरोप लाग्छ। उहाँ एकता हुन दिनुहुन्न एकता भइहाल्यो भने त्यसलाई तोड्ने उद्योगमा लाग्नुहुन्छ। तोडेर छोड्नुहुन्छ। विगतमा देखिएको छ।"

उनले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाए। उनले प्रधानमन्त्री दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको बताए। "राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा हुनुहुन्छ। वैदेशिक सम्बन्ध असन्तुलित मात्रै होइन अत्यन्त अविश्वसनीय भएको छ," उनले भने।

अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले संसद्मा विश्वास गर्न नसकिने स्पष्ट पारे। "गठबन्धनका स्वार्थीहरूले भोट देलान् तर हामीलाई स्वार्थ छैन, त्यसैले प्रधानमन्त्री संसद्को विश्वास छ भन्न सकिँदैन, जित्ने हार्ने छुट्टै कुरा हो स्वार्थको खेल हो, यसमा हामी लतारिनुपर्दैन, उहाँप्रति हामीलाई विश्वास छैन, हालसालैका गतिविधिहरूले पुष्टि हुन्छ, हामी उहाँमाथि विश्वास छैन भन्ने पक्षमा हुन्छौँ" उनले भने।

अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्न सक्ने समितिको चयन गर्न पार्टीका सांसदहरूलाई आग्रह गरे।