सुदूरपश्चिम प्रदेशसभाको बैठक शुरू, नागरिक उन्मुक्तिका सांसद काठमाडौँमै

नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिनुपर्ने छ।

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको बैठक शुरू भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी छ। उनले प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम दिन हो।

प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल पुस २७ गते एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। जसअनुसार उनले बिहीबार विश्वासको मत लिई सक्नुपर्छ। ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।

सत्ता गठबन्धनमा निर्णायक शक्तिका रूपमा देखिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद भने काठमाडौँमै रहेका छन्। पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न आएका सांसदहरू काठमाडौँबाट नफर्किएको नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दलको नेता रामेश्वर चौधरीले बताए।

मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस भएको छ। नागरिक उन्मुक्तिले टीकापुर घटनाका बन्दी रेशम चौधरीसहितका नेताहरूलाई रिहाइको माग गर्दै आएको छ।

प्रदेशसभामा सत्तापक्षीय एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका चार र एक जना स्वतन्त्र सदस्य छन्।

यसअघि प्रदेशसभा सचिवालयले टाँस गरेको सूचनामा दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजे बस्ने गरी सारेको थियो। बुधबार बोलाइएको बैठक पनि स्थगन गरेर बिहीबार १ बजेका लागि बोलाइएको थियो।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सुदूरपश्चिम सरकारलाई जोगाउनेबारे छलफल भएको छ। बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा छलफल सकारात्मक भएर सुदूरपश्चिम प्रदेश सरकार जोगिनेमा आफू आशावादी रहेको एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिएका छन्। बिहीबार बस्ने भनिएको सत्तारूढ दलका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भने शुक्रबार बिहान बस्ने भएको प्रधानमन्त्री दाहालले बताएका छन्। बैठकमा सुदूरपश्चिम सरकार र राष्ट्रपतिका विषयमा छलफल हुने तय थियो।