आलु थन्क्याउँदै रामपुरका किसान

रामपुर नगरपालिकामा यस वर्ष ४०० रोपनीमा आलुखेती गरिएको छ। 

पाल्पा– रामपुरकी यमकान्ती गौतमलाई आलु खन्ने चटारो छ। १५ दिनयता उनी आलु खन्ने र भण्डारण गर्न व्यस्त छिन्।  

उनी रामपुर नगरपालिका–७ का अगुवा किसान हुन्। “साढे सात रोपनीमा आलु लगाएको थिएँ। सोचेभन्दा धेरै राम्रो उत्पादन भएको छ,” उनी भन्छिन्, “खेतभर आलु फलेको देख्दा दंग छु।” 

उनले सेरिटा, खुमल, उज्जवल जातको सय क्विन्टल आलु उत्पादन भएको उनले बताइन्। “आलु लगाउन थालेपछि घर व्यवहार चलाउन सहज भएको छ,” उनले भनिन्, “राम्रो मलजल र उन्नत जातको बीउ प्रयोगले उत्पादन राम्रो भइरहेको छ।” 

यसै व्यवसायबाट दुई छोरालाई शहरमा राखेर पढाइरहेकी छन्। पहिले बजारको पिरलो हुने गरे पनि अहिले भने सो समस्या छैन। यो वर्ष दुई लाख रुपैयाँ गर्ने लक्ष्य सुनाइन्। अघिल्ला वर्षमा आलु खनेर सिधै भैरहवाको शीत भण्डारमा लगेर राख्थिन्। 

बीउ आलु भएकाले रोप्ने बेलामा महँगो मूल्यमा रामपुरमा ल्याएर बिक्री गरे तापनि यस पटक भने तत्काल बिक्री गर्ने योजना छ। खनेको आलु भण्डारण गरी रोप्ने बेला बीउ बिक्री गर्दा अघिल्ला वर्षमा छ लाख रुपैयाँ बचत भएको थियो। 

रामपुर–६ की सीता भण्डारीले १२ क्विन्टल आलु उत्पादन गरिन्। बर्सेनि उत्पादन राम्रो भएपछि हौसला बढेको उनको भनाइ छ। चिप्स उत्पादक कम्पनीले आलु खरिद गर्ने गरेको छ। 

“चिप्स बनाउने कम्पनीसँग समन्वय गरेर गत वर्षदेखि नै बिक्री गरिरहेका छौँ। आलु बिकेन भन्ने पिरलो भएन,” उनले भनिन्, “शीत भण्डारमा राख्ने खर्च, त्यहाँसम्म लैजाने ल्याउने यातायात ढुवानीमा खर्चनुपरेन।” 

व्यावसायिक रूपमा आलु लगाउन थालेपछि दैनिकी सहज बनेको उनको अनुभव छ। फस्ट च्वाइस फुड प्राइभेट लिमिटेड कम्पनी बुटवल बेलबासको सहकार्यमा रामपुर नगरपालिकाले यस वर्ष खायन आलु उत्पादन कार्यक्रम शुरू गरेपछि किसानको आकर्षण बढ्दै गएको कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताए। 

रामपुरमा उत्पादन भएको आलु सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै आलु खेती लगाएका छन्। कार्डिनल, खुमल उज्ज्वल, खुमल रातो, जनकदेव, टीपीएस जातका बीउ खरिद गरेर खेती गरेका छन्। “आलुका लागि यो क्षेत्र उपयुक्त रहेकाले नगरपालिकाले पनि सहयोग गरिरहेको छ। 

यहाँका किसानले आलुबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ,”  कृषि शाखा प्रमुख पाण्डेले भने। किसानलाई उत्प्रेरित गर्दै बीउ अनुदान सहयोगका कार्यक्रम गरिरहेको नगरप्रमुख रमणहादुर थापाले बताए। उत्पादित आलुलाई रामपुरमै सुरक्षित भण्डारणका लागि नगरले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको उनको भनाइ छ। 

“ठूलो परिमाणमा उत्पादन गर्ने कृषि उपजलाई नगरले बजारीकरणको व्यवस्थापन गर्नेछ। किसानले उन्पादनमा जोड दिएर काम गर्नुपर्‍यो,” उनले भने, “नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार छ।” 

यस वर्ष हराभरा महिला कृषि सहकारी, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सातबिसे सेरा कृषक समूह, माझटोल कृषक समूह, नदी किनार कृषक समूह, शुभ प्रभात महिला कृषक समूहले नगरपालिकाको अनुदान सहयोगमा आलुखेती गरेका छन्। 

यस वर्ष ३०० क्विन्टल आलुको बीउ किसानलाई अनुदानमा उपलब्ध गराइएको छ। खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र यस वर्ष ४०० रोपनीमा आलुखेती गरिएको छ। 

छोटो समयमा खेती लगाएर धेरै उत्पादन गर्न पाइने आशामा धेरैले हिउँद याममा व्यावसायिक आलु उत्पादनलाई जोड दिन थालेका छन् । 

तानसेन, पोखरा, बुटवल, नारायणघाट, काठमाडौँसम्म सडक सञ्जाल जोडिएपछि बिक्री गर्न सजिलो भएको नगरप्रमुख थापाले बताए।