यतीको जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ: नेपाली सेना

दुर्घटनास्थलको कठिन भौगोलिक अवस्था तथा जलेको शव टुक्रिएर छरिएकाले फेला पार्न नसकिएको नेपाली सेनाले जनाएको छ।

काठमाडौँ– कास्कीको पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता एक जना यात्रुको खोजी जारी रहेको नेपाली सेनाले जनाएको छ।

दैनिकरूपमा उनको खोजी भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। दुर्घटनास्थलको कठिन भौगोलिक अवस्था तथा शव जल्नुका साथै टुक्रिएर छरिएकाले शव भेट्न कठिन भएको उनको भनाइ छ। ७२ जना सवार उक्त विमान माघ १ गते पोखरास्थित सेती नदीको खोँचमा खसेको थियो। 

सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा फेला परेका शवलाई परीक्षणका लागि अस्पताल पुर्‍याएको थियो। संयुक्त टोलीले खोज तथा उद्धारका क्रममा ७१ जनाको शव भने यसअघिनै भेट्टाइसकेको छ।