महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई

अस्ट्रेलियाले दिएको १५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

काठमाडौँ– अस्ट्रेलियाले छैटौँ पटक आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै अस्ट्रेलियाले उपाधिमा दोस्रो पटक ह्याट्रिक गरेको हो।

यसअघि २०१०, २०१२ र २०१४ तथा २०१८ र २०२० मा उपाधि जितेको थियो। दक्षिण अफ्रिका भने पहिलो पटक फाइनल पुगेको हो। केपटाउनमा अस्ट्रेलियाले दिएको १५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

उसका लागि ओपनर लोरा वालभाल्टले सर्वाधिक ६१ रन बनाइन्। ४८ बल खेलेकी उनले ५ चौका र ३ छक्का प्रहार गरिन्। क्लोए ट्रायोनले २५ रन बनाइन्। अस्ट्रेलियाका मेगन सुट, एश गार्डनर, डार्सी ब्राउन र जीस जोनासेनले १/१ विकेट लिए। 

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ओपनर बेथ मुन्नीको ७४ रन मद्दतमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो। उनले ९ चौका र १ छक्का प्रहार गर्दै अविजित ७४ रन बनाइन्।

एश गार्डनरले २९ र एलिसा हिलीले १८ रन बनाए। दक्षिण अफ्रिकाका शबनिम स्माइल र मरिजान कापले २/२ विकेट लिए।