सुकुमबासी बस्ती भत्काउने काठमाडौँ महानगरको कदमलाई सघाउन प्रदर्शन

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौँ महानगरको समर्थनमा प्रदर्शन गरेको छ। महानगरको सुकुमबासी हटाउने कदमको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्।

काठमाडौँ- उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सुकुमबासी बस्ती भत्काउने काठमाडौँ महानगरको अभियानको समर्थनमा प्रदर्शन गरेको छ। 

मंगलबार समितिले सुकुमबासीको नाममा भइरहेको राजनीतिको अन्त्य हुनुपर्ने माग गर्दै महानगर कार्यालय अगाडि प्रदर्शन गरेको हो। 

समितिले सुकुमबासीको खोल ओढेर राजनीतिक दलको छत्रछायाँमा हतियार बोकेर हिँड्न नमिल्ने बताउँदै बस्ती हटाउन महानगरले गरेको पहलमा ऐक्यबद्धता जनाएको हो। 

सुकुमबासी पहिचान हुन नसक्दा उपत्यकाको नदी किनार लथालिंग भएको उनीहरूको भनाइ छ। त्यस्तै, भूमिहीन सुकुमबासीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको समेत समितिको ठहर छ। 

प्रदर्शनमा सहभागी महेशलाल बज्राचार्यले सुकुमबासीका नाममा खोलाका किनारमा बसेर दादागिरी देखाएर, नगर प्रहरीमाथि हिंसात्मक गतिविधि गरिनुले शहरको शान्ति सुरक्षामा समेत खलल पुगेको बताए। 

अर्का प्रदर्शनकारी पृथाबिन्दु महर्जनले राजनीतिक दलहरूले नै सुकुमबासीलाई काखी च्यापेको आरोप लगाए। उनले स्थानीय तहले सही सुकुमबासी पत्ता लगाइ उनीहरूको व्यवस्थापन गर्नलाग्दा राजनीतिक दलले हस्तक्षेप गरिरहेको जिकिर गरे। 

उनले सुकुमबासीको नाममा काठमाडौँ उपत्यकाको जमिन हडप्न नपाइने बताए। उनले भने, “लालपुर्जा भएको घर भत्काउँदा कुनैपनि राजनीतिक दल नबोल्ने, अहिले सुकुमबासी बस्ती भत्काउँदा किन यति धेरै विरोध?”

त्यस्तै, अर्का प्रदर्शनकारी प्रमोदनाथ श्रेष्ठले सुकुमबासीको सही व्यवस्थापन हुनुपर्ने तर हुकुमबासीहरूलाई हटाउन आवश्यक रहेको बताए। 

उनले राम्रा कामका लागि उपत्यकाका जनताले सधैँ समर्थन गर्ने भन्दै सरकार र राजनीतिक दलहरूको हस्तक्षेप भइरहे थप आन्दोलन चर्काउने चेतावनी दिए। 

प्रदर्शनकारीले उपत्यकाको ‘भूमिलाई सुकुमबासी भूमि बनाउन पाइँदैन’, ‘सुकुमबासीको नाममा राजनीति गर्न पाइँदैन’, ‘सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन’ लगायतका नाराहरू लगाएका थिए।