हामीले पदयात्रा गरेकै अन्नपूर्ण पदमार्गमा पर्ने थोरङ्ला क्षेत्र र आसपासमा हुडहुडका कारण हिमआँधीमा परेर ३१ जनाको दुखद् निधन भयो। त्यतिबेला अहिलेजस्तो मौसम पूर्वानुमान त्यति मिल्दैनथ्यो।
२०७१ दशैँको भोलिपल्ट एकादशीको दिन। डा. राजन भट्टराई, विदुर सापकोटा र मसमेत तीन जना काठमाडौँबाट मनाङतर्फ हिँड्यौँ। हाम्रो उद्देश्य मनाङ हुँदै थोरङ्ला पास गरेर मुस्ताङको जोमसोमसम्म पदयात्रा गर्नु थियो। सँगसँगै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरका सम्बन्धमा स्थानीय वासिन्दासँग अन्तरक्रिया गर्ने सोच पनि बनाएर काठमाडौँबाट हिमाली जिल्लाको यात्रा तय गरेका थियौँ।
तर त्यस वर्षको वर्षाद्ले हामीलाई काठमाडौँबाट हिँड्दादेखि नै चुनौती दिएको थियो। पहिलो चुनौती त लमजुङ र मनाङको सीमानामा पर्ने ठाडो खोलामा भोग्यौँ। रातिको बेला, पुल भत्किएको अवस्था, अक्करे भीर र पहिरो पार गर्न हामीलाई हम्मेहम्मे पर्यो। त्यहाँबाट अघि बढेर मनाङको जिल्ला सदरमुकाम चामे पुग्दा रातको ११ बजेको थियो। पहिलो दिनको बास हामी चामेमै बस्यौँ। त्यहाँसम्म हाम्रो यात्रा गाडीमा थियो। दोस्रो दिनबाट पदयात्रा शुरू भयो।
त्यति लामो र उच्च हिमाली क्षेत्रमा त्यो मेरो पहिलो पदयात्रा थियो। शुरूमा पाँच हजार मिटर नाघ्नुपर्ने उचाइमा जान सकिन्छ कि सकिन्न भन्ने चिन्ता पनि थियो। चामेबाट माथि गएपछि रातमा निद्रा नपर्ने जस्ता समस्यासमेत देखिए।
पदयात्रासँगै स्थानीय र घुम्न गएका पर्यटकसँग अन्तर्क्रिया पनि गर्यौँ। विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो चिन्ता पदमार्ग मासेर मोटरबाटो बनाइएकोमा थियो। पदयात्रामा भेटिएका विदेशीहरूले गाडीको धुलोधुँवाले पदयात्रामा डिस्टर्ब गरेको सुनाउँदै किन तिमीहरू यति सुन्दर प्रकृतिलाई कुरूप बनाउँदैछौ भनेर गुनासो गरे।
हामीले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असरको प्रत्यक्ष अनुभूति गर्ने अवसर पायौँ। त्यसको एउटा उदाहरण गंगापूर्ण हिमालको तल रहेको ताल थियो। टोनी हागनलगायत नेपालको भूगोलका जानकारहरूले दशकौँ अगाडि खिचेको तस्वीरसँग तुलना गर्दै हाम्रा गाइड र अन्य स्थानीय साथीहरूले कसरी जलवायु परिवर्तनको असर टड्कारो गरी देखा पर्दैछ भन्ने जानकारी गराए।
हामीले पदयात्रामा गरेको अनुभवले चाहिँ प्राकृतिक सम्पदाको संरक्षण हाम्रो पहिलो चुनौती हो भन्ने देखायो। मानवीय अतिक्रमणका कारण संरक्षणमा चुनौती थपिएको छ। विकास भनेकै बाटो पुर्याउनु हो भन्ने जस्ता विकाससम्बन्धी कतिपय गलत दृष्टिकोण छन्। वातावरणमैत्री विकास गर्नुपर्छ भन्ने चेतनाको अभाव छ। पदयात्राका क्रममा भएका विभिन्न अन्तरक्रिया र हाम्रो आफ्नै भोगाइले उच्च पहाड र हिमालमा पूर्वाधार पुर्याउँदा अत्यन्तै संवेदनशील हुनुपर्छ भन्ने महसुस गरायो।
हामी हिँडेको तेस्रो दिन मनाङ पुगेका थियौँ। त्यति बेलासम्म मौसम राम्रै थियो। हामी यात्राको पाँचौँ दिनमा थोरङ्ला फेदी पुग्यौँ। छैटौँ दिनको बिहान ७ बजे नै पाँच हजार ४०० मिटरको उचाइमा रहेको थोरङ्ला पास गर्यौँ र मुस्ताङको जोमसोमतर्फ हानियौँ। हामी पुग्दा थोरङ्लाको शिखर हिउँले ढाकिएको थियो, तर भञ्ज्याङमै भने खासै हिउँ थिएन।
त्यहाँबाट ओरालो लाग्दा अग्ला–अग्ला पोलहरू गाडिएको देखेर मैले गाइडलाई सोधेँ– यी पोल किन गाडिएका हुन्? हाम्रा गाइड रामले भने, “अब बाक्लो हिउँ पर्छ र बाटो सबै पुरिन्छ। त्यतिबेला मानिसहरूले बाटो नबिराउन् भनेर यी पोल गाडिएका हुन्, त्यतिबेला पदयात्रीहरू तिनै किलाहरूलाई पछ्याउँदै अघि बढ्छन्।”
त्यस्तो सहयोगी कदमको सराहना गर्दैै हामी ठाडै ओरालो मुक्तिनाथको फेदीसम्म झर्यौँ। यद्यपि त्यतिबेला बाटोमा हिउँ थिएन।
मुक्तिनाथमा नुहाइवरी एकछिन घुमघाम गरेर हामी त्यसै दिन जोमसोमसम्म सहजै पुग्यौँ। तर दुर्भाग्य, मुस्ताङदेखि पोखरा हुँदै काठमाडौँ फर्कने बेला एकाएक मौसम बिग्रिन थाल्यो। उच्च हिमालमा भारी हिमपात भयो भने पहाड र तराईमा भीषण बर्षा। बंगालको खाडीबाट उठेर भारतको आन्ध्रप्रदेशस्थित विशाखापट्नम् बन्दरगाह हुँदै भारतको बाटो नेपाल प्रवेश गरेको हुडहुड आँधीको प्रभावले हामी गएकै क्षेत्रमा ठूलो मानवीय विपत्ति ल्यायो।
हामी त जोगियौँ। तर हामीले पदयात्रा गरेकै अन्नपूर्ण पदमार्गमा पर्ने थोरङ्ला क्षेत्र र आसपासमा हुडहुडका कारण हिमआँधीमा परेर ३१ जनाको दुखद् निधन भयो। त्यतिबेला अहिलेजस्तो मौसम पूर्वानुमान त्यति मिल्दैनथ्यो। जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा पानी पर्ने सम्भावना भएकाले धान नकाट्न सूचना जारी गरेको याद छ। पर्यटकीय पदमार्गमा त्यति भीषण हिमपात हुन्छ भन्ने पूर्वसूचना चाहिँ कसैलाई थिएन। त्यसकारण ख्याल गर्न सम्भव पनि भएन। त्यसबेला हामीलाई अलि चाँडै गरी फर्केर संयोगले बाँचेको अनुभव भयो।
संयोग किन पनि थियो भने, हामीले त्यो आँधीमा पर्नसक्ने खतरालाई अञ्जानमै पन्छाएका थियौँ। किनभने काठमाडौँबाट हिँड््नुअघि पदयात्रा टोलीमा प्रस्तावित तर काठमाडौँ बाहिर रहेका केही साथीहरूले ‘दुई दिन ढिला गरौँ न, हामी पनि आइपुग्छौँ’ भनेर आग्रह गरेका थिए। दुई दिन मात्र ढिला गरेको भए हामी सायद फर्किने रहेनछौँ।
त्यसमाथि मनाङबाट अगाडि बढ्ने बेला तिलिचो ताल जाने र थोरङ्ला जाने बाटो छुट्टिने दोबाटोमा हामी तीन जना साथीहरूबीच तिलिचो ताल गएर मात्र थोरङ्ला जाने कि भन्ने विषयमा झन्डै आधा घण्टा बहस चलेको थियो। सधैँ आउने ठाउँ होइन, दुई दिन लम्ब्याउँदा तिलिचो ताल पुगेर आइहालिन्छ भन्ने एकथरी साथीहरूको तर्क थियो। तर तिलिचो नगएर थोरङ्ला नै जाने अन्तिम निष्कर्षमा एकमत भयो, जसले हामीलाई बचाउनु रहेछ।
भर्खरै बाजुराको अति सुन्दर पर्यटकीय गन्तव्य बडिमालिका पुगेर फर्केको छु। १० वर्षअघि गरेको लामो पदयात्राका ती जोखिमपूर्ण, रोमाञ्चक तर संयोगले बाँचेका दिनहरू सम्झँदा अलिकति भावुक पनि भएको छु। हामी उता बाजुरामै भएको बेला काठमाडौँ उपत्यका, काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरू मुसलधारे वर्षाले निम्त्याएको भयावह बाढी र डुबानले क्षतविक्षत भएका छन्।
बाढी पहिरोमा परेर २०० भन्दा बढी नागरिकले ज्यान गुमाउनुभएको छ, सयौँ परिवार घरबारविहीन हुनुभएको छ र अर्बौं मूल्यका पूर्वाधार नष्ट भएका छन्। जलवायु परिवर्तन र पूर्वाधार विकासमा गरिएको खेलबाडको मूल्य हाम्रा लागि झनै महँगो पर्न थालेको छ। सन्तोष मान्न सकिने विषय चाहिँ के छ भने यतिबेला हाम्रो मौसम पूर्वानुमान गर्ने क्षमता धेरै राम्रो भएको छ।
(कुराकानीमा आधारित)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
