एनपीएलमा सट्टेबाजी गराएको आरोपमा २ जना पक्राउ

उनीहरूले एनपीएलमा सहभागी खेलाडीलाई स्पोन्सर गर्छाैँ भन्दै ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी खेलको हारजित प्रभावित पार्न आर्थिक प्रलोभन देखाउने गरेका प्रहरीले जनाएको छ।

काठमाडाैँ– त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो सिजनमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले एक जना भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत हरियाणाका दिलप्रित सिंह र बर्दिया घर भई हाल भारत चण्डिगढ बस्ने रेविका सिंह ठकुरी रहेको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजिकुमार आचार्यका अनुसार उनीहरूले एनपीएलमा सहभागी खेलाडीलाई स्पोन्सर गर्छाैँ भन्दै ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी खेलको हारजित प्रभावित पार्न आर्थिक प्रलोभन देखाउने गरेका थिए।

उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएको आचार्यले बताए।