अडानी ग्रुपले सार्वजनिक गर्‍यो उल्लेख्य नाफा बढेको रिपोर्ट

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको कूल नाफा ८२० करोड भारतीय रुपैयाँ रहेको छ।

भारतीय धनाढ्य गौतम अडानीको कम्पनी अडानी इन्टरप्राइजेजले मंगलबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको सकारात्मक रिपोर्ट सार्वजनिक गरेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको कूल नाफा ८२० करोड भारतीय रुपैयाँ छ। गत वर्षको यसै अवधिमा अडानी इन्टरप्राइजेजलाई ११ करोड ६३ करोड भारु घाटा बेहोरेकोमा हालै सार्वजनिक रिपोर्टमा नाफा उल्लेख्य बढेको देखिएको छ।

त्रैमासिक रिपोर्टपछि मंगलबार अडानी इन्टरप्राइजेजको सेयर ४ प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ।

रिपोर्टअनुसार कम्पनीको वार्षिक आम्दानी २६ हजार ६१२ करोड भारु पुगेको छ। अघिल्लो वर्षको सोही त्रैमासमा कम्पनीको आम्दानी १८ हजार ७ सय ५८ करोड भारु थियो।

अडानी इन्टरप्राइजेजको मार्जिन पनि डिसेम्बर क्वाटरमा सुधार भएको छ। वार्षिक आधारमा कम्पनीको मार्जिन ४.१ प्रतिशतबाट बढेर ६.१ प्रतिशत पुगेको छ। यो अवधिमा कम्पनीको खर्च पनि बढेको छ। वार्षिक आधारमा खर्च २६ हजार १७१ करोड पुगेको रिपोर्टमा उल्लेख छ। यो एक वर्षअघि १९ सय ४७ करोड थियो।

यसअघि हिन्डनबर्गको रिपोर्ट सार्वजनिक भएपछि एकैदिन अडानी इन्टरप्राइजेजको सेयर ३५ प्रतिशतभन्दा बढी घटेको थियो। 

अडानी समूहका कम्पनीमाथि छानबिन गर्दै भारतीय धितो बोर्ड
अडानीका कम्पनीमाथि लागेका आरोपबारे भारतको धितोपत्र तथा विनिमय बोर्डले अनुसन्धान गरिरहेको जनाएको छ। अमेरिकी सर्ट सेलर रिसर्च फर्म हिन्डनबर्गले अडानी समूहका कम्पनीमाथि लगाएका सम्पूर्ण आरोपमाथि छानबिन र अनुसन्धान गरिरहेको बोर्डले जनाएको छ। हिन्डनबर्गको प्रतिवेदन उल्लेख अडानी समूहका कम्पनीको सम्पूर्ण बजारको जाँच गरिरहेको भारतीय विनिमय बोर्डको भनाइ छ।

गत महिना प्रकाशित हिन्डनबर्गको प्रतिवेदनले अडानीका कम्पनीले सेयर बजारलाई नै प्रभावित गरेर अनुचित लाभ लिएको, वित्तीय ठगी, चलखेल गरेको र भ्रष्टाचारसहित थुप्रै आरोप लगाएको थियो। हिन्डनबर्गको आरोपपछि अडानी समूहअन्तर्गतका  कम्पनीको सेयरमूल्यमा भारी गिरावट आएको थियो। सेयरमूल्य १०० बिलियन डलरसम्म घटेको बीबीसीले लेखेको छ। अडानीले भने आफूमाथिका सबै आरोपको खण्डन गर्दै आएका छन्।

यस्तै, कम्पनीहरूसँग पर्याप्त ऋणसमेत नभएकाले अडानी समूहका कम्पनीहरू आर्थिक रूपले ‘जर्जर अवस्था’मा रहेको हिन्डनबर्गको दाबी थियो।

अडानी समूहबारेको प्रतिवेदन सार्वजनिक पहिले र पछिको बजारको स्थितिबारे अध्ययन गरिरहेको विनिमय बोर्डले सोमबार भारतीय सर्वोच्च अदालतमा निवेदन बुझाएको थियो।

सोमबार नै अडानी समूहले आफ्नो व्यापारमा नगद प्रवाह बलियो भएको र आफ्नो व्यवसाय योजनाअनुरूप नै चलेको भन्दै लगानीकर्ताहरूलाई सुनिश्चित हुन आग्रह गरेको थियो। “हाम्रा लगानीकर्तालाई उचित लाभ दिने क्षमता हामीसँग भएका ढुक्क हुन आग्रह गर्दछौँ”, अडानी समूहले रोयटर्सलाई भनेको थियो।

अडानी समूहसँग ऊर्जा, कमोडिटी व्यवसाय, विमानस्थल, उपभोग्य सामग्री, मिडियासहित विभिन्न सार्वजनिक व्यावसायिक कम्पनी रहेका छन्।

हिन्डनबर्गले आफूले फाइदा कमाउन बिनाप्रमाण अडानी समूहमाथि आरोप लगाएको सो समूहको आरोप थियो।