नागरिक उड्डयन प्राधिकरणले रोक्यो श्री एयरका उडान, जाँचपछि मात्र उड्न दिइने

बिहीबार श्री एयरलाइन्सको ८२१ विमानको इन्जिनमा फायर इन्डिकेसन देखिएपछि त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो।

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको उडान रोकेको छ। 

प्राधिकरणले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो। 

प्राविधिक जाँचपछि मात्रै उडान गर्न दिने निर्णय भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। बिहीबार श्री एयरलाइन्सको ८२१ विमानको इन्जिनमा फायर इन्डिकेसन देखिएपछि त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो।  जहाजमा प्राविधिक समस्या देखिएपछि प्राधिकरणले प्राविधिक जाँच शुरू गरेको हो। 

“हामीले महिनामा एक दुई पटक छड्के चेक जाँच गर्थ्यौं। हरेक जहाज उड्नुभन्दा पहिले कम्पनीकै प्राविधिकले चेक जाँच गरेर ठिक भनेपछि मात्र उड्थे,” उनले भने, “हिजो पनि प्राविधिकले चेक जाँच गरेपछि मात्र जहाज उडेको थियो। तर, समस्या देखियो। यो घटनाले गम्भीर बनाएको छ।”

काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाज उडेको पाँच मिनेटमै दायाँ इन्जिन बन्द भएको थियो। त्यसपछि जहाजलाई धादिङको धार्के क्षेत्रबाट फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले समस्या आएको श्री एयरलाइन्सको जहाज उडानका लागि योग्य छ भनेर प्रमाणित गर्ने इन्जिनियरलाई निलम्बन गरेको बताए। “जुन इन्जिनियरले उडान योग्य छ, भनेर प्रमाणित गरेका थिए। तिनलाई निलम्बन गर्‍यौँ,” उनले भने, “अरू जहाजमा पनि समस्या नआओस भनेर सम्पूर्ण जहाजको प्राविधिक अवस्था प्राधिकरणका इन्जिनियरले चेक गरेर ठिक छ नभनुन्जेल सबै जहाज ग्राउन्डेड हुन्छ।”

समस्या नदेखिएका जहाज शनिबारबाट नै उडाउन दिइने भूलले बताए। “हवाई यात्रा असुरक्षित भयो। जहाज अवतरण नगरुञ्जेल डरैडरको यात्रा गर्नुपर्ने अवस्था भयो,” उनी भन्छन्, “अरू एयरलाइन्सको पनि एउटा जहाजमा समस्या देखिए सबै जहाजको उडान रोकिने छ।