मास्कको प्रयोगले भाइरसको संक्रामकता, रोगको गम्भीरता र महामारीकै अवस्थामा के कति फरक ल्याउँछ भन्ने प्रश्न भने अझै पनि खुला नै छन्। ती प्रश्नको वैज्ञानिक उत्तर खोज्न अनेक प्रक्रियागत जटिलता छन्।
कोभिडकालमा अवलम्बन गरिएका तमाम सार्वजनिक स्वास्थ्य नीतिमध्ये सायद मास्कसम्बन्धी नीतिनियम सर्वाधिक विवादितमध्ये रहे। कोभिडले महामारीका रूप लिएसँगै नेपाललगायत विश्वभरका सरकार र संस्थाले मास्कको प्रयोग बढाउन बाध्यकारी नीतिनियम ल्याए। आम मानिसबीच यी नियम विवादित बन्न पुगे। कतिपय राजनीतिक दल/समूहले यसलाई षड्यन्त्रका रूपमा चित्रण गर्दै मास्क नलगाउनसमेत आह्वान गरे। अहिले सुन्दा अनौठो लाग्न सक्छ तर त्यतिबेला यी नीतिनियम विषय–विज्ञका बीच पनि बहस र विवादका विषय थिए।
कोभिड महामारीको जोखिम कम गर्ने अभिप्रायले ल्याइएका नियमले संसारभर करोडौँ मान्छेको जनजीवनलाई प्रभावित पार्यो। भलै मास्कको बाध्यकारी नियम व्यक्तिगत तथा सामाजिक फाइदाको अपेक्षा गरेर ल्याइएका थिए तर यी नियमका कारण आम मानिसले व्यक्तिगत असुविधा भोग्नुपर्यो। कतिपय व्यक्तिले असुविधा सहजै स्वीकारे भने कतिपयले त्यस्तो गर्न चाहेनन्।
त्यसमाथि आम मानिसमा मास्कको प्रभावकारिताबारे पनि व्यापक मतान्तर रहेको देखियो। केही मानिस मास्कको प्रयोगले कोभिडको संक्रमण कम गर्ने कुरामा विश्वस्त देखिए। यस्ता मानिसले मास्कको प्रयोगसम्बन्धी बाध्यकारी नियमलाई सहजै स्वीकार गरे। कतिले मास्कको प्रभावकारितामा शंका नगरे पनि यी बाध्यकारी नियमबाट हुने असुविधाका कारण मास्कलाई सहजै प्रयोग गर्न चाहेनन्। केहीले भने मास्कको प्रभावकारितामा नै शंका गरे। तिनले मास्कको प्रयोगलाई ठाडै अस्वीकार गरे। सार्वजनिक वृत्तमा विवाद यहीनेर शुरू भयो।
विषय–विज्ञको राय सुझावले यो विवाद कम गर्न सक्नुपर्ने थियो। तर त्यसो हुन सकेन। कतिपय अवस्थामा विज्ञकै राय बाझियो। कोभिडको कारक एउटा नयाँ भाइरस भएका कारण यसविरुद्ध मास्कले कति प्रभावकारी ढंगले काम गर्छ भन्नेबारे वैज्ञानिक जगत्सँग यथेष्ट ज्ञान थिएन। विज्ञले समान आकार–प्रकारका भाइरसविरुद्धको वैज्ञानिक ज्ञान तथा प्रमाणको आधारमा आफ्नो धारणा बनाउनुपर्ने बाध्यता थियो। यस्तो अवस्थामा विज्ञका राय बाझिनु अनौठो विषय पनि थिएन।
हालै मात्रै ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले यस विषयको वैज्ञानिक ज्ञानको सीमितता कम गर्न निकै सहयोग गरेको छ। नर्वेमा ४५०० भन्दा बढी व्यक्तिमा गरिएको अध्ययनले सर्किजल (अस्पतालमा नियमित प्रयोग हुने) मास्कको प्रयोगले मानिसमा कोभिडसँग मिल्ने लक्षण देखिने सम्भावना १२ प्रतिशतबाट ९ प्रतिशतमा झर्ने देखाएको छ। अर्थात् मास्कको प्रयोगले कोभिडसँग मिल्ने लक्षण सापेक्षिक रूपमा एक चौथाइले कमी आयो। यो नतिजा उल्लेख्य हो। सायद अध्ययन अवधि छोटो भएर होला, दुई हप्ताको अध्ययन अवधिभर सर्किजल मास्कको प्रयोगले कोभिडको संक्रमणको सम्भावना घटेको देखाउन भने यो अध्ययनले सकेन।
यसभन्दा अगाडि पनि मास्कसम्बन्धी अनेकन् अध्ययन नभएका होइनन्। तर अन्य अध्ययनभन्दा यो महत्त्वपूर्ण किन छ भने यो ‘र्यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल’ भनिने परीक्षण विधिद्वारा गरिएको अध्ययन थियो। चिकित्साशास्त्र तथा जनस्वास्थ्यमा र्यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल सबैभन्दा उच्चकोटीको परीक्षण विधि मानिन्छ। यो परीक्षण विधिमा अनुसन्धानमा सहभागीलाई दुई समान समूहमा विभाजित गरिन्छ। एउटा समूहलाई अनुसन्धानमा रहेको वस्तु (यो अध्ययनमा मास्क) दिइन्छ र अर्को समूहलाई दिइँदैन। यस्तो प्रयोगात्मक परीक्षण विधिले अध्ययनमा सहभागीको बीचमा रहेको फरक ‘कन्ट्रोल’ गर्छ र परीक्षणमा रहेको वस्तुको वास्तविक प्रभावकारिता पत्ता लगाउन मद्दत गर्छ।
कोभिडमा मास्कको प्रभावकारिताका सन्दर्भमा यस्ता उच्चकोटीका अध्ययन न्यून मात्रै भएका छन्। यस विषयमा यहाँभन्दा अगाडि भएका अधिकांश अध्ययन र्यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल नभएर ‘अब्जरभेसनल’ किसिमका थिए। यस्ता अध्ययनमा माथि उल्लेख गरिए अनुरूपको प्रयोगात्मक विधि प्रयोग गरिँदैन। परीक्षणमा रहेको वस्तुको वास्तविक प्रभावकारिता निर्क्योल गर्न त्यस्ता अध्ययन सक्षम हुँदैनन्।
माथि उल्लेखित नर्वेजियन अध्ययनको अतिरिक्त दुई अन्य महत्त्वपूर्ण अध्ययनले र्यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल विधिबाट मास्कको प्रभावकारिता अध्ययन गरेका थिए। पहिलो थियो–बांग्लादेश मास्क स्टडी र अर्को डेनिस मास्क स्टडी। सन् २०२१ को प्रारम्भमा बांग्लादेशका ६०० गाउँमा गरिएको बांग्लादेश मास्क स्टडीले मास्क लगाउँदा कोभिडजस्ता लक्षण कम हुन्छन् कि हुँदैनन् भनेर परीक्षण गरेको थियो।
त्यसका लागि अनुसन्धानकर्ताले ‘क्लस्टर र्यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल’ परीक्षण विधि प्रयोग गरी करिब ६०० गाउँलाई दुई समूहमा विभाजन गरे। एउटा समूहमा उनीहरूले निःशुल्क रंगिन मास्क दिए र मास्क लगाउन प्रोत्साहित गर्न शैक्षिक गतिविधि सञ्चालन गरे। बाँकी अन्य गाउँमा मास्क लगाउने–नलगाउने व्यक्तिकै तजबिजमा छोडियो। दुई महिना अवधिभर कुल तीन लाखभन्दा बढी मानिसमा अध्ययन गरेपछि अनुसन्धानकर्ताले पहिलो गाउँ समूहमा मास्कको प्रयोग ४२ प्रतिशत भएको पाए। दोस्रो गाउँ समूहमा मास्कको प्रयोग १३ प्रतिशत मात्रै भएको पाइयो।
कम मास्क प्रयोग हुनेभन्दा धेरै मास्क प्रयोग हुने गाउँ समूहमा कोभिडसँग मिल्दाजुल्दा लक्षण हुनेको संख्या सापेक्षिक रूपमा ११ प्रतिशत कमी भएको पाइयो। यो अध्ययनमा अनुसन्धानकर्ताले सर्किजल तथा कपडाका मास्क परीक्षण गरे पनि राम्रो नतिजा भने सर्किजल मास्कले दिने पाइयो।
धेरै मिहिनेत गरेर मिहिन ढंगसँग गरिएका माथिका दुई अध्ययनले मास्कको प्रयोगबाट कोभिडजस्तै लक्षण कम गर्न सकिने पुष्टि गरे। तर डेनिस मास्क स्टडीले भने यस्तो प्रस्ट नतिजा दिएन। सन् २०२० को शुरूमा डेनमार्कका ६ हजारभन्दा धेरै सहभागीमा र्यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल विधिबाट मास्कको प्रयोगले कोभिडको संक्रमणमा ५० प्रतिशत कमी ल्याउन सक्छ कि सक्दैन भनेर अध्ययन गरिएको थियो। यो अध्ययनले मास्कको प्रयोगले कोभिडको संक्रमणमा ५० प्रतिशतभन्दा बढी कमी ल्याउन सक्ने कुनै प्रमाण दिन सकेन। यसको मतलब यो अध्ययनले मास्कले कुनै फाइदा गर्दैन भन्ने देखायो भन्नेचाहिँ होइन।
यी अध्ययनको समग्र निष्कर्ष के हो भने सर्किजल मास्कको प्रयोगले कोभिडसँग मिल्दाजुल्दा लक्षण उल्लेख्य रूपमा कम गर्छ। मास्कको प्रयोगले भाइरसको संक्रामकता, रोगको गम्भीरता र महामारीकै अवस्थामा के कति फरक ल्याउँछ भन्ने प्रश्न भने अझै पनि खुला नै छन्। ती प्रश्नको प्रस्ट वैज्ञानिक उत्तर खोज्न अनेक किसिमका विधि तथा प्रक्रियागत जटिलता छन्।
माथि उल्लेख गरिएजस्तै कोभिडका शुरूआती दिनमा मास्कको प्रभावकारिताबारे हामीलाई खासै धेरै जानकारी नभए पनि मास्कको प्रयोगसम्बन्धी नियम धेरैजसो देशमा अत्यन्तै कडिकडाउका साथ कार्यान्वयन गरियो। कतिपय देशमा प्रहरीले बलपूर्वक यी नियमको कार्यान्वयन गरायो। कतिपय देशमा दुई वर्ष उमेरका बच्चालाई पनि मास्क प्रयोग गर्न बाध्यकारी व्यवस्था गरिएको थियो।
यी अध्ययन तथा कोभिड महामारीको अनुभवबाट सार्वजनिक सरोकारका विषयमा नीति नियम बनाउने सन्दर्भमा हामीले के सिक्यौँ त? श्वासप्रश्वाससम्बन्धी महामारी फैलिएको अवस्थामा मास्कको प्रयोग गर्न उत्प्रेरित गर्नु राम्रो सार्वजनिक नीति हो। तर त्यही नियमका कारण स्कुलबाट सानो बच्चालाई बाहिर नै निकाल्नु अथवा कुनै वृद्धलाई सार्वजनिक रूपमा लछारपछार गर्नु पक्कै पनि राम्रो होइन।
मास्कको प्रयोगजस्तो लाखौँ–करोड मानिसलाई सरोकार राख्ने विषयमा नीति नियमको तर्जुमा गर्नुको जटिलता के हो भने जतिसुकै वस्तुनिष्ठ र वैज्ञानिक हुन चाहे पनि आम मानिसले यस्ता नियमलाई आफ्नै फाइदा र बेफाइदाको तराजुमा राखेर तौलने गर्छन्। आम सरोकारका सार्वजनिक नीति नियमले यस्ता जटिलतालाई पनि सम्बोधन गर्न सक्नुपर्ने रहेछ। अर्थशास्त्री थोमस सोवेलले भनेझैँ– अर्थशास्त्रमा कुनै स्पष्ट उत्तर हुँदैन, मात्रै फाइदा र बेफाइदाको अंकगणित हुन्छ। सोवेलको त्यो भनाइ जनस्वास्थ्यका विषयमा पनि उत्तिकै सान्दर्भिक छ।
(पाण्डे फिजिसियन हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
